१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

दोस्रो चरणको प्रतिष्ठा

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रतिष्ठाको विषय भएको दोस्रो चरणको निर्वाचन यही कारण पनि छ बहुप्रतीक्षित छ । पहिलो चरणमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा थिए र अनुमान गरेअनुरूप तेस्रो स्थानमा माओवादी केन्द्र पुगेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो दल रहे पनि नयाँ शक्ति जस्तो नवोदित समान उसको हैसियत देखियो । अरु केही स्वतन्त्रको स्थान थियो । दोस्रो चरणमा संघीय समाजवादी  फोरम र जनअधिकार फोरम लोकतान्त्रिकसमेत प्रतिस्पर्धामा छन् । निर्वाचनलाई बार्गेनिङ कार्ड बनाउँदै राज्यलाई घुँडा टेकाउन प्रयत्नशील राष्ट्रिय जनता पार्टी पनि स्वतन्त्र तर परोक्षरूपमा सक्रिय भएको छ । यस पार्टीका डेढ सयभन्दा बढी सदस्य उम्मेदवार छन् र राजपा नेतृत्वले तिनका विषयमा केही पनि बोलेको छैन।

राजपाका एक नेता सर्वेन्द्रनाथ शुक्ला कार्यकर्ताविरुद्ध जान नसक्ने हुनाले उनीहरूको भावनाको सम्मान गर्दै चुनावमा सहभागी हुनुपरेको तर्क दिँदैछन् । यस अर्थमा राजपा पनि चुनावी अग्निपरीक्षाको दौडमा होमिएको स्पष्ट छ । आंशिकरूपमा चुनावी दौडमा लाग्दा राजपाका लागि आफ्नो थोरै पनि शक्ति परीक्षण हुनेछ भने प्रदेश २ का सन्दर्भमा निणर््ाय गर्न आधार खडा हुनेछ । राजपाका उम्मेदवार बलियोसँग विजयी भएमा राज्य गम्भीर हुनुपर्नेछ उनीहरूका माग सन्दर्भमा । विजय हासिल गरेनन् र अवस्था पातलो देखियो भने राज्यले अर्को चुनावमा त्यसैलाई आधार बनाएर राजपासँग संवाद गर्न पहल गर्नेछ । दोस्रो चरणको निर्वाचन राजपाका लागि घाटाको सौदा सिद्ध हुँदैछ । तर पनि निर्वाचनमा भाग लिएका कार्यकर्ता यसलाई नाफाको व्यापार बनाउन प्रयत्नशील छन् । उनीहरू निर्वाचनमा विजयी बनेर एकातिर जनतासँगको सम्पर्कलाई निरन्तरता दिने र जनताको सेवा गर्ने अर्कातिर आफ्ना माग पूरा गराउन स्थानीय सरकारको समेत शक्ति उपयोग गर्ने विश्वासमा छन् ।

देउवाको दाबी पहिलो स्थानमा नेपाली कांग्रेसलाई पु¥याउने छ । केपी ओलीको पनि एमालेलाई पहिलो शक्ति स्थापित गरेरै विश्राम लिने प्रतिज्ञा छ । दुईको दाबीमा प्रदेश पाँचको भूमिका महत्वपूर्ण हुनेछ । यो प्रदेशले दुवैका दाबी आहानका ताहान बनाइदिनेछ ।

राजपाका उम्मेदवारले सार्वजनिकरूपमा यो दोहोरो नीतिको व्याख्या गरेका छन् । वास्तवमा राजपाका नेताभन्दा राजनीतिक र वैचारिकरूपमा कार्यकर्ता बढी परिपक्व देखिए । उनीहरू राष्ट्रप्रति, परिवर्तनप्रति बढी जिम्मेवार र गम्भीर देखिए । त्यस पार्टीका नेताले रुपन्देही र कपिलवस्तुका आफ्नै कार्यकर्ताबाट पाठ सिक्नुपर्छ । राज्यले राष्ट्रिय जनता पार्टीको सामथ्र्यलाई प्रदेश नम्बर २ मा खुम्च्याएको अवस्थामा कपिलवस्तु र रुपन्देहीका कार्यकर्ताले कम्तीमा त्यहाँसम्म विस्तार गरिदिएका छन् ।

लोकतन्त्रमा साना दलको महत्व विशेष हुन्छ । नेपालका साना दलमा ठूला हैसियत भएका नेता नेतृत्वमा छन् । उनीहरूले पाउने मत वा समर्थन थोरै रहे पनि उनीहरूको कद भने घट्ने हुँदैन । नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छे भक्तपुरबाहिर पुगेका छैनन् । उनको पार्टी २०४८ मा कर्णालीसम्म बिस्तार थियो । तर बितेका २५ वर्षमा यो पार्टी खुम्चिँदै भक्तपुरमा सीमित हुन पुगेको छ । तर बिजुक्छेको राजनीतिक महत्व कत्ति पनि घटेको छैन । उनी एक्लो संस्था हुन् र निर्णायक चरणमा उनको राजनीतिक महत्व निरन्तर स्थापित छ । यो पटक पनि भक्तपुरलाई आफ्नो अंकमा अटाउन बिजुक्छे सफल भए पनि अंक विस्तार गर्न भने सफल भएनन् । दोस्रो चरणको निर्वाचनमा उनको कुनै उपस्थिति हुने देखिँदैन । तर राजनीतिमा उनको महत्ता निरन्तर रहनेछ ।

अर्का हस्ती हुन् सिपी मैनाली । एमालेबाट २०५४ को अन्त्यमा फुटेर माले गठन गर्ने मैनालीको उचाइ पनि कम छैन । उसले पहिलो चरणको निर्वाचनमा हैसियत स्थापित गर्न नसके पनि मैनालीको राजनीतिक महत्व र उचाइ कम भएको छैन । मैनाली अहिले पनि राजनीतिक खेलका एक मुख्य पात्र बनिरहेका छन् । अन्तर्यमा रहेर राष्ट्रिय जनमोर्चाको नेतृत्व गरिरहेका मोहनविक्रम सिंहको आफ्नै वैचारिक भूमिका छ । प्रत्यक्षमा चित्रबहादुर केसी यसका नायक हुन् । यस पार्टीले पनि गठबन्धनमा रही केही स्थान हासिल गर्नुभन्दा पहिलो चरणमा कुनै उपलब्धि गरेको देखिएन । तर पनि यसका नेताको उचाइ कमजोर छैन । राष्ट्रिय मुद्दाहरूमा मोहनविक्रम र चित्रबहादुरका विचार सुन्नैपर्ने हुन्छ ।

अर्का वामपन्थी गुरु हुन् मोहन वैद्य । उनको आफ्नै विशेषता छ । यी उल्लिखित दल र दलका नेताहरू सबै नै साम्यवादी धारका हुन् । साम्यवादी धारको मूल केन्द्र जस्तो नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र दोस्रो स्थानमा रहेको अवस्था छ । तर यी साना ठूला साम्यवादी एउटै डालोमा नअटाएका हुनाले नेपाली कांग्रेसलाई निकै सजिलो भएको छ । लोकतन्त्रमा लोकतान्त्रिक विकल्प छैन । यस अवस्थामा साम्यवादीको शक्तिसँग सामना गर्नु सहज हँुदैन । लोकतान्त्रिक विकल्पका रूपमा साम्यवादी धारबाट नै अलग भएका एकजना नेता देखा परेका छन् । साम्यवादी धारलाई असफल बताउँदै डा. बाबुराम भट्टराई ठूलो पार्टीबाट अलग भएका हुन् । उनले माक्र्सवादको औचित्य अन्त्य भएको निष्कर्षसाथ नयाँ शक्ति नाउको दल खोलेका छन् । निकै अपेक्षासाथ हेरिएको उनको दलको आकार पनि बढ्न सकेको छैन । डा. भट्टराईले दिएको जानकारीअनुसार पहिलो चरणको निर्वाचनमा कुल संख्यामध्ये करिब नब्बे स्थानमा मात्र नयाँ शक्तिको उपस्थिति छ । प्रारम्भको यो उपस्थितिप्रति असन्तोष गरिरहनुपर्दैन । दोस्रो र तेस्रो चरणमा पनि केही त अवश्य हुने नै छ । पार्टीको जनसमर्थन जे÷जस्तो भए पनि डा. भट्टराईको व्यक्तित्व राष्ट्रिय स्तरमा स्थापित छ । उनको भूमिका राजनीतिमा पर्याप्त रहनेछ तर भूमिका निर्धारण गर्ने काम स्वयं डा. भट्टराईकै हो ।

दोस्रो चरणको स्थानीय सरकारलाई लिएर दुई मुख्य प्रतिस्पर्धीमा क्षेत्रगत प्रतिष्ठासमेत दाउमा रहेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक आधार क्षेत्र पूर्वाञ्चल हो । त्यसमा पनि कोशीमा जन्मी मेचीमा हुर्केका र राजनीतिको मियो खडा गरेका उनका लागि दोस्रो चरण अग्निपरीक्षा हुनेछ । हुन त मेचीबाट नै एमालेका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधित्व गर्छन् । तर खनालको साख ओली समान छैन र नै उनको साख जोगाउने वा नजोगाउने विषय बहसमा आउँदैन । ओलीले अलग्गै राष्ट्रिय पहिचान बनाएका हुनाले र उनकै नेतृत्वमा पहिलो चरणको निर्वाचनमा एमाले पहिलो स्थानमा पुग्न सफल भएको हुनाले दाउमा ओलीकै साख रहेको छ । यो साख जोगाउन यतिखेर सिंगो एमाले पंक्ति र ओली लागिपरेको अवस्था छ ।

अर्कातिर बाइस दिनपहिले प्रधानमन्त्री भएका शेरबहादुर देउवाका लागि सुदूर पश्चिम प्रतिष्ठाको विषय हुन पुगेको छ । जनमत संग्रह २०३६ का समय सुदूर पश्चिमको जनमतका आधारमा प्रसिद्ध समाजवादी चिन्तक सिके प्रसाईले ‘शेरे पश्चिम’ भनी देउवालाई सम्बोधन गरेका थिए । सुदूर पश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभावशालीरूपमा उपस्थित हुने सामथ्र्य र अवसर देउवाले पाउनेछन् भन्ने प्रसाईको तर्क थियो । प्रसाईको त्यो तर्क सत्य प्रमाणित भएको छ । चारपटक प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिसमेत हुन सफल देउवाका लागि ‘शेरे पश्चिम’ सम्बोधन उपयुक्त रह्यो ।

अहिलेको स्थानीय सरकारको निर्वाचनमा ‘शेरे पश्चिम’को त्यो सम्बोधन दाउमा छ । हुन त पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको क्षेत्र पनि यही हो । उनी राप्रपामा छन् र त्यस पार्टीले केन्द्रमा महत्वपूर्ण भूमिका खेले पनि स्थानीय तहमा भने आफ्नो हैसियत देखाउन सकेको छैन । देउवाको दाबी दोस्रो र तेस्रो चरण गरी पहिलो स्थानमा नेपाली कांग्रेसलाई पु¥याउने छ । केपी ओलीको पनि एमालेलाई पहिलो शक्ति स्थापित गरेरै विश्राम लिने प्रतिज्ञा छ । तर यी दुईको दाबीमा प्रदेश पाँचको भूमिका निकै महत्वपूर्ण हुनेछ । यो प्रदेशले दुवैका दाबीको तराजुलाई आहानका ताहान बनाइदिनेछ।

राजनीतिमा जय÷पराजय सामान्य हो । लोकतन्त्रको सौन्दर्य भनेकै आवधिकरूपमा कसैको जय र कसैको पराजय स्वीकार गराउनुमा छ । अधिनायकवादमा मात्र विजय र वर्चस्वको अहंकारले राज गरिरहेको हुन्छ । लोकतन्त्रमा त्यस्तो हँुदैन । अहिले नेपालको सन्दर्भमा त्रिदलीय राजनीति मौलाइरहेको छ । यसले कतै त्रिदलीय निरंकुशता स्थापित गर्ने हो कि भन्ने संशय पैदा भइरहेको छ । केन्द्रीय राजनीतिमा यो संशय स्थापित सत्य भइरहेको छ । तर साना दलहरू केन्द्रीय राजनीतिमा निर्णायक भइरहेसम्म त्रिदलीय निरंकुशता सवल हुने छैन । स्थानीय तहमा समेत यसैकारण साना दलहरूको न्यूनतम भए पनि उपस्थिति रहनु आवश्यक छ । यसै पटकको निर्वाचनमा नहोला तर पछिपछिका निर्वाचनले सम्भावित त्रिदलीय निरंकुशता मेट्न फेदैदेखि काम गर्नैपर्ने हुन्छ । खासगरी साना दलका ठूला कद भएका नेता यसमा सक्रिय हुनुपर्छ । ठूला दलका अनावश्यक सहयोगी रहनुभन्दा साना दलको संगठित शक्ति विस्तार गरी लोकतन्त्र सुदृढीकरणमा साना दलका ठूला नेताले योगदान गर्न सक्नेछन् ।

 

प्रकाशित: १४ असार २०७४ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App