१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतदान उत्साहपूर्ण : निर्वाचन आयोग

काठमाडौं- स्थानीय तहको बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहपूर्ण मतदान भएको छ। प्रदेश १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिए पनि कतिपय ठाउँमा ५ बजेसम्म लाम बसेका मतदाताले साँझ ७ बजेसम्म मत खसाले।

निर्वाचन आयोगलाई प्राप्त प्रारम्भिक विवरणअनुसार ७० दमशलब ५ प्रतिशतभन्दा बढी मत खसेको छ। दोस्रो चरणको निर्वाचनमा मतदाता संख्या ६४ लाख ३२ हजार ७ सय ६५ थियो। यसअघि वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा सम्पन्न पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा ७९ प्रतिशत मत खसेको थियो।

निर्वाचन आयोगले शान्ति र उत्साहपूर्ण ढंगले लोकतान्त्रिक अभ्यासमा सहभागी भएको भन्दै मतदातालाई धन्यवाद दिएको छ। मतदान सम्पन्न भएपछि निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बिहान वर्षाका कारण केही केन्द्रमा मतदान ढिलो सुरु भए पनि सबै केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताए।

'प्रारम्भिक विवरणअनुसार मतदाताको शान्तिपूर्ण र उत्साहपूर्ण सहभागितामा ७० दशमलब ५ प्रतिशतभन्दा बढी मत खसेको छ,' यादवले भने, 'निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न, मतदाताको आदेशलाई पूर्ण सम्मान गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोग हार्दिक अपिल गर्छ।'

बुधबार १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य पदका लागि मतदान भएको हो। निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये विभिन्न ठाउँमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ।

प्रमुख आयुक्त यादवले ३ सय ३४ स्थानीय तहका ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख बाहेक अन्य सबै केन्द्रमा उत्साहपूर्ण मतदान भएको बताए। उनका अनुसार पाण्डु मावि मतदान केन्द्रमा वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगित भएको हो।

यस्तै सोलुखुम्बुको नेचा गाउँपालिका ६ का मतदाताले गाउँपालिकाको सीमांकनमा असन्तुष्टि जनाउँदै मतदानमा भाग नलिएको आयोगले जनाएको छ। स्थानीयले वडा सीमांकनमै असन्तुष्टि जनाएपछि नवलपरासीको सरावल गाउँपालिका ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुईजनाको मात्रै मत खसेको छ।

निर्वाचन विरोधीले केही ठाउँमा राखेको बम निष्त्रि्कय बनाउन र मतदान कार्यमा बाधा पुर्‍याउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्य सफल बनाउन सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताको आयोगले प्रशंसा गरेको छ। प्रमुख आयुक्त यादवले मतदान भएलगत्तै सबैै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको बताए। हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न आयोगले हेलिकोप्टर व्यवस्था गरेको छ। 'मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना गर्ने विषयमा राजनीतिक दलसँग समन्वय गरी मतगणनाको मिति र समय तोकी आजै (बुधबार) बाटै मतगणना अगाडि बढाउनुहुनेछ,' प्रमुख आयुक्त यादवले भने, 'यसअगाडिका मतगणना क्रममा भएका विवादलाई सिकाइको रुपमा लिँदै यथेष्ट शान्ति सुरक्षाको प्रबन्ध गरी मतगणना गर्न मुख्य/निर्वाचन अधिकृत र सरोकारवालालाई निर्देशन दिएका छौं।'

 

तथ्यांकमा दोस्रो चरण निर्वाचन

प्रदेश :  १, ५ र ७

जिल्ला :  ३५

स्थानीय तह :  ३३४

महानगरपालिका :  १

उपमहानगरपालिका :  ७

नगरपालिका :   १११

गाउँपालिका :  २१५

वडा :  २,८७४

पद :  १५ हजार ३८ (प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य)

उम्मेदवार :  ६२,४०८

मतदान केन्द्र :  ८,३६४    (४,५८१ स्थल)

मतदाता :  ६४,३२,७६५

मतदान अवधि :  ७ देखि अपराह्न ५ बजे

निर्वाचन प्रणाली :  बहुमतीय

प्रकाशित: १५ असार २०७४ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App