१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एउटा प्रेमको लयभंग


ठाकुर बेल्बासे

एउटा प्रेमको लयभंग
गुलाफका पत्रपत्रमा
मेरा आँखा, ओठ , मन, स्पर्श
अनि मेरो मुटु राखेर
तिमीलाई समर्पण गर्दै
भनेको थिएँ– यसलाई तिम्रो मुटुमा राख्यौ भने
म कहिल्यै ओइलाउने छैन
तिमी मुस्कुरायौमात्र
मैले तिम्रो त्यही मुस्कानको
संसार ढाक्ने आकाश बनाएर
जून बनी उदाउने प्रयास गरिरहेँ

वर्षहरू बित्दै गए
मैले टिपेको गुलाफको बोट पनि सुक्दै गयो
मेलबक्स वा एक्लिँदै गएको पत्रमञ्जुषामा
तिम्रो कुनै सुगन्ध आएन
तिम्रो मुस्कानको स्मृतिदंशले
म बिस्तारै बेवारिसे बन्दै गएँ

न तिम्रो ठेगाना पत्तो पाउन सकेँ
न अर्को गुलाफको बोट नै भेट्न सकेँ

औँशीको अँध्यारोले ढाकेको
एक साँझ अचानक मैले
तिमीलाई दिएको उही गुलाफको फूल भेटेँ
जसबाट तिमीले मेरा आँखा
सदाका लागि झिकेकी रहिछौ
मेरो ओठ आफैले राखिछौ
मेरो स्पर्श अनि मुटु पनि लगिछौ
बदलामा गुलाफका पत्रपत्रमा
तिम्रो अनुहार भरेर फ्याँकेकी रहिछौ
कहिल्यै नउघ्रने आँखा
कहिल्यै नहाँस्ने ओठ
अनि कहिल्यै नचल्ने मुटुले तिम्रो तस्बिर छोपेर
म निदाउँछु अब चिर निद्रा
एउटा प्रेमको लयभंग गर्दै ।


मतदान
 
म यहीँ छु
जहाँ तिमीले चुनावका लागि
पहिलो पटक मलाई भेटेका थियौ  

खोलाको पानी बिस्तारै सुक्दैछ
आफैले चाहेर त खोला पनि
उर्लन सक्दो रहेनछ
सुक्दै गएपछि
सम्भावनाका मूलहरू
रसाउन छोडेपछि माटो
के लाग्दो रहेछ र खोलाको ?
खोलाकै नियति मैले पनि भोगेको छु

तिमी आउँदा
घरजस्तै ठूलो ढुंगाको ओत लागेर
बालुवा चालिरहेको थिएँ

अलि पर थिएँ
बालिग नभइसकेका मेरा छोराछोरी
तिमी आयौ–गयौ
उनीहरूले ढुंगा कुटिरहेका थिए
तिमीलाई
उनीहरूका बुढीऔँलाको कुनै चासो रहेन

घरिघरि तिम्रो सम्झना
बालुवाको भुमरीजस्तो भएर आउँछ–
‘आमा ! दुःखका दिन
चुनावपछि
हावाले उडाएको सुकेको पातजस्तो
तपाईंको आफ्नो जीवनबाट हराउनेछ
स्मृतिमा पनि हुने छैनन् कष्ट
म आएको छु चुनाव बोकेर’
मैले यही बगरको बालुवामा उभिएर देखेको थिएँ
रंगीन सपना
अनि बुढीऔँलाको छाप लगाइदिएको थिएँ
तिम्रो निधारमा

ढुंगा कुटी बस्ने छोरी
यही खोलामा
नाच्दै आएको वर्षाको भेलसँगै गई
छोरा अन्तिम सासको पर्खाइमा छ
यही बगरका ढुंगाका कणहरूले
उसको कलेजो भरियो

संसद्मा चल्ले हाँसोको हुरी
र, यो खोलामा उर्लिने आँसुको भेल
म यसबेला यी दुवैबाट पिटिएको छु

ओत लाग्ने गरेको
घरजस्तो त्यो ढुंगा
फोडिदिएँ मैले
राजधानीतिरैबाट आयो इन्जिनियर अनि साहू
ढलानका लागि मजबुत ठहरियो ढुंगा
अनि मैले फोडेँ

मन दुख्दा
हातगोडा गल्दा
दिनले काम नभ्याउँदा
त्यही ढुंगाको घरको भर थियो
फुटाउनु थियो जो ढुंगा
ढुंगासँगै फुटाइदिएँ आफ्नो दाहिने आँखा पनि

तिमीले मलाई
नियाल्दै बगर झर्नु पर्दैन अब
राजमार्गबाटै चिच्याऊ– मैले सुन्नेछु
फरक यत्ति हो
एउटा आँखा गिटीसँगै
राजधानीको कुनै महल ढलानमा गयो
एउटा आँखामा
बालुवाको बादलले
सपनाका अँध्यारा ताराहरू उमारिरहेछ

तिमी चिच्याउनु
म तिमीलाई परैबाट सुन्नेछु
तिम्रो आवाजमा मेरो देश कैद छ
तिम्रो बोली टाढैबाट चिन्नेछु

अझै एक भोट मसँग सुरक्षित छ
अर्को चुनावसम्म
यो देशले मलाई बाँच्न दिने छैन

तिमीले पहिलो पटक भेटेको
उही नदीकिनारामै छु ।


सहरका मान्छे
मान्छेको भीडमा
सधैँ एक्लै
जंगलबाट बस्ती पसेको चितुवाजस्तो
सहरमा मान्छे
आफैले आफैलाई लखेटिरहेको हुन्छ

घामका किरणजस्ता तीव्र गतिका
आकांक्षा र तनावहरूको
कोर्रा सहेर
आकाशबाट खस्दै गरेको ताराजस्तो
सहरमा मान्छे
कतिबेला मान्छेबाट पशु बन्छ
पशुबाट मान्छे
उसैलाई थाहा हुँदैन

सहरका मान्छेमा
मुटु हुन्छ
तर, दुख्दैन
आँखा पनि हुन्छन्
घाउचोट पीडा देख्दैनन्
ओठ भएका मान्छे पनि हुन्छन्
तर, हाँस्दैनन्
अँ,
समयसमयमा डाक्टरले सफा गरिदिएका
दुईवटा कान पनि हुन्छन्
सहरका मान्छेमा
आफ्नो प्रशंसाबाहेक केही सुन्दैनन्
चित्कारले आनन्द दिन्छ
उनीहरूलाई

सहरका मान्छेसँग
बलिष्ट हात हुन्छन्
लडेकालाई उठाउन होइन
थपडी बजाउन
फलामजस्ता खुट्टा पनि हुन्छन्
बाटो बिराएकालाई सघाउन होइन
ओरालो झर्दै गरेकालाई लखेट्न

नाक पनि हुन्छ
सहरका मान्छेको अनुहारमा
तर, हत्तपत्त देखिँदैन
लाज लुकाउन
नाक सधैँ छोपिएकै हुन्छ
सहरका मान्छेमा ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App