१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई पहिलो अंक

काठमाडौं– एएफसी एसिया कप २०१९ को छनोट खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ।

घरेलु मैदानमा बराबरी नतिजासँगै नेपालले समूह ‘एफ’ मा १ अंकको खाता खोलेको छ । यमन भने ४ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । एक साताअघि भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर आएको नेपालले मंगलबार गोल गर्ने थुप्रै अवसर सृजना गरेको थियो । तर नेपालले घरेलु मैदानमा गोल गरेर नेपाली समर्थकलाई खुसी दिन सकेन ।

पहिलो पटक हलचोक मैदानमा खेलेको राष्ट्रिय टोलीले सुरुदेखि पाहुना टोलीविरुद्ध दबाब बनाएको थियो। यमनको तुलनामा नेपालले विपक्षीको पोस्टमा धेरै आक्रण गरेको थियो । तर नेपालका सबै आक्रमण फितला साबित भए ।

नेपाली टोलीले मंगलबार खेलमा आफ्नो पकड राखेको थियो । सुरुदेखि यमनको पोस्टमा नेपाली खेलाडीले प्रहार गरे । पहिलो रोजाइमा खेलेका स्ट्राइकर भरत खवासले १४औं मिनेटमा यमनको पोस्टमा प्रहार गरेका थिए । एक्लो प्रयासमा भरतले गरेको प्रहार पोस्टमाथिबाट गयो । १२औं मिनेटमा नेपाली टोलीका गोलकिपर किरण चेम्जोङले यमनका स्ट्राइकर अहमद नाबिल हाजाइएले वान भर्सेस वानमा गरेको प्रहारलाई रोेके । अहमदले त्यति बेला एक्लै उत्कृष्ट ढंगले नेपाली रक्षकलाई पन्छाउँदै बल अगाडि बढाएका थिए । 

२७औं मिनेटमा अन्जन विष्टले उत्कृष्ट क्रस गरेका थिए । अन्जनको क्रसलाई भरत र सुजल श्रेष्ठले पोस्टनजिकैबाट छुन सकेनन् । ४८औं मिनेटमा सुजल श्रेष्ठको कर्नरमा अनन्त तामाङको हेड पोस्टनजिकैबाट बाहिरियो ।

६४औं मिनेटमा भरतले व्यक्तिगत प्रयासमा बल अगाडि बढाउँदै यमनको पोस्टमा प्रहार गरे । भरतको प्रहार यमनका रक्षकलाई लागेर रिबाउन्ड भयो । रिबाउन्ड बललाई पोस्टनजिकै रहेका अन्जनले प्रहार गरेका थिए । तर अन्जनको प्रहारलाई यमनका गोलकिपर मोहम्मद इब्राहिम अलीले रोके । रोहितले पनि ७६औ, ७९औ मिनेट र विशाल राईले अन्त्यतिर ८९औं मिनेटमा यमनको पोस्टमा सशक्त प्रहार गरेका थिए। तर उनीहरू पनि गोल गर्न असफल भए ।

राष्ट्रिय टोलीका प्रशिक्षक ग्याटुको कोजीले नेपालको प्रदर्शनबाट खुसी भए पनि नतिजाबाट सन्तुष्ट हुन नसकेको बताए । उनले भने, ‘नेपालको प्रदर्शनबाट म खुसी छु । हामीले डिफेन्समा राम्रो ग¥यौं । नतिजा हाम्रा लागि राम्रो होइन । घरेलु मैदानमा जित हासिल गर्नुपथ्र्याे । तर बराबरी नतिजा पनि नराम्रो होइन।’

भारतसँगको मैत्रीपूर्ण खेलले टोलीको खेलमा सुधार गर्न सहयोग गरेको कोजीले बताए । उनले भने, ‘यमन बलियो टोली हो । हामीभन्दा माथि छ फुटबलमा । खेलाडीले राम्रो खेले । तर गोल भएन । उनीहरूले रक्षात्मक  खेले । बराबरी त्यति नराम्रो नतिजा होइन । अब ताजिकिस्तानविरुद्ध राम्रो खेल्नेछौं ।’

रमजान व्रतको बेला यमन टोलीका खेलाडीले मैदानमा डटेर नेपाली खेलाडीको सामना गरे । यमन प्रशिक्षक इबराहम मेबरातोले खेलाडीलाई रमजानका कारण फिटनेसमा अप्ठ्यारो परिरहेको बताएका थिए । जित हासिल गर्न नसके पनि यमनले ४ अंक जोड्दै फाइनल चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

प्रशिक्षक मेबरातोले जित हासिल गर्ने लक्ष्य भए पनि बराबरी नतिजा पनि टोलीका लागि खुसीको कुरा भएको बताए । ‘आजको नतिजाबाट हामी समूह चरणमा बलियो भएका छौं । नतिजाबाट खुसी छैन । तर बराबरी खेल्नु पनि हाम्रा लागि फाइदाजनक हो । त्यसमा खुसी हुनुपर्छ,’ प्रशिक्षक मेबरातोले भने, ‘हामी नेपाललाई सम्मान गर्न चाहन्छौं । उनीहरूले घरेलु मैदानमा अनुशासित भएर खेले । गोल गर्ने प्रयास गरेका हौं । नेपाली गोलकिपरले राम्रो बचाउ गरे ।’

समूह चरणमा यमनले यसअघिको खेलमा ताजिकिस्तानलाई २–१ ले हराउँदै विजयी सुरुआत गरेको थियो। प्रत्येक ६ समूहको दुई शीर्ष टोलीले एसिया कप खेल्न पाउनेछ । समूहमा ताजिकिस्तानले मात्र अंक जोड्न सकेको छैन ।

छनोट चरणको पहिलो खेलमा नेपाल अवे खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । अब नेपालले छनोट चरणअन्तर्गत सेप्टेम्बर ५ मा हलचोकमै ताजकिस्तानसँग खेल्नेछ ।

फिफा वरीयतामा यमन नेपालभन्दा माथिको टोली हो । यमन १ सय २४औं र नेपाल १ सय ६९औं स्थानमा छन् । यमन र नेपालले पहिलो पटक बराबरी खेलेका हुन् । यसअघि यमनविरुद्ध राष्ट्रिय टोली र उमेरसमूह टोलीले समान १ पटक खेलेका थिए । दुवैमा नेपाल पराजित भएको थियो।

किरण म्यान अफ द म्याच

मंगलबारको खेलमा नेपाली टोलीका गोलकिपर किरण चेम्जोङले म्यान अफ द म्याचबाट पुरस्कृत भए । म्यान अफ द म्याच पाएका किरण अब राष्ट्रिय टोलीबाट ५० क्याप नजिक छन। किरणले राष्ट्रिय टोलीका लागि लामो समयसम्म गोगदान दिन पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए । उनले भने, ‘राष्ट्रिय टोलीबाट खेल्ने सबैको सपना हुन्छ ।  युवा अवस्थामै म दुई वर्षअघि अस्वस्थ भएको थिएँ । त्यति बेला अब फुटबल खेल्न सक्दिनँ कि भन्ने भएको थियो । तर फुटबलप्रेमी समर्थकको मायाले मलाई खेलमा फर्कन सहयोग ग¥यो । जहिलेसम्म खेल्छु राष्ट्रिय टोलीका लागि राम्रो नतिजा दिने प्रयास गर्छु।’ दुई वर्षअघि मलेसिया भ्रमणमा गएका बेला गोलकिपर किरणको फोक्सोमा समस्या आएको थियो।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App