१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चिनियाँ राष्ट्रपतिसँग भेट्दै फिफा अध्यक्ष

बेइजिङ- विश्वकप आयोजनाका साथै कुनै दिन उपाधिसमेत जित्ने महत्वाकांक्षी लक्ष्य लिएको चीनका राष्ट्रपति सी जिङपिङले बुधबार फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई भेट्ने भएका छन्। सीले विश्व फुटबलको सर्वाेच्च संस्था फिफाका अध्यक्ष इनफान्टिनोलाई ‘ग्रेट हल अफ दि पिपुल’ मा भेट दिन लागेका हुन्।

‘हामी फिफासहित अन्य अन्तर्राष्ट्रिय संस्था तथा राष्ट्रहरूसँग प्रगाढ सम्बन्ध स्थापना गर्न चाहन्छांै,’ चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘चीनले विश्वकप आयोजना गर्न सक्छ वा सक्दैन? यो धेरै चाइनिज जनताले देख्दै आएको सपना र अन्य धेरै मानिसको चासोको विषय हो। हामी छिटोभन्दा छिटो विश्वकप आयोजना गर्नेमा आशावादी छौं।’

उक्त भेटघाटमा विश्वकप आयोजनाका लागि महात्वाकांक्षी योजना लिएको चीनले सन् २०३० वा २०३४ को प्रतियोगिता आयोजनाका लागि योजना प्रस्तुत गर्ने बताइएको छ।

सी विश्व फुटबलको महाकुम्भ आयोजना गर्ने र एक दिन चीनले विश्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा लिइएको विश्वकपको उपाधि जित्नेमा आशावादी देखिएका छन्।

तर बेनिन र फारो आइल्यान्डभन्दा पछि रहँदै फिफा विश्ववरीयताको ८२औं स्थानमा रहेको चीन अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट चरणबाटै बाहिरिने निश्चितजस्तै भइसकेको छ। एसियाली छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको चीन ७ खेलमा मात्र ५ अंक जोड्दै पाँचौं स्थानमा सीमित छ।

अहिले सम्म चीनले एक पटक मात्र विश्वकपमा सहभागीता जनाएको छ। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा चीन छनोट भएको थियो। उक्त विश्वकपको समूह चरणका तीनवटै खेलमा पराजित भएको चीनले प्रतियोगितामा गोलको खाता समेत खोल्न सकेको थिएन।

एसियाली फुटबल महासंघ (एएफसी) को अर्को सदस्य कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने भएकाले चीनले सन् २०२६ को विश्वकप आयोजनाका लागि दाबी गर्न मिल्दैन।

चाइनिज फुटबल संघका उपाध्यक्ष जाङ जियानले गत वर्ष सन् २०३० को विश्वकप आयोजनाका लागि दाबी गर्ने बताएका थिए।

विश्वकप आयोजनाको दाबी थप मजबुत पार्न चीनका तीन ठूला कम्पनीहरूले एक वर्षको अन्तरमा फिफासँग प्रायोजन सम्झौता गरेका थिए।

तर युरोपेली फुटबलको सर्वोच्च संस्था युइएफएले सन् २०३० को विश्वकप आयोजनाका लागि इच्छा देखाएपछि  चीनको दाबी केही कमजोर हुने देखिएको छ।

यसले गर्दा पनि सन् २०३४ को विश्वकप आयोजनाका लागि गर्ने दाबी नै चीनको एक मात्र आशा हो।

‘चीनले विश्वकप आयोजना गर्न सक्छ वा सक्दैन? यो धेरै चाइनिज जनताले देख्दै आएको सपना र अन्य धेरै मानिसको चासोको विषय हो। हामी छिटोभन्दा छिटो विश्वकप आयोजना गर्नेमा आशावादी छौं।’

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App