१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजनीतिकरणले ‘फितलो’ बनेको एउटा हत्या मुद्दा

दोलखा- चुनावी झडपका क्रममा गत बैशाख २६ गते गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको भोलीपल्ट बिहान दोलखाका एमाले सांसद पार्वत गुरुङले पार्टीको जिल्ला कार्यालयमा पार्टी निकट केही कानुन व्यवसायीलाई बोलाए।

सदरमुकाममा बसेर जिल्लाको चुनावी ‘कमाण्ड’ सम्हालिरहेका गुरुङले कानुन व्यवसायी सगैं मृतक तामाङका परिवार र जिल्ला पार्टीका केही अगुवा सहित राखेर घटना पछि उत्पन्न हुनसक्ने परिस्थिती बारे छलफल अघि बढाए। जिल्ला प्रहरी कार्यालयमा त्यसै दिन किटानी जाहेरी दिने कुरा चल्यो । त्यस दिनको छलफलका एक सहभागीका अनुसार घटनामा संलग्न नामहरु टिपोट गर्ने काम भयो।

‘माओवादी केन्द्रकी नेता देवी खड्का घटनाको दिउँसै देखी त्यस दिन गाउँमै थिईन, रेशमडाँडाको झडपमा भने निम्नानुसारका कार्यकर्ता संलग्न थिए,’– कानुन व्यवसायीले नाम टिप्दै गए। अन्तिममा किटानी जाहेर दिने बिषयमा छलफल चल्यो । हत्यामा सहभागी भएकालाई मात्रै किटानी जाहेरी दिने कुरा चल्दै थियो। एक कानुन व्यवसायीले त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने माओवादीका सबै नेता कार्यकर्तालाई मुद्दा हाल्नुपर्ने सुझाव दिए । त्यसमा अर्काले थपे । ‘गैरीमुदीमा २० बर्ष अघि कांग्रेस कार्यकर्ताको हत्या हुँदा सिङगो एमाले नेतृत्वलाई मुद्दा चलाएर थुनेका हामीले बिर्सनु हुदैन’ ति कानुन व्यवसायीले भनेको सम्झदै बैठकका एक सहभागीले भने – ‘त्यसैले यो मुद्दामा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै नेता कार्यकर्तालाई किटानी दिईनुपर्छ’ । त्यहाँ सहभागी केहीले घटनामा संलग्नै नभएकालाई हाल्दा मुद्दा फितलो हुने भन्दै संलग्नलाई मात्र किटानी जाहेरी दिनुपर्ने आवाज उठाउँदै थिए । तर अन्तिममा त्यस क्षेत्रका ४० जनालाई मुद्दा हाल्ने निर्णयमा एमाले नेतृत्व र पीडित परिवार पुग्यो।

मृतक कुलबहादुर एमाले वडा सदस्य उम्मेदवार गोरे तामाङका छोरा थिए। एमालेले त्यस दिन (बैशाख २७ गते) जुलुस सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दियो । जाहेरीमा माओवादी केन्द्रका स्थायी समिति सदस्य गंगा कार्की, पूर्व राज्य मन्त्री एवं माओवादी पोलिटब्युरो सदस्य देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का सहित ४० जना विरुद्ध किटानी जाहेरी दियो। तिनमा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने माओवादीका जिल्ला स्तरिय नेता र कार्यकर्ता सबै परे।

घटनाको भोलीपल्ट झिसमिसेमै घटनास्थल पुगेका जिल्लाका प्रहरी प्रमुख डिएसपी रविन कार्कीले ८ जना माओवादी कार्यकर्तालाई पक्राउ गरी ल्याए । पछि एक जना गरी ९ अभियुक्त  समातिए।

...

बैशख ३१ को स्थानीय निर्वाचन भन्दा ४ दिन अघि भएको जुँगु घटना पछि दोलखाको सुरक्षा ब्यबस्था कडा तुल्याईयो । प्रहरी समेत त्यस दिन घटनामा संलग्न र कुलबहादुर सहित अर्का शिक्षक दिलबहादुर बुढाथोकी माथी जुँगुको रेशमडाँडामा आक्रमण गर्नेहरुको खोजीमा लाग्यो । रेशमडाँडा स्थित सडक छेउमा मोटरसाईकल साईड लगाएर स्थानीय लक्ष्मण जिरेलको होटलमा बसेर खाना खाने तयारी गरिरहेका एमाले कार्यकर्ताहरुलाई एउटा मिनी ट्रकमा गाउँ भन्दा तल बाट आएका माओवादी केन्द्रका कार्यकर्ताले सडक छेउमा राखिएको मोटरसाईकलले अवरोध गरेको भन्दै नाराबाजी गर्दै मोटरसाईकल हटाउन भन्दै एमाले कार्यकर्तालाई दुर्व्यबाहर गरेको बिषयलाई लिएर दुई पक्षबीच झडप शुरु भएको थियो। झडप पछि दुवै पक्षलाई सम्झाउन भन्दै घरबाट रेशडाँडा आईपुगेका स्थानीय शिक्षक दिलबहादुर बुढाथोकीसमेत माओवादी कार्यकर्ताको आक्रमणमा परेका थिए। प्रहारबाट रेशमडाँडामै गम्भीर घाईते भएका कुलबहादुर र शिक्षक दिलबहादुर रक्ताम्मे अवस्थामा ढलेका थिए । उनीहरुलाई राती पुगेको प्रहरी टोलीले उद्धार गरी सदरमुकाम ल्याएको थियो । गम्भीर घाईते भएका कुलबहादुरको सदरमुकाममा ल्याईपुर्‍याए लगत्तै मृत्यु भएको थियो भने दिलबहादुरलाई उपचारका लागी राजधानी पठाईएको थियो । हाल दिलबहादुर स्वास्थ्य लाभ गरिरहेका छन् ।

चरम राजनीतिकरणले मुद्दै कमजोर

जुँगु घटनामा एमाले र माओवादीबीचको चरम राजनीतिकरणले प्रहरी अनुसन्धान नै फितलो बनेको देखिएको छ । प्रहरी बैशाख २६ गतेको रात कुलबहादुर माथी आक्रमण गरी हत्या गर्नेहरुको एक एक पहिचान गरी पक्राउ गरिछाड्ने तयारीमा थियो । माओवादी केन्द्रले आरोपीतहरु जोगाउन प्रहरीलाई दबाब दिईरहेको थियो ।

तर एमाले नेतृत्वले जसरी पनि किटानी जाहेरी दिएका सबैलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई निरन्तर दबाब दिएका कारण उ झस्कियो । किटानी जाहेरीमा भएका मध्ये घटनामा संलग्न रहेकालाई मात्र अभियोग लगाएर मुद्दालाई बलियो बनाएर दर्ता गर्ने जिल्ला प्रहरी र न्यायधीवक्ता तयारी गर्दै थिए। तर राष्ट्रिय मानवअधिकार आयोग सहित देशका बिभिन्न निकायमा एमालेले मुद्दा बारे उजुरी हाल्न थालेपछि जिल्ला न्यायधीवक्ता कार्यालयले प्रहरी प्रतिवेदन अनुसार माओवादी नेतृ देवी खड्कालाई योजनाकारको अभियोग लगाएर उनलाई सर्वस्व सहित जन्मकैद र अन्यलाई जन्मकैदको मागदावी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। न्यायाधीवक्ताको कार्यालयले दायर गरेको अभियोग पत्रमा स्पष्ट प्रमाण पेश त गरिएन त्यही माथी घटना प्रकृति मुचुल्का समेत बलियो बनेन्। जिल्ला प्रहरी कार्यालय एमाले र माओवादी केन्द्रको दोहोरो राजनीतिक दबाबमा परेका कारण घटनाबारे सुक्ष्म अनुसन्धान गर्न नसकेको कतिपयको बुझाई छ।

केही दिन अघि पक्राउ परेकाहरुलाई बयान गर्न अदालत लगिदा भीमेश्वर नगरपालिकाका एमालेबाट विजयी उपमेयर कमला बस्नेतको नेतृत्वमा महिलाहरुले जिल्ला अदालतको गेटमा धर्ना दिएका थिए।

अदालतले सामन्य तारेखमा छाडिदियो

घटनामा पक्राउ परेकाहरुको संलग्नता र कुलबहादुरको मृत्यु कसको प्रहारबाट भएको भन्ने स्पष्ट देखिने आधार र प्रमाण फेला नपरेपछि अदालतले पक्राउ परेकाहरुलाई सामन्य तारेखमा छोडिदिएको छ।

घटनामा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ परेका थिए । उनिहरुलाई प्रहरीले सोमबार अदालतमा पेश गरे यता चलेको बयान र थुनछेक बहस शुक्रबार जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको ईजलाशले सबैलाई सामन्य तारेखमा रिहा गरिदिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले पेश गरेको प्रमाण र अभियोग दाबी अनुसार जिल्ला अदालतको आदेशमा  दुई पक्षबीचको दोहोरो झडप भएको र एक अर्का समूहलाई लाठी ढुङ्गा रड लगायतका हतियार प्रहारका क्रममा अमुक व्यक्तीले प्रहार गरेको चोटका कारण कुलबहादुरको मृत्यु हुन गएको उल्लेख छ । अदालतले थुनछेक आदेशमा रातको समयमा दुई पक्षबीच झडप हुँदा को कसले कसलाई प्रहार गरेको ढुङगाले कसलाई लाग्यो भन्ने यकिन पुष्टी हुन आएको प्रमाण बाट नदेखिएका कारण पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी सबै प्रतिवादीलाई सामन्य तारेखमा छोड्न आदेश दिएको छ। माओवादी नेतृ खड्का सहित ३१ जना विरुद्ध वारेण्ट जारी गरिएको छ।

पीडितद्धारा अदालत आदेश विरुद्ध प्रर्दशन

अदालतले सामन्य तारेखमा अभियुक्त छाडेपछि पीडित परिवारले न्याय नपाएको भन्दै सार्वजनिक अपिल गरेका छन्।

 पीडित परिवार र स्थानीयले आईतबार सदरमुकाममा प्रर्दशन समेत गरेका छन्। प्रर्दशनमा सहभागीलाई एमाले जिल्ला कार्यालयबाट प्लेकार्ड बाडिएको थियो । प्लेकार्ड बोकेका प्रर्दशनका सहभागीले सातदोबाटो चोक, पशुपतिडाँडाबाट जिल्ला अदालत अगाडी हुदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । मौन र्‍याली पछि सातदोबाटो चोकमा आएर मृतक परिवारले न्याय पाउँ भनी सार्वजनिक गरेको अपिल पत्रकारलाई बाडेका थिए ।  मृतक कुलबहादुरका पिता गोरे तामाङले अपिल जारी गरेर अदालतको आदेशबाट आफुहरु बिचलित भएको बताएका छन् । न्यायपालीका निष्पक्षता र स्वतन्त्रता माथी अपिल मार्फत नै प्रश्न उठाएका छन्।

आफ्ना कार्यकर्ता मारिदाँ चासो राख्नु राजनीतिकरण हुन्न

                एमाले सांसद गुरुङले पार्टीका वडासदस्य उम्मेदवारका छोराको हत्या हुँदा पार्टीले चासो राख्नु र पीडित परिवारलाई न्यायका लागी सहयोग गर्नु स्वभाविक भएको प्रतिक्रिया दिए। ‘आफ्ना कार्यकर्ता मारिएका कारण पीडित पक्षलाई सहयोग गर्नु हाम्रो कर्तव्य सगैं दायित्व पनि हो’ उनले भने – ‘अनि किटानी जाहेरीमा संलग्न र योजनाकारहरुलाई मात्र किटानी जाहेरी दिएका छौं, संलग्नै नभएका विरुद्ध जाहेरी परेकै छैन’ । गुरुङले प्रहरीले अनुसन्धान नै कमजोर गरेको आरोप समेत लगाए । ‘किटानी जाहेर दिएपनि संलग्न को को हुन, स्पष्ट प्रमाण प्रहरीले संकलन गर्न सक्छ’ उनले भने – ‘तर दोलखा प्रहरीले यो मुद्दामा लापरवाही गरेको छ’ । उनले पीडितलाई न्याय दिलाउनका निम्ती माथिल्ला अदालतहरुमा जाने प्रतिक्रिया समेत दिए।

प्रकाशित: २८ जेष्ठ २०७४ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App