१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दुलहीजस्तै सजाइँदै मेसीको सहर

रोसारियो- फुटबल स्टार लियोनल मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदै छ। यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ।

कोलम्बियन पप गायिका तथा मेसीको टोली सहयात्री जेरार्ड पिकेकी श्रीमती साकिराले पनि मेसीको विवाहमा उपस्थित हुने आशा व्यक्त गरेकी छन्।

साकिराले हालै एक अन्तर्वार्तामा रोकुजोसँगको विवादका कारण आफूले विवाह समारोह गुमाउने कुराको खण्डन गरेकी थिइन्।

‘मेसी र जेरार्ड सानैदेखि मिल्ने साथी भएकाले म उनीहरूको विवाह समारोहमा जान्छु,’ साकिराले भनिन्।

रोसारियोका स्थानीय पत्रिका ला क्यापिटलले लुइस स्वारेज, नेइमार, सेस फाब्रिगास र जाभी हर्नान्डेजजस्ता बार्सिलोनाका वर्तमान तथा पूर्वहस्तीहरू विवाह समारोहका लागि निम्त्याइएको जनाएको छ।

मेसीका एजेन्टले एक विज्ञप्तिमार्फत उनको ३०औं जन्मदिनको एक हप्तापछि अर्थात् जुन ३० मा रोसारियोमा उनीहरूको विवाह समारोह हुने पुष्टि गरेका छन्।

विवाह समारोहमा आमन्त्रण गरिएका पाहुनाको सूची, विवाहस्थल र पार्टीका बारेमा विभिन्न अड्कलबाजी काटिँदै छ।

सञ्चारमाध्यमले भने त्यहाँ मेसी र रोकुजोको धार्मिक परम्पराअनुसार विवाह हुने कुराको खण्डन गरेका छन्।

उनीहरू दुवै जनाको परिवार र साथीहरू अझै उत्तरी सहरमा छन् जहाँ मेसी फुटबलप्रति आकर्षित भएका थिए। उनीहरू दुई जनाको भेट पनि यही सहरमा भएको थियो।

मेसीका छोराहरू ४ वर्षे थियागो र डेढ वर्षीय माटियोको जन्म बार्सिलोनामा भए पनि उनीहरू दुवै जनाको न्वारन पनि यसै सहरमा गरिएको थियो।

केही सञ्चारमाध्यमहरूले विवाह समारोहमा ६ सय जना पाहुनालाई आमन्त्रण गरिएको बताए पनि ला क्यापिटलले २१ जना बार्सिलोनाका खेलाडीसहित २ सय ५० जनाभन्दा बढी पाहुनालाई आमन्त्रित नगरिने दाबी गरेको छ।

उनको विवाहमा विश्व फुटबलका हस्तीहरुको उपस्थित हुने भन्दै सुरक्षा चासोलाई पनि प्राथमिकताका साथ हेरिएको स्रोतले दाबी गरेको छ।

‘सहरमा मेसी खुला रूपमा हिँडडुल गर्ने भए पनि उनको विवाह समारोहमा विश्व फुटबलका हस्तीहरू उपस्थित हुने भएकाले हामीले उचित सुरक्षा व्यवस्था गर्नुपर्छ,’ स्रोतले भन्यो।

फुटबल र राजनीतिलाई जोडिएर हेरिने अर्जेन्टिनामा उनको विवाहको सम्पूर्ण व्यवस्थापन राष्ट्रपति माउरिसियो मास्रीकी श्रीमती बार्बरा दिइजले गर्ने दाबी गरिएको छ।

ला क्यापिटलले दुलहीको पहिरन स्पेनिस डिजाइनर रोसा कार्लाले गर्ने र पाहुनाका लागि २० जना हेयर ड्रेसरको व्यवस्था गरिएको पनि उल्लेख गरेको छ।

उनीहरुले विवाहमा आउने पाहुनाले दिने उपहार लियो फाउन्डेसनलाई दिनसमेत आग्रह गरेको बताइएको छ।

रोसारियोका स्थानीय पत्रिका ला क्यापिटलले लुइस स्वारेज, नेइमार, सेस फाब्रिगास र जाभी हर्नान्डेजजस्ता बार्सिलोनाका वर्तमान तथा पूर्वहस्तीहरू विवाह समारोहका लागि निम्त्याइएको जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App