१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका उम्मेदवार घाइते

खोटाङ – कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङमा एमालेका वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादकाक्रममा भएको दोहोरो झडपमा एमाले दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका हुन्। 

चुनाव प्रचार–प्रसार र घरदैलोकाक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा शुक्रबार लाठीमुंग्रो सहित आएका कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमाले खोटाङका उपाध्यक्ष रामप्रसाद दंगालले बताए । कुटपिटबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि शुक्रबार राती नै अन्नपूर्ण न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । 

तामाङको टाउकोमा गहिरो चोट लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । ‘उनीहरुबीच कांग्रेसको झण्डा च्यातिएकै विषयमा झडप भएको जानकारी आएको छ,’ डिएसपी प्रधानले भने, ‘घाइतेलाई बिराटनगरतर्फ पठाइएको छ ।’ घटनाको जानकारी आएपछि प्रहरीचौकी याम्खा र प्रहरीचौकी छितापोखरीबाट प्रहरी र म्यादी प्रहरी शुक्रबार राती घटनास्थल पुगेको थियो । 

एक स्थानीयको घरमा राखेको कांग्रेसको झण्डा एमाले कार्याकर्ताले च्यातेर आफ्नै झण्डा राखेपछि सुरु भएको विवादकाक्रममा झडप भएको कांग्रेस क्षेत्र नम्बर–२ का उपसभापति चण्डी राईले बताए । झडपमा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई, सुवास राई लगायतका कार्यकर्ता सामान्य घाइते भएका छन् । एमालेका कार्यकर्ता बिनोद तामाङ, मनोज राई लगायत पनि सामान्य घाइते छन् । एमालेका कार्यकर्ताले बिहिबार कांग्रेसको झण्डा च्यातेर सोही पोलमा आफ्नो झण्डा राखेको कांग्रेसपक्षको आरोप छ । झण्डा च्यातिएको विषयमा सोधपुछ गर्न जाँदा आफुमाथि आक्रमण भएको कांग्रेसपक्षको दाबी छ । एमालेले भने आफ्नो नेता तथा कार्यकर्ता पार्टीको आन्तरिक छलफमा बसिरहेकै ठाउँमा लाठीमुंग्री सहित आएका कांग्रेस कार्यकर्ताको समुहले आक्रमण गरेको दाबी गरेको छ। 

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एमालेको झण्डा झिकेर कांग्रेसको झण्डा राखिएको विषयमा उत्पन्न विवाद नसल्टिँदै छोरम्बुमा सोही प्रकृतिको घट्ना दोहोरिएको हो । चुनावमा होमिएका दलका नेता तथा कार्यकर्ताले संयमता गुमाउँदा जिल्लामा झण्डाकै विषयमा दलीय द्वन्द्व बढ्दै गएको छ । 

प्रकाशित: २७ जेष्ठ २०७४ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App