१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

पत्रकार सम्मेलनमा सहभागी हुँदै राजेन्द्र महताे लगायत राजपा नेताहरू

रौतहट– राजपा नेता राजेन्द्र महतोले यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुन नदिने र आफ्नो क्षमताले भ्याएसम्म मधेसी जनताले चुनावको अवरोध गर्ने बताएका छन् । रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरी मधेसीको मागलाई पूरा गरेर स्थानीय तहको निर्वाचन गराउँदा आफूहरुले भाग लिन आतुर रहेको बताएका छन्।

उनले सरकारले ढोका बन्द गरेर कोठाभित्र आउन बारम्बार आग्रह गरेकोजस्तै माग पूरा नगरेर चुनावमा आउन आग्रह गरेको आरोप लगाएका छन् । असार १४ गते नै निर्वाचन हुनुपर्ने कुनै संवैधानिक व्यवस्था नरहेकोले आगामी माघको पहिलो हप्ताभित्र सबै तहको चुनाव गराउँदा पनि हुने बताउँदै महतोले पहिले संविधान संशोधन गरेर मधेसमा चुनावको वातावरण बनाउनु पर्ने अडान दोहोर्याएका छन्। छलफल गरेर एक दुई महिना चुनाव सारे पनि आकाश नखस्ने महतोले बताए। अहिले छलफल गरेर संविधान संशोधन भएपछि सबै तहको चुनावमा सबै पक्षको ध्यान जाने र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने ठोकुवा गर्दै महतोले भने – संविधान संशोधन नगरेर गोली बन्दुकको भरमा, जनतालाई मारेर बलजफ्ती गराउने चुनावको कुनै औचित्य छैन्।

मधेसी, आदिवासी, जनजाति लगायतकाको समस्या समाधान गरेर गराइएको चुनावमात्र प्रभावकारी हुने बताउँदै उनले बलजफ्ती चुनाव गराएमा सरकार र देशले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् । राजपा नेपालले संवैधानिक दायरामा रहेर आन्दोलन गरिरहेको तर माग पूरा नगरी बलजफ्ती दमन गरी चुनाव गरेमा संवैधानिक दायराभन्दा बाहिर रहेर आन्दोलन गरिरहेको पक्षलाई फाइदा पुग्ने आशंका समेत गरेका छन् । लोकतन्त्रको आधार स्तम्भ नै निर्वाचन भएकोले आफूहरु निर्वाचनबाट डराएको नभई त्रुटिपूर्ण संविधान नसच्याई, संविधान संशोधन नगरी चुनावमा भाग लिँदा संविधानलाई स्वीकार गरिएको ठप्पा लगाउने आरोप लाग्ने भएकोले संविधान संशोधन नगरी आपूmहरु चुनावमा कुनै पनि हालतमा भाग नलिने दोहोर्याएका छन्।

स्थानीय तहको संरचना जनसंख्याको आधारमा नभएकोले मधेसलाई नयाँ किसिमले शोषणको आधार सिर्जना गरी थप विभेद कायम गर्ने नियतले बनाइएकोले जनसंख्याको आधारमा स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने बताएका छन् । राजपा नेता महतोले काँग्रेस, एमाले र माओवादी मिलेर मधेसविरोधी संविधान बनाएकाले तिनै पक्ष मिलेर त्रुटिलाई संशोधन गर्न आग्रह गरेका छन् । चुनाव गराउने र चुनावको लागि वातावरण बनाउने काम सरकारको नै नरहेकोले मधेसी जनताको माग पूरा गरेर चुनाव गराउन सरकारसित फेरि आग्रह गरेका छन् । मधेसी जनताको भावनाविपरीत चुनाव भएमा देशमा थप विद्रोह हुने आशंका गरेका छन्। 

चौथो पटक प्रधानमन्त्री भएका शेर बहादुर देउवालाई लक्षित गर्दै महतोले भने – तपाईँको पहिलो प्रधान मन्त्रीत्वमा एउटा गल्तीले बीसौँ हजार मानिस मारिएको र देशमा बाह्र वर्ष द्वन्द्व रहेको तथा देश नै ध्वस्त हुने अवस्थामा पुगेको चेतावनी दिँदै भने “पहिले अनुभव नहुँदा त्यस्तो भयो तर चौथो पटक प्रधानमन्त्री हुँदा फेरि देश र मधेसलाई बर्बाद गर्ने गल्ती नदोहोर्याउन आग्रह छ” । मधेसको माग नसुन्दा फेरि अनिष्ट हुने चेतावनी उनले दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका नेता उपेन्द्र यादवले आन्दोलनकारीलाई भारतीय भनेकोप्रति आक्रोशित हुँदै महतोले भने – ओलीको नयाँ संस्करण उनी बनेका छन् । मधेसी जनताको लागि फोरम  एमालेभन्दा पनि बढी खतरनाक रुपमा प्रस्तुत भएको आरोप समेत महतोले लगाएका छन् ।

उनले राजपाद्वारा जारी बन्दको दोस्रो दिन गाडी तोडफोडको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्यद्वय रामेश्वर यादव र कमलेश सिंह तथा नेता बच्चा चौबेलाई जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर महतोले भेटघाट गरेका छन् ।
 
राजपा नेपालको अध्यक्ष मन्डलका अर्का सदस्य अनिल झासमेत रौतहट आएका छन्।

 

प्रकाशित: १ असार २०७४ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App