१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘दबंग’ नारीका पक्षमा

–युग पाठक

घर र भवनमा के फरक छ ? भवन इन्जिनियरले डिजाइन गर्छ र मजदुरहरूले बनाउँछन् । भवनभित्र जब मान्छेको प्रेम पस्छ, स्नेह र सहजीवन पस्छ, त्यसपछि त्यो घर बन्छ । घरले स्मृतिहरू बोकेको हुन्छ । परिवारका कथा संरक्षण गर्ने ‘म्युजियम’ हो घर । तर, घर त्यति मात्र पनि होइन । घरको आफ्नै अर्थतन्त्र र राजनीति पनि हुन्छ । घरका मान्छेबीचको शक्ति सम्बन्ध, निर्णय प्रक्रिया र समाजसँग मिलाउने समीकरणको नियमले घरको राजनीति उजागर गर्छ । पुस्ता–पुस्ताबीचको संघर्ष र मिलाप मञ्चन हुने रंगमञ्च पनि हो घर ।
घरको राजनीति खासै ख्याल नगरिने तर पुरै समाजको चित्र झल्काउने राजनीति हो । अनि, महिला र पुरुषको शक्ति संघर्ष र प्रेमको कथा घरको राजनीतिको सबैभन्दा पेचिलो कथा हो । सामान्यतः पुरुषप्रधान समाजमा हरेक घरभित्रको शक्ति सम्बन्धमा पुरुषको पल्ला भारी हुन्छ । घरमूली पुरुष हुनु भनेको घरका हरेक विषयमा पुरुष नै निर्णय गर्ने ठाउँमा हुनु हो । अर्थात्, पुरुष नै शासक, पुरुष नै न्यायाधीश । काम विभाजनको राजनीति हेर्नुस्– महिलालाई घरभित्रको कामको जिम्मा, पुरुषलाई घरबाहिरको । यसको अर्थ हो, पुरुषले घरको संघारबाट बाहिर समाजसँग सम्बन्ध स्थापित गर्छ र समाजकै नेतृत्व गर्छ ।
भन्ने गरिन्छ, घर पुरुषले धानेको हुन्छ । घर धान्नुको मतलब हो, घरको अर्थतन्त्र चलाउनु । अर्थतन्त्रमा पकड हुनु नै घरको शासनमा पकड हुनु हो । जहाँ महिलालाई घरबाहिरको काममा अवसर र जिम्मेवारी प्राप्त हुँदैन, स्वाभाविकै रूपमा त्यहाँ पुरुषलाई नै शक्ति प्राप्त हुन्छ । किनभने, घरको राजनीतिको मुख्य आधार समाजमा स्थापित मान्यता नै हो र समाजमा हैसियत नभई कसैले शक्ति प्राप्त गर्न सक्दैन । घरलाई समाजसँग जोड्ने सेतु पनि जब पुरुष नै हुन्छ, महिलाको हैसियत घरको चौघेरामै सीमित हुन पुग्छ । तर, सम्पत्ति र हैसियतको यो हिसाब नगद र जिन्सी सम्पत्तिबाट मात्र आउँछ । यहाँ बिलकुलै वास्ता नगरिने कुरा हो– श्रमको मूल्य ।
परिवारका सदस्यबीचको प्रेम र सहकार्यलाई मात्र घर मान्ने हो भने घरभित्रको राजनीति यति पेचिलो नहुनुपर्ने हो । घर धान्ने जस पनि पुरुषलाई मात्र नजानुपर्ने हो । घरको प्रेमलाई पैसा र जिन्सी सम्पत्तिको दबाबले प्रभावित पनि नपार्नुपर्ने हो । यथार्थ र आदर्शबीचको भिन्नता हरेक घरको कथा हो । किनभने, पाल्सी कुरामा त घर प्रेम र सहकार्यले नै बन्छ, तर यथार्थमा घर पनि शक्ति सम्बन्धले बन्छ । यो शक्ति सम्बन्धमा नगद र जिन्सी सम्पत्तिको मूल्य बलियो छ तर श्रमको मूल्य कमजोर छ ।
घर यथार्थमा कसले धानेको हुन्छ त ? चल्तीको दृष्टिकोणमा घर त पुरुषले नै धानेको हुन्छ । पैतृक सम्पत्तिको आधार पनि पुरुषकै नाम वा नियन्त्रणमा हुन्छ । घरबाहिर काम गरेर पैसा कमाउने काम पनि मूलतः पुरुषकै जिम्मा र हैसियतमा पर्छ । अब आममहिलाले गर्ने दैनिक श्रमको दृष्टिबाट यही कुरालाई हेरौँ । भान्सा र करेसाबारी मात्र होइन, खेतीपातीको मुख्य हिस्सा महिलाहरूकै श्रममा भर पर्छ । कृषि उत्पादनमा त महिलाको ठूलो योगदान छँदैछ, कुटिर उद्योग, हस्तकला आदिमा पनि महिलाकै वर्चस्व छ । घरको सम्पूर्ण दैनिक जीवन व्यवहार, पकाउने तुल्याउनेदेखि केटाकेटीको स्याहारसुसारसम्मको कामलाई पैसाको मूल्यमा हिसाब गर्ने हो भने घरको कति हिस्सा त्यसले ओगट्ला ? पुरुषले गर्ने घरबाहिरको काम तथा सामाजिक भूमिकालाई महिलाको श्रम र घरेलु योगदानले कतिसम्म सम्भव तुल्याइदिएको हुन्छ, त्यसको हिसाब राख्ने गरिएको छैन ।
नेपालको सन्दर्भमा हिन्दू र गैरहिन्दू समाजमा महिला–पुरुषको सम्बन्धमा केही भिन्नता पाइन्छ । आदिवासी जनजाति समाजमा नारीको सांस्कृतिक र सामाजिक हैसियत पुरुष बराबर हुन्छ, अझ कैयौँ प्रसंगमा नारीहरू स्वायत्त र शक्तिशाली पनि हुन्छन् । हिन्दू नारीले जस्तो अनेकन बन्धन र व्यवधान खेप्नुपर्ने बाध्यता आज पनि आदिवासी, जनजाति नारीलाई छैन । हिन्दू समाजमा बिहे गर्दा छोरीलाई कन्यादान गरेर ज्वाइँको अधीनमा सुम्पने चलन छ । यही एउटा मान्यताले महिलालाई पुरुषको अधीनस्थ तुल्याएको प्रमाण दिन्छ । जहाँ छोरालाई मात्र वंशको उत्तराधिकारी मानिन्छ र छोरीलाई सन्तान उत्पादन गर्ने तर सन्तानमा हक नलाग्ने निमित्त मानव ठानिन्छ, त्यहाँ महिलाको सामाजिक र पारिवारिक हैसियत के होला, सहजै अनुमान गर्न सकिन्छ । महिनावारी होस् वा सुत्केरी, महिलाले उठाउने प्राकृतिक जिम्मेवारीलाई नै अछूतजस्तो व्यवहार गर्ने हिन्दू सामाजिक–सांस्कृतिक व्यवस्थाले सिंगो समाजलाई उन्नत र प्रगतिशील सभ्यतातिर जान दिएन ।

घरको सम्पूर्ण दैनिक जीवन व्यवहार, पकाउने तुल्याउनेदेखि केटाकेटीको स्याहारसुसारसम्मको कामलाई पैसाको मूल्यमा हिसाब गर्ने हो भने घरको कति हिस्सा त्यसले ओगट्ला ? पुरुषले गर्ने घरबाहिरको काम तथा सामाजिक भूमिकालाई महिलाको श्रम र घरेलु योगदानले कतिसम्म सम्भव तुल्याइदिएको हुन्छ, त्यसको हिसाब राख्ने गरिएको छैन ।


पृथ्वीनारायण शाहले संस्थागत गरेको नेपालको आधुनिक राज्यसत्ताले सामाजिक, सांस्कृतिक, न्यायिक र राजनीतिक व्यवस्थाको आधार नै हिन्दू मान्यतालाई बनायो । जंगबहादुरले जारी गरेको मुलुकी ऐन हिन्दू सामाजिक, सांस्कृतिक मान्यतालाई नै राज्यसत्ताको कानुनी आधारका रूपमा संस्थागत गर्ने महŒवपूर्ण दस्तावेज थियो । २००७ सालमा राणाशासन अन्त्य हुँदासम्म नेपालका राजनीतिक, सामाजिक, सांस्कृतिक र कानुनी संरचनामा आधुनिक अवधारणाहरूले प्रवेश पाएकै थिएनन् । दुई शताब्दीसम्म पेलिएको हिन्दू मान्यताले आदिवासी जनजातिमा समेत पुरुषप्रधान मान्यताहरू प्रवेश गरायो । पैतृक सम्पत्ति पुरुषको नाममा हुने लगायतका कानुनी व्यवस्थाले आदिवासी जनजाति समाजलाई समेत प्रभावित गर्नु स्वाभाविक थियो ।
मुख्यतः लाहुरे संस्कृतिले पहिलोपटक नारी–पुरुष सम्बन्धमा परिवर्तन ल्याउन थाल्यो । सुगौली सन्धिदेखि नै सुरु भएको गोर्खा भर्तीले खास गरी मध्यपहाडी जनजाति समाजलाई व्यापक प्रभावित गरेको थियो । सुरुमा पश्चिमका गुरुङ, मगर र पछि पूर्वका राई, लिम्बूलाई अंग्रेजहरूले ‘मार्सल रेस’ (लडाकु जाति) का रूपमा परिभाषित गरेका थिए । पहिलो र दोस्रो विश्वयुद्धमा यिनै समुदायका युवाहरूको ठूलो जनसंख्या संसारका विभिन्न कुनामा चलेको युद्धमा पुग्यो । यी दुवै युद्धको अवधिमा नेपालको अर्थतन्त्रमै ठूलो संकट आउने गरी कृषि उत्पादन घटेको थियो । श्रमशक्तिको अभावले समाज नै एकातिर संकटमा थियो, अर्कोतिर घरको प्राण जोगाउने जिम्मेवारी महिलाहरूले उठाइरहेका थिए ।
सैनिक रोजगारीका अलावा पछिल्लो तीन दशकमा अन्य वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली युवाको जनसंख्या ५० लाखभन्दा ठूलो छ । लगभग त्यत्तिकै संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका छन् । यति ठूलो जनसंख्या विदेशिँदा अर्थतन्त्र र समाज व्यवस्थामा पर्ने प्रभाव सामान्य मात्र हुन सक्दैन । घरबाहिरको काम पुरुषले गर्ने समाज व्यवस्थाअनुरूप नै व्यापक ठूलो संख्यामा पुरुष र आजकल उल्लेख्य संख्यामा महिलाहरू पनि विदेशी श्रमबजारमा पुगेका छन् । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र नै धानिएको तथ्य आजको नेपालमा अकाट्य तथ्य भइसकेको छ । वैदेशिक रोजगारी र रेमिट्यान्सको प्रवाहले नारी–पुरुष सम्बन्धमा पनि नयाँ आयाम थपिसकेको तथ्यलाई पनि यहाँ बिर्सन मिल्दैन ।
वैदेशिक रोजगारी र रेमिट्यान्सको प्रवाह नेपालका लागि कुनै नयाँ कुरा होइन । पछिल्लो तीन दशकको नयाँ तथ्य चाहिँ के हो भने वैदेशिक रोजगारी र रेमिट्यान्सको प्रवाहमा पहाडी बाहुन–क्षत्री र मधेशी हिन्दू समाज व्यवस्थाका मानिसहरू पनि हेलिएका छन् । सैनिक रोजगारीमा विदेशिने परम्पराले आदिवासी, जनजाति समाजमा ल्याएको उथलपुथललाई ती समाजले उदार सामाजिक र सांस्कृतिक मान्यतामार्फत व्यवस्थापन गर्न सिकिसकेका छन् । साथै, आर्थिक संकट र रेमिट्यान्सको प्रवाहलाई व्यवस्थापन गर्न पनि ती समाज सक्षम छन् । तर, हिन्दू सामाजिक, सांस्कृतिक व्यवस्थामा हुर्केका समाजलाई भने अहिलेको संकट व्यवस्थापन गर्न कठिन भइरहेको छ । अनुदार सामाजिक, सांस्कृतिक व्यवस्थालाई बदल्ने र रेमिट्यान्सको पैसालाई व्यवस्थापन गर्ने मामलामा यी समुदाय सिकारु नै छन् । यद्यपि, यिनै समाजले उदार सामाजिक, सांस्कृतिक मान्यतातर्फ चालिरहेको पाइला प्रसंशायोग्य छँदैछ ।
नारी–पुरुषका बीचको परम्परागत असमान सम्बन्धलाई बदल्ने प्रसवमा अहिले नेपाली समाजका विभिन्न हिस्साले भिन्न–भिन्न प्रकारले संघर्ष गरिरहेका छन् । त्यसैले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको छ । वैदेशिक रोजगारीमा नभएकै परिवारमा पनि नारीहरू पुरुषको स्वेच्छाचारी र दमनकारी शासन स्विकार्न नसक्ने भएका छन् । वैदेशिक रोजगारी र रेमिट्यान्सको प्रवाहका अतिरिक्त विभिन्न राजनीतिक, सामाजिक आन्दोलनले ल्याएका परिवर्तनहरू पनि यहाँ उल्लेख्य छन् । अहिले पुरुषको साँघुरो दायरामा खुम्चेर, आफूलाई पुरुषको ‘सहयोगी वा स्वास्नी’का रूपमा सीमित गर्न नचाहने नारीको संख्या पनि ह्वात्तै बढेको छ । त्यसैले सम्बन्ध विच्छेद गर्ने र स्वतन्त्रतापूर्वक आफ्नो र परिवारको जिम्मेवारी निर्वाह गर्ने ‘दबंग’ महिलाहरू शहरगाउँमा प्रशस्तै देख्न पाइन्छ । उनीहरूले नारी–पुरुषको परम्परागत सम्बन्ध मात्र भत्काइरहेका छैनन्, सामाजिक र वैयक्तिक जीवनका असहज गाँठाहरू फुकाउँदै समाजलाई स्वस्थ, सिर्जनशील र मेहनती बन्न पनि प्रेरित गरिरहेका छन् । यौनको मापदण्डमा मात्र जोखिने नैतिकतालाई मेहनत र सिर्जनशिलताले जोख्ने नयाँ व्याकरण उनीहरूले नै बनाइरहेका छन् ।

अहिले पुरुषको साँघुरो दायरामा खुम्चेर, आफूलाई पुरुषको ‘सहयोगी वा स्वास्नी’का रूपमा सीमित गर्न नचाहने नारीको संख्या पनि ह्वात्तै बढेको छ । त्यसैले सम्बन्ध विच्छेद गर्ने र स्वतन्त्रतापूर्वक आफ्नो र परिवारको जिम्मेवारी निर्वाह गर्ने ‘दबंग’ महिलाहरू शहरगाउँमा प्रशस्तै देख्न पाइन्छ ।

के ‘दबंग’ नारीहरूले परनिर्भरता र बन्धन मात्र तोडेका हुन् ? कुरा यति सीमित पनि छैन । जोखिम उठाएर जीवनलाई नयाँ दिशा र गति दिने यस्ता महिलाले मेहनत र सिर्जनशीलताको उदाहरण पनि देखाएका छन् । उनीहरूले आफ्नो क्षमता अनुसारका रोजगारी गरेका छन्, कैयौँले रोजगारी आफैँ सिर्जना गरेका छन् र आफू, आफ्ना बालबच्चा र परिवारसमेत चलाएर देखाइदिएका छन् । समाजमा उनीहरूले जन्माइरहेको उदार, स्वतन्त्र र सिर्जनशील मान्यता र सामाजिक व्यवस्थालाई सलाम गर्नैपर्छ ।

yugnew@gmail.com

 

प्रकाशित: ३० जेष्ठ २०७४ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App