१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

म्यादीको पूर्ण बन्ने रहर

भक्तपुर, दरबार क्षेत्रमा खटिएका म्यादी प्रहरी । तस्बिर : उपेन्द्र लामिछाने

भक्तपुरस्थित चाँगुनारायण नगरपालिककाकी विनिता खड्का स्नातक तहमा पढ्दैछिन् । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि चैत २५ गते म्यादी प्रहरीमा भर्ना भएकी उनी तीन महिनापछि आगामी बिहीबार घर फर्कदै छिन् । तीन महिनामा सँगालेको अनुभवले उनलाई प्रहरी पेसाप्रति नै मोहनी लगाएको छ ।

पढाई सकेर बैकिङ क्षेत्रमा जागिर खाने सोच बनाएकी उनी म्यादी प्रहरी भएपछि भने नेपाल प्रहरीमै सेवा गर्ने सोचमा पुगेकी छिन् । ‘यहाँ आएपछि मेरो सपना फेरियो,’ उनले भनिन्, ‘समयले साथ दियो भने म्यादीबाट अब पूरै प्रहरी बन्न चाहन्छु ।’ 

चुनावका बेला सुत्नसमेत नपाएका उनीहरूले प्रहरी सेवाको महत्त्व थप बुझे । १८ घण्टाभन्दा बढी डिउटी गरेका उनीहरूलाई त्यसले हैरानीभन्दा बढी खुसी दियो । चुनाव शान्तिपूर्ण भएकाले उनीहरू खुसी भएका हुन् । 

जडीबुटीकी कमला तिमल्सिनाले हेल्थ असिस्टेन्स (एचए)को परीक्षा दिएर फुर्सदको समयमा म्यादी प्रहरी बन्ने रहर गरिन् । बचेको समय सदुपयोग गर्न म्यादीमा आएकी उनले पनि आफ्नो सपना परिवर्तन गरिसकेकी छिन् । ‘नेपाल प्रहरीकै स्वास्थ्य क्षेत्रमा काम गर्ने रहर छ,’ उनले भनिन् । 

छोटो अवधिमा नै धेरै कुरा सिकेकी उनले भविष्यमा प्रहरी सेवा नै रोज्ने योजना बुनेकी छिन् । ‘कतिपयले जिस्काए,’ उनले भनिन्, ‘धेरैले निर्वाचनमा खटिएको भन्दै सम्मान गरे, मलाई भने यसै क्षेत्रमा लाग्न मन छ अब ।’ 

चुनावका बेला सुत्न समेत नपाएका उनीहरूले प्रहरी सेवाको महत्त्व  थप बुझे । १८ घण्टाभन्दा बढी डिउटी गरेका उनीहरूलाई त्यसले हैरानीभन्दा बढी खुसी दियो । चुनाव शान्तिपूर्ण भएकाले उनीहरू खुसी भएका हुन् । 

‘खल्तीमा पैसा र मनमा निर्वाचन सफल भएको उमङ्ग छ,’ भक्तपुर छालिङकी सुनिता बाटा भन्छिन्, ‘शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको खुसी बोकेर गाउँ फर्कदै छौं ।’ 

भक्तपुर खौमाकी सुमिता शिल्पकार कलेज जीवनभन्दा फौजी जीवन फरक भएको बताउँछिन् । ‘हामीले अनुशासनबारे बुझ्यांै,’ उनले भनिन्, ‘त्यसबाहेक हामीले ‘मास’मा कसरी प्रस्तुत हुने जान्यौं ।’ 

निलो पोसाक, खल्तीमा सिटी र हातमा लौरो लिएका उनीहरूले सिटी बजाउनु परे पनि लौरो भने चलाउनु नपरेको बताए । ‘२० वर्षको उमेरमा नै लौरो टेकियो,’ विनिताले हाँस्दै भनिन्, ‘लौरो प्यारो लाग्न थालेको छ, लौरो टेक्न अब म्यादी हैन पूरा प्रहरी बन्नुछ ।’ 

उनीहरूसँगै रहेकी नेपाल प्रहरीकी हवल्दार सीता चन्द साथी बनेर आएका म्यादी प्रहरीले खुसी ल्याएको बताउँछिन् । ‘दिदी बहिनी आएजस्तै लागेको छ,’ उनले भनिन्, ‘उनीहरू पनि यहि पेसामा आए खुसी लाग्छ ।’ 

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि म्यादी प्रहरी राखेको थियो । नेपाल प्रहरीले चैत १० गते सूचना जारी गर्दै म्यादी प्रहरीमा आवेदन माग गर्‍यो । म्यादी प्रहरीका लागि छानिएका ७५ हजारमध्ये ६१ हजार २ सय पुरुष र १३ हजार ३ सय महिला छन् । 

सरकारले विगतमा पनि म्यादी प्रहरीलाई ‘भविष्यका लागि उपयोगी’ प्रमाणपत्र दिँदै आएको छ । उनीहरू सबैको अभिलेख राखिएको र  भविष्यको भर्ना प्रक्रियामा प्राथमिकता दिइने छ । 

 

प्रकाशित: १९ असार २०७४ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App