१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घरदैलो पुग्दै उम्मेदवार

धरान – करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन्। 

दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह गरिरहेका छन् । 

यहाँका चिया पसल, हाट, मेलापात, सामाजिक कार्यक्रम र जमघटका छलफल र बहसको विषय स्थानीय चुनाव भएको छ भने राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रचारप्रसारमा व्यस्त भएका छन् । 

सार्वजनिक यातायातका साधन र राजनीतिक दलका नेता तथा कार्यकर्ताका घर पसलमा दलका झन्डा फहराइएका छन् भने दलगत एवम् व्यक्तिगत रुपमा उम्मेदवार घरदैलो कार्यक्रममा जुटिरहेका छन् । 

चार लाख २१ हजार १५९ मतदाता रहेको सुनसरी जिल्लामा चुनावी प्रचारप्रसारको विश्लेषण गर्दा रामधुनी र दुहबी नगरपालिकामा नेपाली काँग्रेसको बलियो स्थिति देखिन्छ भने धरान उपमहानगरपालिका, इनरुवा र बराह नगरपालिकामा नेकपा एमाले को उपस्थिति सुदृढ पाइएको छ । यद्यपि, एमालेले धरान उपमहानगरमा नगर प्रमुखका उम्मेदवार घोषणा गरिसकेको छैन । 

इटहरी उपमहानगरपालिकामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । धरानमा पनि अवस्था त्यस्तै छ । काँग्रेसले कमजोर उम्मेदवार उठाएकाले आफ्नो पक्षका उपमहानगर प्रमुखलाई जिताउन आफूहरुलाई हम्मेहम्मे पर्ने काँग्रेसी कार्यकर्ता बताउँछन् । 

बर्जु, गढी, देवानगन्ज, हरिनगरा, भोक्राहा र कोसी गाउँपालिकामा फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बर्जु गाउँपालिका–३ का फातेचन चौधरी एमालेलाई पनि कम आँक्न नमिल्ने बताउँछन्। केही गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पनि सङ्गठन सुदृढ रहेकाले काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

शिक्षण पेसाबाट निवृत्त हुनुभएका शीशाम्बर झा सुनसरी जिल्लामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने बताउँछन्। उनी भन्छन् – “निर्वाचनप्रति सुनसरीका तराइवासी सबै सकारात्मक छन् । तराई मधेसका नेताप्रति उनीहरुका केही असन्तुष्टि भए पनि मतदानमा सहभागी हुन्छन् । चुनावमा सामेल नभए पछि परिन्छ भन्ने उनीहरुको बुझाइ छ।” 

यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा खटिने ६०० मतदान अधिकृतको सूची सार्वजनिक गरेको छ । रासस 

प्रकाशित: २७ जेष्ठ २०७४ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App