तिमी ८ वर्षकी थियौ
जब म तिम्रो घरमा भित्रिएकी थिएँ
तिम्रो पसिना आउँदा मेरो खाँचो हुन्थ्यो
तिम्रोमा पाहुना आउँदा
म तिम्रो इज्जत राखिदिन्थें ... ...
नेपालगन्जमा आयोजित बालकविता वाचन कार्यक्रममा सुर्खेत, भैरवस्थानकी दीपा बोहोराले आफ्नो घरको पुरानो पंखाबारे कविता सुनाउँदा उपस्थित सबै मन्त्रमुग्ध बने । ‘१२ वर्षअघिदेखि पंखा हाम्रो घरमा झुन्डिरहेकै छ तर अहिले बिग्रेको छ । घुम्दैन,’ दीपाले भनिन्, ‘त्यो पंखा मेरो जिन्दगीको बिम्ब हो, पंखा नघुमे पनि मेरो मानसपटलमा सधैं घुमिरहेकै हुन्छ ।’
शब्दमा मार्फत अभिव्यक्ति प्रहार गर्ने तीनदिने गोष्ठीमा उनीजस्तै ४० बालस्रष्टाले चोटिला कविता प्रस्तुत गरे । ‘शब्दका योद्धाहरू’ शीर्षकअन्तर्गतको उनीहरूको प्रस्तुतीमा साँच्चै उनीहरू शब्दमार्पmत जीवनका विभिन्न आयाममाथि अभिव्यक्ति गरिरहेका छन् ।
कैलाली, धनगढीका १४ वर्षीय दिनेश जोशीले आफ्नो कवितामार्फत समसामयिक राजनीतिमाथि व्यङ्ग गरे । उनको विचारमा मनको बहलाई जस्ताको तस्तै व्यक्त गर्नु नै कविता हो ।
सेभ द चिल्ड्रेनले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा सन् २०१६ अप्रिलदेखि सञ्चालन गरेको ‘हरेक अन्तिम बालबालिका’ अभियान अन्तर्गत काविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।
कालिकोटकी मिना बोहोरा अपांगता भएकी तीक्ष्ण बालिका हुन् । शब्दका माध्यम मनका पीडा पोख्न पाउँदा मन हलुँगो हुने गरेको उनको अनुभव छ । डेढ वर्षको उमेरमा वायाँ खुट्टा गुमाएकी मिनाले २०७३ को एसइई ‘ए’ ग्रेडमा उत्तीर्ण गरिन् । उनका बेजोड शब्दरचना सुन्दा लाग्थ्यो– उनी पढाइमा जस्तै साहित्य सिर्जनामा पनि उत्तिकै बेजोड छिन् ।
आयोजक संस्थाका लक्षिन्द्र मर्हजनले कार्यशालाको उद्देश्य बालबालिकाले आफ्ना समस्या र अधिकारमा आधारित अभिव्यक्तिलाई कलात्मक ढंगले प्रस्तुत गर्न सिकाउनु रहेको बताए । उनका अनुसार कार्यक्रममा बाँके, अछाम, बाजुरा, कालिकोट र दैलेखका अपांगता भएकासमेत गरी ३० बालिका सहभागी छन् ।
‘शब्दका योद्धाहरू’ अभियान अन्तर्गत काविता वाचन कार्यक्रमका सहभागी बालबालिकाहरू ।
प्रकाशित: २५ असार २०७४ ०५:२१ आइतबार