१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पारिका नागरिक वारिका मतदाता !

झापा– लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै ‘पूर्व नेपाली’ स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’ को संख्या लगातार बढिरहेको चर्चा बाक्लै भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या धेरै रहेको उनीहरूको आगमन दरले देखाउँछ ।  

केही सातायता निर्वाचनमा सहभागी हुनकै लागि काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेको संख्या ठूलै छ । त्यसमा धेरै कामको सिलसिलामा भारतीय भूमिमा रहेका नेपाली छन् । केही संख्या विद्यार्थीको पनि छ । अर्को संख्याचाहिँ भारतीय भूमिमै घरजम गरिसकेकाहरूको छ, जो दोहोरो नागरिकताधारी हुन् । बासिन्दा भारतको र मतदाताचाहिँ नेपालको हुने यस्तो पंक्तिमा पनि संख्या उल्लेख्य छ । प्रहरीका अनुसार काँकडभिट्टा नाकाबाट पछिल्लो समयमा निर्वाचन प्रयोजनकै लागि नेपाल भित्रिनेहरू अधिकांश पहाडे समुदायका छन् ।  


‘भारतीय भूमिमा रहेका धेरैसँग अझै  नेपाली नागरिकता छ । मतदाता नामावलीमा नाम छ । यो धेरैलाई थाहा छ । तर, यसबारे कोही कसैले बोल्दैन ।’

‘यो ओपन सेक्रेट कुरा हो’, अवकाश प्राप्त सरकारी अधिकारी भीमकुमार कार्की भन्छन्, ‘भारतीय भूमिमा रहेका धेरैसँग अझै  नेपाली नागरिकता छ । मतदाता नामावलीमा नाम छ । यो धेरैलाई थाहा छ । तर, यसबारे कोही कसैले बोल्दैन ।’  उनका अनुसार नेपालीहरूसँग पनि भारतीय नागरिकता तथा अन्य कागजात छन् । खुला सीमा, सांस्कृतिक तथा भाषिक समानताको आडमा कायम रहेको रोटीबेटी सम्बन्धका कारण यस्तो भएको उनको भनाइ छ । त्यसैले  नेपालमा भएको सम्पूर्ण जायजेथा बेचबिखन गरेर भारतीय बनिसकेका ‘पूर्वनेपाली’ हरू यहाँको अधिकांश चुनावमा निर्धक्क मतदान गरिरहेका हुन्छन् ।

दशकअघि घरखेत बेचेर भारतीय राज्य सिक्किममा घरजम गरिरहेका र त्यहींका जागिरेसमेत भइसकेका मेचीनगरका एक व्यक्ति परिवारसहित सोमबार साँझ  नेपाल आइपुगे । नाम उल्लेख नगरिदिन अनुनय गर्ने उनले आफू आउनुको कारण नै  स्थानीय चुनावमा मतदान गर्नु रहेको खुलाए । नेपाल आएर मतदान गर्ने आफू एक्लो भारतीय नभएको जिकिर गर्दै उनले यस्तो संख्या धेरै रहेको पनि सुनाए । ‘म त नआउने विचारमा थिएँ, बिदा मिल्न पनि गाह्रो परिरहेको थियो’, सिक्किमको हुलाक सेवाका कर्मचारी उनले भने, ‘यताबाट कसैगरी आउनुपर्छ भनेर खबर गइरह्यो । साथीभाइको मन राखिदिन पनि आइयो ।’ उनले भनेका ‘साथीभाइ’ दलका कार्यकर्ता हुन्, जसले आफ्नो मतसंख्या बढाउने लोभमा भारतीय नागरिकलाई पनि नेपाली मतदाता बनाइरहेका छन् ।

यद्यपि दलका नेताहरू भने यसलाई स्वीकार गर्दैनन् । उल्टै अर्को दलको नाम लिएर आफू बाहेककाले त्यसो गरेको बताउँछन् । हरेक नेताकार्यकर्तालाई विपक्षी दलका भारतीय मतदाताको नाम कण्ठै हुन्छ । तर, यसबारे कोही बोल्दैन । यस्तो संख्या हरेक दलभित्र उत्तिकै हुन्छ ।

बुधबार हुने मतदानका लागि सोमबार बिहानदेखि भारतसँग साँध जोडिएका चुनाव हुने जिल्लाका सीमा नाका बन्द भएको छ । चुनावमा हुन सक्ने सम्भावित अप्रिय घटना रोक्ने उद्देश्यले भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो । सीमा यसरी बन्द भए पनि मतदानकै लागि भनेर नेपाल भित्रिनेको संख्या ठूलो छ । काँकडभिट्टा नाकाबाट मात्रै सोमबार र मंगलबार गरेर दुई हजार हारहारीमा मतदाता नेपाल भित्रेका छन् । ‘मतदाता हुन् भन्ने प्रमाण खुलेकालाई आउन दिएका छौं’, काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी दुर्गाराज रेग्मीले भने, ‘अन्यलाई प्रवेश पूरै रोकेका छौं ।’
सीमा नाका ‘सिल’ भएपछि नाकामा खटिएका प्रहरी नै अचम्ममा पर्ने दृश्य देखापरेको उनीहरुले नै बताएका छन् । ‘कार्ड देखाउँदा भारतीय कार्ड भएका व्यक्तिसँग नेपालका दलको पार्टी सदस्यता पनि देखियो’, नाकामा खटिएका एक प्रहरीले भने, ‘भारतीय पनि आएर मत दिनेरहेछन् ।’
इलामको जिर्मलेदेखि  झापाको गौरीगन्ज फत्तेपुरसम्मको एक सय १८ किलोमिटर नाका सोमबारबाट ७२ घन्टाका लागि बन्द गरिएको हो । सीमा बन्द हुँदा पनि मतदानका लागि आउने क्रम जारी छ ।

नेपालीभाषी समुदायको बाक्लो बसोबास रहेको पूर्वोत्तर भारतका विभिन्न भूभागमा पारिवारिक सम्बन्ध भएकाले नेपालमा हुने हरेक चुनावमा मतदान गर्दै आएका छन् । निजी क्षेत्रको कामका सिलसिलामा रहेकाहरू मात्रै होइन, भारतीय नागरिक भएबापत उताको सम्पूर्ण सेवासुविधा उपभोग गरिरहेका भारतीय नै मतदाता हुने अवस्था आउनुमा कमजोर राज्य संयन्त्रले बढी काम गरेको कर्मचारी नै स्वीकार गर्छन् । ‘सबै प्रमाण लिएर आएपछि नागरिकता दिन्न भन्न सकिन्न’, जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकृतले भने, ‘तर, नागरिकता लिएका सबै नेपालकै बासिन्दा हुन् भन्न मचाहिँ सक्दिनँ ।’

प्रकाशित: १४ असार २०७४ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App