१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘नक्कली नोटको कारोबार गाउँतिर’

पोखरा- सहरी भेगमा सहज नभएपछि गिरोहले ग्रामीण भेगका बासिन्दामार्फत नक्कली नोट बजारमा भिœयाउन सक्ने नेपाल राष्ट्र बैंकले आशंका गरेको छ । सहरी भेगमा वित्तीय साक्षरता बढेर पहिचान हुन थालेपछि गिरोहले ग्रामीण क्षेत्रका सर्वसाधारणमार्फत नक्कली नोट बजारमा ल्याएको हुन सक्ने बैंकको अनुमान छ ।
केही दिनदेखि म्याग्दीमा पाँच सय रुपैयाँ दरका नक्कली नोट भेटिन थालेपछि पोखराभन्दा बाहिरबाट कारोबार गरेको हुनसक्ने राष्ट्र बैंकले अनुमान गरेको हो । राष्ट्र बैंक पोखराका उपनिर्देशक बसन्त थापाले पोखरामा वित्तीय साक्षरता बढेर नक्कली नोट पहिचान हुन थालेपछि कारोबारीले जिल्लाका ग्रामीण भेगका बासिन्दामाफर्त नोट बजारमा ल्याएको हुन सक्ने बताए ।
‘पोखरामा नक्कली नोटबारे चेतना बढेको छ । अब आसपासका जिल्लामा नोट भेटिन थालेका छन् । म्याग्दीमा अहिले नक्कली नोट फेला परिरहेका छन्,’ उनले भने, ‘गिरोहले पोखरामा पहिचान हुन थालेपछि गाउँका सोझासाझ जनतामार्फत नोट बजारमा ल्याएको हुन सक्छ । त्यसका लागि अनुुसन्धान गर्नुपर्ने देखिन्छ ।’ उनका अनुसार पोखरामा पछिल्लो समय नक्कली नोट भेटिने क्रम घटेको छ । तर, बाहिरी जिल्लामा नोट बढी फेला पर्न थालेका छन् ।
राष्ट्र बैंकका अनुसार माघ १३ गतेबाट पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए । विभिन्न वित्तीय संस्थामार्फत ती नोट राष्ट्र बैंकमा संकलन भएका छन् । पछिल्लो समय एक हजार रुपैयाँ दरका नक्कली नोट समेत फेला परेको राष्ट्र बैंकले जनाएको छ । ‘अहिलेपनि दुई–तीन दिनको अन्तरमा नक्कली नोट भेटिएका छन् । ती सबै पाँच सय रुपैयाँ दरका नोट हुन्,’ उनले भने, ‘पोखरामा मात्र करिब एक सय ५० थान नक्कली नोट फेला परिसकेका छन् ।’
नक्कली नोट भिœयाउने गिरोह पत्ता लगाउन नसक्दा ग्रामीण भेगका बासिन्दा मारमा पर्न सक्ने उनले बताए । ‘कुन बाटोबाट नक्कली नोट भित्रिएको हो भन्ने यकिन गर्न सकिएको छैन । तर, भेटिने क्रम रोकिएको छैन,’ उनले भने, ‘अब पनि सक्रियता नदेखाउने हो भने त्यसले अर्थतन्त्रमै असर पार्छ ।’ गाउँका सोझासाझा जनतालाई प्रयोग गरेर गिरोहले नक्कली नोटबाट कारोबार गराएको हुनसक्ने उनले बताए । ती मध्ये केही बैंकिङ च्यानलमा समेत आइसकेको थापाको भनाइ छ ।
थापाका अनुसार बैंकिङ च्यानलमा पुग्दासमेत नोट पहिचान हुन नसक्नु दुःखद हो । ‘सर्वसाधारणले नक्कली वा सक्कली नोट भनेर खुट्याउन नसक्नु कमजोरी मानिन्न । तर, बैंकिङ च्यानलमा पुग्दासमेत पत्ता लगाउन नसके त्यो बैंकको कमजोरी हुनेछ,’ उनले भने, ‘बैंकमार्फत नोट बजारमा जाने हो । त्यही भएर अब व्यक्तिसँगै वित्तीय संस्था बढी सचेत हुनुपर्छ ।’
बैंकका अनुसार पोखरामा घ÷२०–६७९७४६ र घ÷२०–७९९७४६ सिरिजका नोट सुरुताका बजारमा भेटिएका थिए । तर, पछिल्लो समय सिरिज एउटै भए पनि गिरोहले नम्बर अगाडि पछाडि पारेर बजारमा नोट पठाएको पाइएको छ । गिरोहले नम्बरमात्र परिवर्तन गरेर नोट बजारमा फैलाएको हुनसक्ने बैंकको अनुमान छ । एक हजार रुपैयाँ दरका नोटमा भने सिरिजसहित नम्बर नै फरक–फरक रहेको भेटिएका छन् । मेसिनबाट नोट गन्ने भएकाले पनि वित्तीय संस्थाले झट्टै नक्कली नोट पहिचान गर्न नसकेको हुन सक्ने उनले बताए । ‘अब म्यानुअल्ली नोट गन्नुपर्छ । मेसिनले होइन, हातले गन्दा नक्कली नोट पहिचान गर्न सकिन्छ,’ थापाले भने ।
वित्तीय संस्थाले नोट नक्कली वा सक्कली छुट्याउन अनिवार्य रुपमा अल्ट्रा भाइलेट मेसिन राख्नुपर्ने उनले बताए ।  मेसिनले सक्कली नोट हेर्दा अंक र गर्भनरको हस्ताक्षरमा हरियो बल्छ । तर, नक्कलीमा बल्दैन । त्यस्तै नोटमा हुने सगरमाथाको तस्बिरको हिउँमा पनि मेसिनले हेर्दा हरियो बत्ती बल्छ । नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन । त्यस्तै सुरक्षाका लागि राखिने धागो नक्कली छ । सक्कली जस्तो गुणस्तरीय कागज पनि छैन ।
‘अब कुनैपनि ‘ए’ र ‘बी’ वर्गका वित्तीय संस्थाले शाखा कार्यालयमा अल्ट्रा भाइलेट मेसिन अनिवार्य राख्नुपर्ने थापाको भनाइ छ । ‘अबका दिनमा कुनै पनि बैंकबाट निकालिएको नोटको बन्डलमा नक्कली फेला पर्नु भएन । बैंकबाट निकालेकै बन्डलमा नक्कली नोट फेला परे त्यो बैंकको कमजोरी हुनेछ,’ थापाले भने, ‘सर्वसाधारणले पहिचान गर्न नसक्नुलाई छुट हुन्छ । तर, वित्तीय संस्थाले समेत पहिचान गर्न नसक्नु उसको कमजोरी ठानिन्छ ।’
ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी पोखरामा हल्लाखल्ला भएपछि नक्कली नोटका गिरोह गाउँ छिरेको हुनसक्ने बताउँछन् । ‘पोखरामा अब झुक्याउन सहज छैन । तर, गाउँमा कारोबार गर्दा झट्टै नोट पहिचान गर्न सकिन्न,’ अधिकारीले भने, ‘त्यही भएर अहिले पोखरा भन्दा बाहिर नक्कली नोट फेला पर्न थालेका हुन् ।’ बैंकले शाखा कार्यालयलाई यसबारेमा सचेत गराएको उनले बताए । ‘नक्कली नोट फेला पर्दा मार पर्ने बैंकलाई हो,’ उनले भने, ‘त्यसैले सचेत हुनैपर्छ । हामीले शाखाका कर्मचारीलाई यसबारेमा सचेत बनाएका छौं ।’


 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App