१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बल्ल ६ प्रतिशतलाई ५० हजार

काठमाडौं-गत वर्षको विनाशकारी भूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोकमा झन्डै ४ हजारको ज्यान गयो। ७८ हजारभन्दा बढी घरधुरी ध्वस्त भए। सरकारले उक्त जिल्लाका ५७ दशमलव ९४ प्रतिशत पीडितसँग निजी आवास बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ।

तर, १५ महिना बितिसक्दा बर्खे भेलसँगै टहरोमा बास बसिरहेका सिन्धुबासीमध्ये हालसम्म मुस्किलले ४ दशमलव ३७ प्रतिशतले मात्र पहिलो किस्ता रकम पाएका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार जिल्लाका ३ हजार ४ सय ३५ घरधुरीले ५० हजार रुपैयाँ पाएका हुन् । जबकि उक्त जिल्लाका ७८ हजार ५ सय ३७ घरधुरीले उक्त रकम पाउनुपथ्र्यो । सरकारले जिल्लाका ४५ हजार ५ सय ७ जनासँग सम्झौता भने गरिसकेको छ ।

मकवानपुरका पीडितको अवस्था अझ नाजुक छ । सरकारले त्यहाँका शून्य दशमलव २२ प्रतिशत पीडितलाई मात्र पहिलो किस्ताको रकम उपलब्ध गराएको छ । जिल्लाका ३० हजार २ सय ३८ घरमा क्षति पुगेको छ । अहिले ६९ जनाले मात्र ५० हजार रुपैयाँ पाएका छन् ।

यी दुई मात्र होइन, अन्य जिल्लामा सरकारको काम निकै सुस्त छ । यसै कारण पीडित परिवार लगातार दोस्रो वर्ष टहरामै झरी काट्न बाध्य छन् । सरकारले अति प्रभावित १४ जिल्लामध्ये उपत्यकाका तीन जिल्लामा घरधुरी सर्वेक्षणसमेत गर्न सकेको छैन । सर्वेक्षण भएका बाँकी ११ जिल्लामा पनि मुस्किलले ६ दशमलव ६१ प्रतिशत पीडितलाई मात्र पहिलो किस्ताबापत ५० हजार रुपैयाँ उपलब्ध गराउन सकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार देशभरका ५ लाख ३३ हजार १ सय ५५ घरधुरीका पीडितले निजी आवास बनाउन सरकारबाट २ लाख रुपैयाँ सहयोग पाउनेछन् । उक्त रकम तीन किस्तामा उपलब्ध गराउने सरकारी योजना छ ।

प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पीडित परिवारलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन सुरु गरेको हो । गत जेठ १७ गते पीडित परिवारलाई स्थानीय स्तरमै रकम उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबीच सम्झौतासमेत भएको थियो । बैंक तथा वित्तीय संस्थासँग सम्झौतापछि प्राधिकरणले असारभित्र सबै पीडितसँग सम्झौता गरिसक्ने र साउन मसान्तभित्र सबैलाई पहिलो किस्ताको रकम वितरण भइसक्ने जनाएको थियो । तर, हालसम्म ३५ हजार २ सय ९२ जनाले मात्र पहिलो किस्ता पाएका छन् । यो कुल पीडित संख्या ५ लाख ३३ हजार १ सय ५५ को ६.६१ प्रतिशत मात्र हुन आउँछ ।

पहिलो किस्ताको रकम पाउनेमा सबैभन्दा बढी गोरखाका २३ दशमलव १७ प्रतिशत छन् । त्यहाँ ५८ हजार ५ सय ३ घरधुरी अनुदान रकम पाउन योग्य रकम ठहरिएकामा १३ हजार ५ सय ५७ ले पहिलो किस्ता बुझिसकेका हुन् । गोरखापछि दोलखाका १७ दशमलव ०३ प्रतिशतले रकम पाएका छन् । दोलखाका ५१ हजार ७ सय ४९ मध्ये ८ हजार ८ सय १४ ले पहिलो किस्ता पाएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा कम रकम पाउनेमा मकवानपुरपछि काभ्रे जिल्ला पर्छ । त्यहाँ१.१५ प्रतिशत अर्थात् ७ सय ८४ जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन् । काभ्रेमा ६७ हजार ६ सय ५९ ले अनुदान रकम पाउने प्राधिकरणको तथ्यांक रहेकामा हालसम्म १५ हजार ७ सय ७१ जनासँग सम्झौता भएको छ ।

 प्राधिकरणले दसैं अगाडिसम्म सबैलाई पहिलो किस्ताको रकम वितरण गर्ने लक्ष्य लिएको छ । असार आर्थिक वर्षको समाप्तिको समय भएकाले गाविससचिव लगायत कर्मचारी अन्य काममा व्यस्त हुुनुपरेको र बर्खालगायत कारणले रकम वितरणमा ढिलाइ भएको उसको भनाइ छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रकम वितरणमा केही ढिलाइ भएको स्विकारे । ‘सुरुदेखि नै एकै रफ्तारमा काम अगाडि बढेको भए यति बेलासम्म सबैले रकम पाइसक्ने थिए,’ उनले भने, ‘तर प्राधिकरण गठनदेखि अन्य समस्याले गर्दा पीडितको हातमा समयमै रकम पुग्न सकेन ।’ उनले छिटोभन्दा छिटो पीडितलाई रकम उपलब्ध गराउन कार्ययोजना बनाएर काम अगाडि बढिसकेको बताए ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुख गणेश वस्तीका अनुसार असार मसान्तभित्र सबैसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्य पूरा नभएपछि आगामी साउन मसान्तसम्मलाई धकेलिएको छ ।

‘साउनभित्र सबैसँग सम्झौता भइसक्दा धेरैलाई रकम वितरण पनि भइसकेको हुनेछ,’ उनले भने, ‘यस आधारमा भदौ अन्तिम वा असोज पहिलो साताभित्र सबैले पहिलो किस्ताको रकम पाइसक्नेछन् ।’ उनले हालसम्म ओखलढुंगा, रामेछाप र गोरखा जिल्लाका सबैसँग सम्झौता गरिसकिएको जानकारी दिए।

 

प्रकाशित: ५ श्रावण २०७३ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App