१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकेन रोजाले, छेकेन आन्दोलनले

कलेन्द्र सेजुवाल/अर्जुन ओली

नेपालगन्ज- एकातिर मुस्लिम समुदायको पवित्र पर्व रमजान, अर्कातिर राष्ट्रिय जनता पार्टी (राजपा) को चारदिने बन्दसहितको आन्दोलन। तर, नेपालगन्जका निजामुद्दिन अन्सारीको चुनावी अभियान भने निरन्तर छ। २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनप्रतिको उनको सक्रियतालाई न त रोजाले रोकेको छ, न त आन्दोलनले नै छेकेको छ।

‘चुनावसँग मेरो राजनीतिक सम्बन्ध छ, रमजान पर्वसँग धार्मिक,' नेपालगन्ज–३ निवासी अन्सारीले भने, 'त्यसैले म राति रोजा बसेर दिनभर प्रचारप्रसारमा खटिएको छु।'

अन्सारी कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार हुन्। जीवनमा पहिलोपटक ‘रमजान सरिफ' र चुनावको रौनकताले उनलाई एकैपटक छाएको छ। रोजा बसेर प्रचारमा जुट्न असहज भए पनि दुइटैको महŒवलाई ख्याल गरेर आफू अघि बढिरहेको उनले बताए।

रमजानको एक महिनासम्म मुस्लिम समुदाय पानीसमेत नखाएर निराहार ब्रत बस्ने चलन छ। हरेक दिन बिहान साढे ३ बजे उठेर ‘सेहरी' खाने र नमाज पढिसकेपछि दिनभर ब्रत बस्ने प्रचलन छ। रमजान महिनामा वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, असक्तलाई ब्रत लिन अनिवार्य मानिदैन।

चुनावी गतिविधि र रमजानको ब्रत एकै समय पर्दा तालमेल नमिले पनि दुबैलाई सँगसँगै अघि बढाइरहेको मुस्लिम समुदायका अर्का युवक रिजवान सिद्धिकी बताउँछन्। ‘पानी पनि नपिएर हामी ब्रत बस्छौं,' उनले भने, 'तैपनि चुनावी प्रचारमा हिँडिएकै छ।' चुनाव नजिक आइसकेकाले यसलाई सफल पार्न मुस्लिम समुदाय पनि सक्रिय भएको उनले बताए।

सरकारले तोकिएको समयमा निर्वाचन गराउन मुस्लिम समुदायका लागि मतदान गर्ने विशेष व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ। ‘नेपालगन्जमा एक त चर्को गर्मी हुन्छ, त्यसमा पनि ब्रत बसेका मतदाताले लाममा उभिएर भोट हाल्न गाह्रो हुन्छ,' मेराज अहमद अन्सारीले भने, ‘धेरैभन्दा धेरै मुस्लिम मतदातालाई चुनावमा सहभागी गराउन सरकारले उचित व्यवस्था गर्नुपर्छ।'

मुस्लिम समुदायका अगुवा एवं सांसद अब्दुल हमिद सिद्धिकी (भोला) मुलुकका लागि मुस्लिम समुदाय ब्रत बसेर पनि मतदान गर्न तयार रहेको बताउँछन्।  ‘देशमा चुनावी रौनक बढिरहेको अवस्थामा रमजान महिना सुरु भएको छ, देशलाई निकास दिनका लागि हामी रोजा बसेर भए पनि मतदान गर्दैछौं,' उनले भने।

राजपाले चुनावलक्षित आन्दोलन गरे पनि यसले नेपालगन्जमा दलहरूको चुनावी गतिविधिलाई प्रभावित पार्न सकेको छैन। मंगलबार राजपा नेता ललितकुमार रौनियारले कांग्रेसका मेयर उम्मेदवार सुरेशकुमार कनौडियाको गाडीमा ढुंगा हाने। उनलाई छुटाउन स्वयं कनोडियाले प्रयास गरे पनि प्रहरीले सार्वजनिक मुद्दा लगायो। 'प्रहरीले हाम्रा साथीलाई अनाहकमा समातेर दुःख दिइरहेको छ,' राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले भने, 'तर हाम्रो आन्दोलन रोकिनेवाला छैन।'

धम्बोझीचोकमा उभिएर गुप्ताले यसो भनिरहँदा उनका सामु आन्दोलनकारीको उपस्थिति भने फिक्का देखिन्थ्यो। धम्बोझी सडकमा करिब ३०–४० जनाको संख्यामा देखिएका आन्दोलनकारीलाई छलेर सवारीसाधन आवतजावत गरिरहेका थिए। बजार पनि खुलै रह्यो। आन्दोलनकै बीचमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलहरूले घरदैलोलाई थप सशक्त बनाएका छन्।

एमाले नेपालगन्ज उपमहानगर सचिव दत्तप्रसाद आचार्य आन्दोलनका कारण चुनावी प्रचारप्रसार प्रभावित नभएको बताउँछन्। 'टोल तथा वडास्तरका पूर्वनिर्धारित कुनै पनि कार्यक्रम रोकिएका छैनन्,' उनले भने। आचार्यले भनेझैं चुनावप्रति जनताको उत्साहले आन्दोलनलाई ओझेलमा पारेको छ।

कुनै पनि बहानामा चुनाव बिथोल्न वा सार्न नहुने स्थानीय बताउँछन्। 'अबको आवश्यकता चुनावबाट राजनीतिक निकास हो,' भृकुटीनगरकी रामलीला कार्कीले भनिन्, 'चुनाव नभई शान्ति हुँदैन, त्यसैले कसैले पनि चुनावलाई रोक्ने हर्कत गर्नु हुँदैन।' सरकारले आन्दोलनरत पक्षसँग छिटो संवाद गरी समस्या समाधान गर्नुपर्ने उनले बताइन्।

 

तस्बिर :

नेपालगन्जको एकलैनीमा रोजा बसेर चुनावी प्रचारमा हिँडेका मुस्लिम समुदायका युवा।  तस्बिर :  कलेन्द/नागरिक

प्रकाशित: १ असार २०७४ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App