१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

डा. केसीलाई बचाऔं

चिकित्सा शिक्षा र सेवा क्षेत्रमा झ्याङि्गएको विकृति विरुद्ध आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा यतिबेला प्रमुख भएर आएको छ। उनले आठ पटकसम्म अनसनको माध्यमबाट यो मुलुकलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा मौलाएको विकृतिबारे सिंगै मुलुकलाई जानकारी गराएका छन्। यो विषय बुझ्न उनैले सहज गराएका पनि हुन्। पटक–पटकका उनका आग्रह अन्ततः आम जनमानससम्म फैलिन सफल भएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्यमा चरम व्यापारिकणले यो मुलुकको चिकित्सा क्षेत्र कसरी पैसावालका पोल्टामा जाँदैछ भन्ने बुझ्न पनि हामी सफल भएका छौं। चरम व्यापारिकरणमा फसेको यो क्षेत्रमा अरुका बारेमा सोच्ने त कल्पना समेत हुन छाडेको छ। अझ आफ्ना लागि फिटिक्कै नसोची सिंगै मुलुक र समाजका निम्ति मर्न पनि तयार हुने डा. केसीमाथि अनावश्यक प्रश्न र शंका गरिएको छ। तर, उनले उठाएको विषय आगामी दिनमा चिकित्सा शिक्षा र सेवा गरिबका हातमा पर्ने कि नपर्ने भन्ने प्रश्न पनि जोडिएको छ। आज पैसा हुनेले महँगो चिकित्सा शिक्षा लिएर भोलि त्यो असुली गर्न सक्ने प्रणालीको विकास गरिएको छ। त्यो प्रणाली जतिजति बलियो हुँदै जान्छ यो मुलुकका गरिबको जीवन पनि झन् दुष्कर हुँदै जानेछ। यसपटक डा. केसीले आठौं अनसन थालेपछि व्यापारिकरणका पछि लागेकाहरू खुलेर आएका छन्।

डा. केसीको अनसनले समाजमा स्पष्ट धु्रविकरण पनि भएको छ। कसका कुन प्राथमिकता छन् भन्ने बुझ्न पनि सहज भएको छ। जसरी राजा ज्ञानेन्द्रले २०६१ माघ ५ मा शासन सत्ता हातमा लिएपछि प्रजातन्त्रको पक्षमा आवाज उठाउनेहरू अल्पमतमा परेको जस्तो देखिएको थियो र आम जनमानस गुम्सिएको अनुभव गर्दैथियो, अहिलेको अवस्था पनि त्यस्तै भएको छ। डा. केसीले यस क्षेत्रमा मेडिकल माफियाको जगजगी रहेको मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र सदस्य राजनारायण पाठक समेत जोडिएका प्रशंगसमेत अघि सारेपछि स्थिति अत्यन्तै जटिल बनेको छ। अख्तियारले आफ्नो क्षेत्राधिकार मिचेर आफन्तको फाइदाका निम्ति क्रियाशील भएका अनेकानेक घटना सार्वजनिक भइसकेका छन्। प्रजातन्त्रमा कोही पनि संविधानभन्दा माथि हुँदैन। त्यसैले यी मुद्दा उठेपछि त्यसमा छानवीन गर्नु त कता हो कता पद र पैसा भएकाहरू सुतुरमुर्गजस्तो टाउको लुकाउन पुगेका छन्। अहिलेको राजनीतिक प्रणालीलाई बदनाम गराउने गरी चिकित्सा शिक्षा र सेवाको क्षेत्रलाई भयको साधन प्रयोग गर्दै दोहन गर्नेहरूलाई समेत डा. केसीको अहिलेको अभियानले पक्कै पनि अप्ठ्यारोमा पारेको छ। यो विषयमा छानवीन गर्न राज्यका कुनै पनि निकाय क्रियाशील हुँदैनन् भने त्यसको हिसाबकिताब आम जनताले अवश्यै राख्नेछन्। यो घटनाले हाम्रो प्रजातान्त्रिक प्रणाली भित्रभित्रै मक्किइसकेको उजागर पनि गरेको छ। यी यावत घटनाले डा. केसीले सुरु गरेको आन्दोलनको औचित्य प्रमाणित गरेको छ।

डा. केसीले गरेको यो आन्दोलनले क्षणिक रुपमा चिकित्सा शिक्षा र सेवालाई व्यापारिकण गर्न खोज्नेहरूलाई घाटा भए पनि सिंगो पद्दति र प्रजातन्त्रलाई दिगो बनाउन यो नगरी नहुने काम हो। तर, यत्रो ठूलो उत्सर्ग प्रेमलाई दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतले बुझ्न नसकेको देखिएको छ। यस्तो अवस्थामा पनि नयाँ शक्ति पार्टी, विवेकशील नेपालीलगायतले गरेको समर्थनलाई आम जनमानसले अत्यन्तै ध्यानपूर्वक नियालिरहेको छ। त्यति मात्र होइन युवा सांसद गगन थापादेखि अर्जुननरसिंह केसीसम्मले देखाएको चासोले यो मुद्दाको महत्वलाई उजागर गरेको छ। डा. केसीले उठाएका मुद्दाले राष्ट्रिय महत्व स्थापना गरिसके पनि सरकारले चरम उदासिनता देखाएको छ। त्यसो त यसअघि अनसन गर्दा समेत उनको मृत्युको कामना गर्नेहरू धेरै थिए। डा. केसीजस्ता सत्पात्रको अन्त्य चिकित्सा शिक्षा र सेवा क्षेत्रमा देखिएका समस्याको समाधान होइन। सरकारले गरेको चरम वेवास्ताले केसीको जीवन संकटमा पर्ने देखिएको छ। मुलुकको जटिल राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै उनको जीवन रक्षाको प्रश्न यतिबेला महत्वपूर्ण हुन आएको छ। उनीजस्ता निस्वार्थी व्यक्ति पटक–पटक जन्मिदैनन्। नेपाल आमाका यी सपुतलाई बचाएर व्यापक जनआन्दोलनका माध्यामबाट अखहिलेका विकृतिहरूको अन्त्य गर्नुपर्ने अवस्था आएको देखिन्छ। सिंगो प्रणाली भ्रष्ट भइसकेको छ भने यस्तो बेलामा जनस्तरबाट उठेको आन्दोलनले मात्र त्यसको निकास दिन सक्छ। त्यो आन्दोलनलाई निकास र नेतृत्व दिन डा. केसी अब आमरण अनसनको सैय्याबाट उठ्नुपर्छ। उनको जीवन रक्षा अहिलेको प्रमुख प्रश्न हो। उनलाई जसरी पनि बचाऔं। उनलाई बचाउनु उनले उठाएका मुद्दालाई जीवन दिनु पनि हो।

प्रकाशित: ६ श्रावण २०७३ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App