१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भित्रको हिलो नदेख्ने, नाकामा गाडी पखाल्ने!

ट्राफिक प्रहरीले बाहिरबाट उपत्यका आउने सवारीसाधन सर–सफाई गरेर मात्रै भित्र्याउनुपर्ने प्रस्ताव अघि बढाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा छिर्ने सवारीले धुलो र हिलो ल्याएको भन्दै प्रमुख नाकामा सवारी 'वासिङ सेन्टर' राखेर पखाल्नुपर्ने प्रस्ताव अघि बढाएको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले पनि  उपत्यकामा भइरहेको धुलो नियन्त्रणका लागि सवारी 'वासिङ सेन्टर'को आवश्यकता भइसकेको बताउँछन्।

महाशाखाका प्रमुख मिङमार लामाले सवारीले भिœयाउने धुलो नियन्त्रणका लागि दीर्घकालिन योजनाका रूपमा प्रस्ताव अघि सारेको बताए। 'धुलो र हिलोले उपत्यका भित्रिने सवारी आँखाले समेत देखिँदैन, त्यसैले सफा र चिटिक्क बनाउन रणनीतिक योजना ल्याएका हौं,' उनले भने।

महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागबीच उपत्यका छिर्ने चार वटै नाकामा सवारी 'वासिङ सेन्टर' खोल्ने विषयमा प्रारम्भिक छलफल भएको छ। उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा, सूर्यविनायक, जगाती, दक्षिणकाली, फर्पिङ र मुड्खुमा 'वास सेन्टर' बनाउने प्रस्ताव छ।

सडक इन्जिनियर रमेश दृष्टि पनि उपत्यकामा भित्रिने सवारीसाधन पखाल्नुपर्ने बताउँछन्। 'उपत्यकामा भित्रिने  अधिकांश सवारीसाधनले धेरै मात्रामा धुलो ल्याउने गर्छन्, त्यसैले नाकामा पखाल्नुपर्ने आवश्यकता देखिन्छ,' उनले भने, 'उपत्यका सम्पूर्ण सडक कालोपत्रे र व्यवस्थित ढलको व्यवस्था गरे धुलो नियन्त्रण गर्न सकिन्थ्यो।' उनका अनुसार उपत्यकामा भइरहेको सडक विस्तारले पूर्णता नपाएसम्म धुलो नियन्त्रण असहज हुनेछ। 'उपत्यकाभित्रका मुख्य तथा भित्री सबै सडक कालोपत्रे गरेपछि मात्रै धुलो नियन्त्रण गर्न सकिन्थ्यो,' उनले भने, 'नाकामा 'वासिङ सेन्टर' राखेर मात्रै उपत्यकामा धुलो नियन्त्रण गर्न भने सकिँदैन।'

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले पनि  उपत्यकामा भइरहेको धुलो नियन्त्रणका लागि सवारी 'वासिङ सेन्टर'को आवश्यकता भइसकेको बताउँछन्। 'सवारीकै कारणले उपत्यकमा ४० प्रतिशत प्रदूषण भइरहेको छ, त्यसको रोकथामका लागि छुट्टै कार्यक्रम ल्याउन आवश्यक भइसक्यो,' उनले भने, 'यसबारे प्रारम्भिक छलफल मात्रै भएको छ।'

उनका अनुसार सबैसँग समन्वय गरेर अघि बढ्दा उपयुक्त हुने बताए। काठमाडौं उपत्यकामा सडक विस्तार, मेलम्चीको खानेपानी पाइपलाइन बिछ्याउने र ढल राख्ने कार्य अझैसम्म नसकिएकाले तत्कालै प्रस्ताव कार्यान्वयन गर्न सम्भव नभएको उनी बताउँछन्।

महाशाखाका अनुसार 'वास सेन्टर'मा एकैपटक १० वटा सवारीसाधन धुन मिल्ने व्यवस्था गरिनेछ। 'शुल्क कति लिने विषयमा अझै टुङ्गो लागेको छैन,' लामाले भने, 'त्यो सेन्टर खोलेसँगै शुल्क तय गरिनेछ।'

'हिलाम्मे सडक एकातिर, अर्काेतिर हल्लामात्रै'

ट्राफिक इन्जिनियर आशिष गजुरेलले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुभन्दा 'पपुलिस्ट' कार्यक्रम मात्रै ल्याउने गरेको बताउँछन्। 'उपत्यकाको ट्राफिक अस्तव्यस्त भइरहेको छ, त्यसलाई व्यवस्थापन गर्नुको सट्टा ट्राफिक झिनामसिना कुरामा नै अड्किरहेको छ,' उनले भने, 'काठमाडौं भित्रिने सवारीमा होइन, बाहिने सवारीलाई पखालेर पठाउनुपर्ने देखिन्छ, यहाँ उल्टो काम गर्न खोजेको देखिन्छ।' उपत्यकामा जताततै सडक खाल्डाखुल्डी परेर एम्बुस जस्ता भएका बेला ट्राफिकले लोकप्रिय हुन मात्र यस्तो प्रस्ताव ल्याएको उनी बताउँछन्।

प्रकाशित: २३ असार २०७४ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App