२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तेक्वान्दो खेलाडीलाई सम्मान

काठमाडौं- अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका आइटिएफ खेलाडीलाई भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कुलले संयुक्त रूपमा सम्मान गरेका छन्।

विकास समिति र विद्या विकासले एक वर्षअघि बेलायतमा भएको आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरेका हुन्। लक्ष्मणले ब्राइटर सहरमा भएको च्याम्पियनसिपमा १८औं एडल्ट प्रतिस्पर्धामा कांस्य जितेका थिए। त्यस्तै उनले ६४ केजीको स्पाइरिङमा पनि कांस्य हासिल गरेका थिए।

 लक्ष्मणले यसअघि सन् २००४ मा मलेसियामा भएको ओपन आइटिएफ च्याम्पियनसिपमा कांस्य जितेका थिए। सस्मनले बेलायतमा भएको प्रतियोगिताको १४–१५ वर्ष उमेरसमूहअन्तर्गत कलर बेल्ट ६४ केजीमा रजत जितेका थिए। कार्यक्रममा फोटो पत्रकार रजेन्द्र केसी र तेक्वान्दो आइटिएफ नेपालका प्रशिक्षक गयाजी खड्कालाई सम्मान गरिएको थियो। उनीहरूलाई ओलम्पियन तथा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, विद्या विकास स्कुलका प्रिन्सिपल प्रदीप क्षत्री र भक्तपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिलीप केसीले सम्मान गरे।

कार्यक्रमको मुख्य अतिथि ओलम्पियन केसीले खेलाडी उत्पादन गर्न समाज र सरकारले महत्वपूर्ण भूमिका हुने बताए। 'खेलाडी उत्पादन गर्न सहज छैन। खेलकुदलाई सहयोग गर्ने अभिभावक र समाज चाहिन्छ। राज्यले पनि खेलाडीलाई सहुलियत दिए खेलकुदमा समाज र अभिभावकको चासो बढछ,' केसीले भने, 'खेलकुदमा सफलता हासिल गर्न खेलाडीको लगनशीलता आवश्यक पर्छ। स्कुलस्तरबाट खेलाडीलाई छनोट गरेर योग्य प्रशिक्षकद्वारा प्रशिक्षण गराउनुपर्छ। त्यसका लागि सरकारको सहयोग आवश्यक पर्छ।'

सम्मानित भएका लक्ष्मण बस्नेतले पदक जित्नका लागि उमेरले नछेक्ने बताए। उनले भने, 'मलाई अब खेल्न सक्दिन भन्ने लागेको थियो। तर मैले आफ्नो उमेरसमूहको प्रतियोगितामा प्रतिस्पर्धा गरें। मैले भेट्रान खेलाडीलाई पनि प्रशिक्षण गराउने गर्छु। उहाँहरूले गरेको मिहिनेत देखेर मलाई प्रतियोगितामा भाग लिन ऊर्जा मिलेको हो।'

प्रकाशित: १ असार २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App