१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शिवसताक्षी नगरपालिकामा एमाले विजयी

झापा— झापाको शिवसताक्षी नगरपालिकामा मेयर, उपप्रमुखसहित बहुमत वडा जितेर एमालेले आफ्नो पुरानो किल्लामा पुनरागमन गरेको छ। संविधानसभाको दुई वटै चुनावमा काँग्रेसले जितेको क्षेत्रमा पर्ने शिवसताक्षीमा यसपटक एमालेले विपक्षीहरु भन्दा ज्यादै ठूलो अन्तरले जितेको हो।

गणना जारी रहेका दमक र अर्जुनधारा नगरमा एमालेको अग्रता छ भने मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा काँग्रेसको अग्रता छ। 

नगर प्रमुखमा विजयी हुने क्रममा एमालेका चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिष्पर्धी  काँग्रेसका परशुराम ढुंगानाले ९ हजार ८ सय ५६ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि एमालेकै भोजकुमारी नेपालले जितेकी छन्। १४ हजार ९ सय २६ मत ल्याएर उनी विजेता बन्दा उनकी प्रतिष्पर्धी काँग्रेसकी जयकुमारी चेम्जोङले ९ हजार ३ सय २४ मत प्राप्त गरेकी छन्। 

११ वटा वडा रहेको शिवसताक्षीका ९ वटा वडामा एमालेको प्यानलै विजयी भएको छ भने दुई वडाध्यक्षमा काँग्रेसले जितेको छ। माओवादी यो नगरमा पनि शुन्य भएको छ। 

शिवसताक्षीको नतिजा आएसँगै झापामा एमाले पहिलो दल बन्ने निश्चित भएको छ। उसले शिवसताक्षी, भद्रपुर, विर्तामोड र कनकाई नगरपालिका तथा कमल गाउँपालिका जितिसकेको छ।

काँग्रेसले गौरादह नगरसहित बाह्रदसी र झापा गाउँपालिका, राप्रपाले कचनकवल, हल्दीबारी र गौरीगञ्ज गाउँपालिका जितेका छन्। गणना जारी रहेका दमक र अर्जुनधारा नगरमा एमालेको अग्रता छ भने मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा काँग्रेसको अग्रता छ। 

 

प्रकाशित: २२ असार २०७४ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App