१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

बर्दिया- ठूलो दल नेपाली कांग्रेस, एमाले र माओवादीले प्रचारप्रसार तिब्र पारेपछि यहाँको चुनावी सरगर्मी बढेको छ। चर्को गर्मीको प्रवाह नगरी यी दलले पहिलो चरणको घरदैलो समेत सकिसकेका छन्। सबै निर्वाचन क्षेत्रमा यसअघि भएका चुनावमा तीनै दलको कडा प्रतिस्पर्धा भएका कारण चुनावी परिणाम कुन पार्टीको पोल्टामा जान्छ भन्ने छुटाउन भने गाह्रो छ। यी निर्वाचन क्षेत्रमा पालैपालो तीनवटै ठूला दलले जितेका छन्। २०५१ सालमा भएको चुनावमा तीनवटा क्षेत्र एमालेले जितेको थियो। यिनै निर्वाचन क्षेत्रवाट २०५६ मा तीनवटा क्षेत्रमा कांग्रेस विजयी भएको थियो। यसैगरी २०६४ भएको पहिलो संबिधान सभाको चुनावमा चारवटै क्षेत्र माओवादीले जितेको थियो। २०७० सालको दोस्रो संबिधान सभा निर्वाचनमा कांग्रेसले एक, एमालेले एक र माओवादीले दुईवटा निर्वाचन क्षेत्र जितेको थियो। २०४९ को स्थानीय निर्वाचनमा कांग्रेस अघि थियो भने २०५४ निर्वाचनमा एमाले अघि भयो। आसन्न स्थानीय चुनावी आंकलन  गर्नेहरू स्थानीय चुुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताउँछन्। चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रेका उम्मेदवार समेत आफ्नो जितमा ढुक्क देखिदैनन्।

गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले मुक्तिनाथ यादव, एमालेले पूर्व उपमेयर तथा पार्टीका अध्यक्ष हरि ज्ञवाली र माओवादीले यूवा गेहेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसका यादव पार्टीको सैद्दान्तिक र मधेशी समुदायको लोकप्रिय नेता भएकाले आफूले जित्ने दाबी गर्छन्। 'तर प्रतिस्पर्धा एमाले र माओवादी नै हो,' उनले भने, 'यूवा नेता र समुदायको प्यारो पनि म छु, पल्ला मेरो भारी छ,' नगरका १२ वडामा घरदैलो गरिसकेका एमालेका उम्मेदवार ज्ञवाली आफ्नो जित सुनिश्चित रहेको दावी गरे। 'यसअघि पनि मतदाताको मलाई जिताएकै हुन्,' उनले भने, 'स्थानीय निकायको मेरो सफल नेतृत्व मतदाताले महसुस गरेका छन्।' 

यस्तै माओवादीको गेहेन्द्र ढकालले संबिधान सभाको चुनाव यहि क्षेत्रबाट अत्याधिक भोट खसेको आधारमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। 'चुनावी मैदानमा मेरो नयाँ अनुहार पनि हो,' उनले भने, 'विकासका पक्षमा रहेका जनताको नयाँ अनुहार र युवामा मतदाताको आर्कषण छ।'

सदरमुकाम गुलरियामा त्रिपक्षीय भिडन्त हुने अड्कलवाजी  सदरमुकामबासी गर्छन्। दोस्रो निर्वाचनमा एमाले र माओवादी थोरै मतको फरकमा कांग्रेसले जितेको थियो। अघिल्ला चुनावको चुनावी परिणामलाई आधार मान्ने हो भने पार्टीमा खुल्न नसकेका मत निर्णायक देखिएको स्थानीय मतदाताको भनाइ छ। गुलरिया, मधुवन, बासगढी, बारबर्दिया, ठाकुरवावा र राजापुर र दुई गाउँपालिका सोरहवा र गेरुवामा गरी यहाँ २ लाख ५४ हजार ६ सय ४५ मतदाता छन्।

गुलरिया बाहेका अन्य नगरपालिका र गाउँपालिकामा थारू समुदायको वाहुल्यता छ। तीनै दलले थारू मतदातालाई आर्कषण गर्न थारू उम्मेदवारको छनोट गरेका छन्। माओवादीले पकड क्षेत्र मानिएको गेरुवा र राजापुरमा थारू उम्मेदवार उठाएर जित्ने रणनीति बनाएको छ। कांग्रेसले राजापुर बासगढीमा र गेरुवा गाउँपालिकामा भनेे पहाडी समुदाय उम्मेदवार बनाएको छ। विवाद बढेपछि कांग्रेसले भने मधुवन र ठाकुरवावामा उम्मेदवार छनोट गर्न सकेको छैन। राजापुर क्षेत्र माओवादी पकड क्षेत्र मानिए पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन्। संबिधान सभामा कमजोर ठानेको एमालेले राजापुर र गेरुवा  पछिल्लो समय संगठन बलियो भएको दाबी गरेको छ।

मधेशी मतदाता पनि उत्साहित

पश्चिम नेपालमा आन्दोलनरत थरूहट र नेपाल लोकतान्त्रिक फोरम चुनावी मैदानमा उत्रेपछि थारू, मधेशी र मुस्लिम समुदाय उत्साहित देखिएका छन्। २० वर्षपछि हुने निर्वाचनमा थरूहट र नेपाल लोकतान्त्रिक फोरम नेतृत्व पनि स्थानीय निकायको निर्वाचन तयारीमा जुटेकाले थारू, मधेशी र मुस्लिम समुदायमा चुनावी उत्साह बढेको हो।

५१ प्रतिशत थारू समुदायको बसोबास रहेको जिल्लामा थरूहट आन्दोलनमा लागेका नेतृत्व पनि निर्वाचनमा तयारीमा जुटेकाले थारू मतदातालाई निर्वाचनले आकर्षित गरेको छ।

शान्ति र विकासका लागि निर्वाचन अनिवार्य भएकोले जिल्लामा ६ नगरपालिका र २ गाँउपालिकाका लागि उम्मेदवार टुगों लगाएको थारू कल्याणकारी सभाका अध्यक्ष गोविन्द चौधरीले बताए। 'उम्मेदवारको छनोटपछि कार्यकर्ता प्रचार प्रसारमा लागेका छन््,' उनले भने। थारू समुदाय जस्तै गुलरिया नगर क्षेत्रका मधेशी र मुश्लिम समुदायका मतदाता र अगुवा निर्वाचनमा सहभागि हुन आतुर छन्।

निर्वाचन भन्दै दलहरूले झुक्काएर विकास निर्माणमा देश नै पछि परेको भन्दै असल नेतृत्वको छनोट गर्न आतुर रहेको गुलरियाका नेपाल लोकतान्त्रिक फोरम सहसचिव समिम राईनले वताए। 'चुनाव नहुँदा देश अनिर्णयको बन्दी भएकाले जनताले निर्वाचन चाहेका छन्।' उनले नागरिकसँग भने, 'मुश्लिम समुदायको महान पर्व रमजान बेला पनि भोकभाकै मुश्लिम कार्यकर्ता प्रचार प्रसार खटिएका छन्।' सदरमुकाम गुलरिया नगरपालिका भित्र रहेको दक्षिणी भेग मथुराहरद्धार, खैरापुर, कट्टि मधेशी र मुश्लिम समुदायको बस्ती हो।

निम्न आय र शिक्षामा निकै पछि परेको यस क्षेत्रमा मधेशी मूलका दलित किसानको बाहुल्यता छ। यसैगरी खैरापुर र गुलरिया यादव समूदायको बाक्लो बस्ती भएपनि जनप्रतिनिधि बिहिन अवस्थामा विकास ढोका खुल्न नसकेको मतदाताको  बुझाइ छ।

मुक्तकमैया र सुकुम्बासी भोट निर्णायक

जिल्लाका ३० वटा फाँटामा भन्दा बढी मुक्तकमैया र सुकुम्बासीको भोट निर्णायक हुने देखिन्छ। भुमीसुधारको तथ्यांकमा रहेका ३० हजार हाराहारी भोट मुक्तकमैया र सुकुम्बासीको छ। नगरपालिका र गाउँपालिकामा मुक्त कमैया र सुकुम्बासीको मत निर्णायक हुने मुक्तकमैया जैनपुरका अगुवा हरिराम चौधरीले वताए। 'हामी कुनै पार्टीका होइनौं,' उनले  भने, 'अहिलेसम्म सबैलाई जितायौँ, हाम्रो समस्या कहिल्यै देखेनन्।' आधारभूत आवश्यक्ता सम्बोधन गर्नेलाई भोट दिने उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App