१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दयालु दयाराम

नाम दयाराम भएका उनी वास्तवमै दयालु छन् । धेरैको नाम अनुसार काम गर्दैनन्, कतिले चाहेर पनि सक्दैनन् । यस अर्थमा उनी भाग्यमानी छन् । जस्तो नाम छ, उस्तै काम गरिरहेका छन्, दयावीरसिंह कंसाकार जस्तै । 

उनी हुन् दयाराम महर्जन । जसले सित्तैमा पढाइरहेका छन्–अपाङ्ग बालबालिकालाई । पेसाले शिक्षक हुन् उनी । ३१ वर्ष भयो, ललितपुरको बुङमतीस्थित आदर्श सौलः युवक उच्च माविमा पढाउन थालेको । तर, उनको परिचय त्यत्तिमै सीमिति छैन । तीन सन्तानका पिता ५२ वर्षीय महर्जन धेरैका लागि पिताजस्तै बनेका छन् । 

उनी हुन् दयाराम महर्जन । जसले सित्तैमा पढाइरहेका छन्–अपाङ्ग बालबालिकालाई । पेसाले शिक्षक हुन् उनी । ३१ वर्ष भयो, ललितपुरको बुङमतीस्थित आदर्श सौलः युवक उच्च माविमा पढाउन थालेको । तर, उनको परिचय त्यत्तिमै सीमित छैन । तीन सन्तानका पिता ५२ वर्षीय महर्जन धेरैका लागि पिताजस्तै बनेका छन् । 

गत शनिबार दिउँसो उनको निवास पुग्दा महर्जनसँग कोही ब्रेललिपिमा अक्षर सिकिरेहका थिए भने कोही हातको इसारामा कुरा गरिरहेका देखिन्थे । कोही भने कोठाभित्र यताउता गर्दै रमाइरहेका थिए । ‘यी सबै मेरा सन्तान हुन्, मैले जन्माएका छोराछोरी जस्तै माया लाग्छ यिनीहरूको पनि,’ ती बालबालिकालाई देखाउँदै महर्जनले भने । 

आफ्नै छोराछोरी जस्तै माया गरेर उनले आफ्नो अपाङ्ग सेवा संघमा ५८ बालबालिकालाई राखेका छन् । त्यसमध्ये २३ दृष्टिविहीन, २२ बहिरा, ७ शारीरिक अपाङ्गता भएका र ६ सुस्त मनस्थितिका छन् । चार वर्षदेखि २३ वर्षसम्मका उनीहरूको सम्पूर्ण जिम्मेवारी महर्जनकै काँधमा छ । खान, बस्नदेखि अध्ययनका लागि समेत उनले नै सहयोग गरिरहेका छन् । 

महर्जनकै सहयोगमा अघि बढेका जीवन डंगोल अहिले संघका दृष्टिविहीन शिक्षक छन् । उनी महर्जनलाई सघाउँछन् । शिक्षणमा रमाइरहेका महर्जनलाई सामाजिक क्षेत्रमा प्रवेश गराउने पनि उनै जीवन थिए । 

महर्जनले २०४३ सालदेखि आदर्श स्कुलबाट शिक्षण सुरुवात गरे । २०४६ सालमा १४ वर्षका एक दृष्टिविहीन स्कुलमा भर्ना हुन आए । उनी थिए–जीवन डंगोल । आँखा नदेख्ने भएपछि अरु विद्यार्थीसँग बसेर पढ्न सक्ने कुरै भएन । विद्यालय अपाङ्गमैत्री थिएन । जीवनलाई पढाउन शिक्षक महर्जनले ब्रेललिपि सिके । जीवनलाई देखेरै उनले अरु यस्तै अपाङ्गलाई सहयोग गर्ने सोच बनाए । 

जीवनलाई पढाउन थालेपछि बुङ्मती, खोकना, भैंसेपाटी, छम्पी, संैबुलगायत क्षेत्रबाट बहिरा बालक भर्ना गराउन आए अभिभावक । प्राथमिक तहका इन्चार्ज रहेका महर्जनले उनीहरूलाई अन्यत्र लगेर पढाउनुस् भन्न सकेनन् । ब्रेललिपि र सांकेतिक भाषाबाट कक्षा पाँचसम्म अध्यापन गर्न थाले । 

त्यसबेला पाँच कक्षामाथि सांकेतिक तथा बे्रललिपिको कक्षा दिन सकेनन् उनले । धेरै कोशिस गर्दा पनि उनले अपाङ्गमैत्री शिक्षणलाई प्राथमिक तह माथि लान सकेनन् । त्यसपछि उनले अपाङ्गलाई स्वरोजगार बनाउने योजना बनाए । सबै विद्यार्थीलाई दुई वर्षसम्म सिलाइकटाइ तालिम व्यवस्था गरे । 

तालिमपछि अभिभावकले रोजगारी खोजिदिन आग्रह गरे । रोजगारी पनि खोज्ने जिम्मेवारी पूरा गर्न उनी एक्लैले सक्ने कुरै थिएन । अनि थाले संस्थागत काम । ललितपुरका तत्कालीन ६ गाविसका सबैखाले अपाङ्गको तथ्याङ्क बटुले । २ सय ७६ जना रहेछन् । त्यसपछि उनले २०५४ सालमा दर्ता गराए, अपांग सेवा संघ । 

संस्था त बन्यो, कार्यालय थिएन । अनि, अनुनय विनय गरेर मागे, कार्यविनायक सुधार समितिले चलाएको मन्दिरस्थित पाटीको एउटा कोठा । त्यसैमा सुरु गरे उनले रोजगारमूलक तालिम । टाढाका विद्यार्थीका लागि बासको व्यवस्था पनि गरे। 

अपाङ्गको सम्पर्क र संख्या थपिँदै गयो । मन्दिरको पाटी साँघुरो भयो । त्यसैबेला उनले भेटे एकजना दाता–रमेश महर्जन । जसले उनलाई सहयोग गरे पाटीको संस्थालाई भाडाको घरमा सार्न । १० वर्ष पाटीमा चलेको संस्था महर्जनको सहयोगले स¥यो भाडाको घरमा । अहिले उनको संस्थाले चलाएको आश्रयघर बुङ्मतीको आफ्नै भवनमा सरेको छ । १९ आनामा बनेको अपाङ्गमैत्री भवन स्वीटजरल्यान्डको एक संस्थाको सहयोगमा निर्माण भएको हो । त्यसैमा बस्छन् अहिले उनले आश्रय दिएका ५८ जना अपाङ्ग । रोल्पा, हुम्ला, दाङ, पर्सा, सोलुखुम्बु, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोकलगायत २५ जिल्लाका अपाङ्ग विद्यार्थी छन् उनको संस्थामा । 

अभिभावक र चिनजानका मान्छेमार्फत आइपुग्छन् उनको संस्थामा । महर्जनको संस्थामा अध्ययन गर्नेका कतिपय अभिभावकले सहयोग गर्छन् । गरिब तथा विपन्न परिवारकाले भने सित्तैमा पढ्न र खान बस्न पाउँछन् । ‘संघमा बसेर सबै खालका विद्यार्थीले अध्ययन गर्न पाउँछन्,’ उनले भने, ‘अपाङ्गता भएकालाई पहिलो प्राथमिकता हुन्छ ।’

कति विद्यार्थी भने अध्ययनपछि अभिभावकसँग फर्किएका छन् । अहिलेसम्म करिब एक सय विद्यार्थी अध्ययनपछि फर्किएको महर्जनले बताए । उनले पढाएका कालिकोटका दृष्टिविहीन सतिसराज पाण्डे नेपालगन्जको एक एफएममा काम गर्छन् । ब्रेललिपि र सांकेतिक भाषाका ६ शिक्षक छन् संघमा । विद्यार्थीको खानपान र शिक्षकको तलब अहिलेसम्म दाताकै भरमा चलेको छ । नियमित दाता त छैनन् तर पनि संस्था चलिरहेकै छ । ‘दुःखी र असहायको सेवा गर्न ठूलो आर्थिक स्रोत नचाहिँदो रहेछ,’ उनले भने, ‘अहिलेसम्म दुई÷चार जना सहयोगी हातको भरमा संस्था चलिरहेको छ ।’

अब भने उनी विद्यार्थीलाई अध्ययन मात्र गराउने पक्षमा छैनन् । कसरी हुन्छ स्वरोजगार बनाउने पक्षमा छन् । ‘मार्गदर्शन गराएर स्वरोजगार बनाउने पक्षमा छु,’ उनले भने, ‘त्यसका लागि  सीपको व्यवस्था गर्ने तयारीमा जुटिरहेको छु ।’ कम्प्युटर, वाद्यवादन, फोटोग्राफी, थाङ्कालगायत कक्षा चलाइरहेका छन् उनले । 

दृष्टिविहीनलाई ज्ञानको दृष्टि, हिँड्न नसक्नेलाई सीपको हिँडाइ र कान नसुन्नेलाई संकेतको सीप दिइरहेका उनी भन्छन्, ‘मैले खासै केही गरेको छैन, एउटा सानो प्रयास मात्र गरेको हुँ ।’

प्रकाशित: १९ असार २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App