१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकमा अनुदान लिने भूकम्प पीडितको घुइँचो

आवास अनुदान लिनका लागि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंक अगाडि पालो पर्खेर बसिरहेका भूकम्प पीडित । तस्बिर : दमन राई

खोटाङ – खोटाङमा आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको छ । महाभूकम्प गएको दुई वर्षपछि वितरण सुरु गरिएको आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको हो । आवास अनुदान लिनका लागि गाउँ–गाउँका भूकम्प पीडित सदरमुकाम आएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित परिवारलाई सालपा विकास बैंकबाट जेठ १९ गतेदेखि र सेञ्चुरी कमर्सियल बैंकमार्फत जेठ २२ गतेदेखि निजी आवास अनुदान वापतको पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ ।

सेञ्चुरी कमर्सियल बैंकमार्फत केपीलासगढी र लामीडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई पहिलो किस्तामा ५० हजारका दरले आवास अनुदान वितरणका काम भइरहेको छ । भने, सालपा विकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान वितरणका काम भइरहेको छ । हाल दुबै बैंकको अगाडि दैनिकजसो आवास अनुदान लिने भूकम्प पीडितको भीड लागिरहेको छ । बैंकलाई आवास अनुदान वापतको रकम वितरणमा भ्याई–नभ्याई भएको छ । ढिलौ भए पनि आवास अनुदान हात पर्दा भूकम्प पीडित उत्साहित देखिएका छन् । 

सालपा र सेञ्चुरी बैंकले आफ्नो दैनिक कामलाईभन्दा आवास अनुदान वितरणका कामलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ । कार्यालयको कामलाई अतिरिक्त समय (कार्यालय समय पछि) गर्नुपर्दा बैंकको काम राती ८ बजेसम्म धकेलिएको जनाइएको छ । दुबै बैंकबाट दैनिक ८० देखि ९८ जनासम्मलाई आवास अनुदान वितरण भइरहेको छ । हालसम्म भूकम्प पीडितलाई ५० प्रतिशत बढी आवास अनुदान वितरण गरिसकेको सालपा विकास बैंकका कार्यकारी अधिकृत ईश्वरमान राईले बताए । सुरु–सुरुका दिन दैनिक २०÷२५ जनाले अनुदान रकम लिइरहेकामा आइतबार यता अनुदान लिन आउने पीडितको संख्या बढेको सालपा बैंकले जनाएको छ । आइतबार ९४ जना, सोमबार ७६ जना र मंगलबार ६० जना बढीलाई आवास अनुदान वितरण गरिएको कार्यकारी अधिकृत राईले बताए । ‘यो हाम्रो ब्याज उठाउने, ऋण लगानी गर्ने बेला हो,’ कार्यकारी अधिकृत राईले भने, ‘तर, यो राज्यबाट पाएको जिम्मेवारी र पीडितले दुई वर्षपछि पाएको राहत भएकाले आवास अनुदान वितरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’ 

सेञ्चुरी कमर्सियल बैंकले भीड व्यवस्थापनका लागि प्रत्येक वडाका भूकम्प पीडितलाई पालैपालो गरेर आवास अनुदान वितरण गरिरहेको छ । सेञ्चुरी कमर्सियल बैंकबाट पछिल्लो दिन मंगलबार ७२ जना, सोमबार ९४ जना, आइतबार ९८ जना भूकम्प पीडितले आवास अनुदान बुझेको बैंकका अपरेशन इन्चार्ज साजन तामाङले बताए । ‘हामीले ग्राहकको नियमित काम र आवास अनुदानको कामलाई सँगै गरिरहेका छौँ,’ तामाङले भने, ‘कार्यालयको अन्य काम भने अतिरिक्त समयमा पूरा गरिरहेका छौँ।’ सेञ्चुरीले कार्यालय बाहिरै कर्मचारी खटाएर एक पटकमा ४÷५ जनालाई चेक वितरणको व्यवस्था मिलाएको छ । गाविस सचिवको कमजोरीले कागजात नमिल्दा भने कतिपय भूकम्प पीडित हैरान भएका छन् । 

भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट जिल्लाका ८ हजार ४४३ भूकम्प पीडितका लागि ३३ करोड ४७ लाख ४० हजार रकम आएको जिल्ला समन्वय समितिका संयोजक एबं स्थानीय विकास अधिकारी बिसीले बताए । जिल्लामा सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक राष्ट्रिय वाणिज्य बैंक दिक्तेल, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खोटाङबजार, बैंक अफ काठमाण्डौ र ज्योती विकास बैंकको शाखा कार्यालयबाट आवास अनुदान वितरणको व्यवस्था मिलाइएको छ । बैंक अफ काठमाण्डौबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योती विकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राही तथा खोटाङबजारस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ । अन्य बैंकबाट पनि आवास अनुदान वापतको रकम वितरणको तयारी गरिएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत एवम् आवास निर्माण सम्बन्धीका फोकल पर्सन रविकिरण आचार्यले बताए । 

लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने जनाइएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । 

वैशाख १७ मै आवास निर्माणको रकम आए पनि प्राधिकरणले वितरण गर्ने बैंक छनौटमा ढिलाई गर्दा रकम वितरणमा पनि ढिलाइ भएको हो । 


 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App