रंगमञ्चीय संघर्ष

'बालकृष्ण सम मेरो पहिलो दर्शक'

शनिबार, २७ जेठ २०७४, १० : ४८ ध्रुवसत्य परियार

नाटक सुरु हुन एक–डेढ घन्टा बाँकी थियो। कलाकार तयारीमा व्यस्त थिए। प्रधानपात्र अशेष मल्ल मञ्चपछाडि थिए, नाटककै पात्रको पहिरनमा।

एउटा अग्लो कदका मानिस आएर सोधे, 'धनकुटाबाट नाटक लिएर आएका कलाकार कता छन्?'

अशेषले भने, 'हामी नै हौँ हजुर।'

ती अग्ला मानिस बोले, 'म बालकृष्ण सम, तपाईंहरूको नाटक हेर्न आएको।'

'उहाँले यति के भन्नुभएको थियो, मेरो त जिउ नै काँप्यो, म त उहाँको पाउमा पर्न पुगेँछु,' अशेष आफ्नो जिन्दगीकै त्यो जगमगाउँदो दिन सम्झन्छन्।

ती अग्ला मानिस बोले, 'म बालकृष्ण सम, तपाईंहरूको नाटक हेर्न आएको।' अशेष आफ्नो जिन्दगीकै त्यो जगमगाउँदो दिन सम्झन्छन्, 'उहाँले यति के भन्नुभएको थियो, मेरो त जिउ नै काँप्यो, म त उहाँको पाउमा पर्न पुगेँछु।'

नाटककार समलाई अशेषले धनकुटामै चिनेका थिए, कृतिमार्फत। तर, यति छिटै यति ठूला नाटककार आफूले लेखेको र खेलेको नाटक हेर्न यसरी धाउँदै आउलान् भन्ने उनले सोचेकै थिएनन्, भइदियो त्यस्तै।

समले नाटक हेर्न टिकटबारे बुझे। अशेषले भने, 'हजुरलाई केको टिकट!'

तर, समले टिकट नै काटेर नाटक हेरे। 'उहाँले टिकटबिना नाटक हेर्न हुँदैन भन्नुभयो,' अशेष भन्छन्, 'भाग्यको कुरा, काठमाडौंमा मेरो पहिलो दर्शक सम हुनुभयो।'

यातायातको सुविधा थिएन, धनकुटादेखि नाटक बोकेर अशेषको समूह पैदलै काठमाडौं आइपुगेको थियो। नाटकप्रति यत्रो प्रेम, प्रसक्ति र पालगपन? नाटकका साधक समलाई सायद लाग्यो– यसलाई हेर्नुपर्छ।

भक्तपुरको संस्कृति धनकुटामा

अशेष जहाँ नाटक अर्थात् पुर्खाको संस्कृति बोकेर आएका थिए, त्यहीछेउको कला र संस्कृतिको संगम प्राचीन नगर भक्तपुरबाट संस्कृति बोकेर उनको पुर्खा धनकुटा पुगेको थियो।

अशेष धनकुटा बजारमा जन्मेका हुन्, २०११ सालमा। जतिबेला धनकुटाबजार संस्कृतिको धनी थियो। टोलटोलमा जात्रा, नाटक र नाचगान चल्थ्यो। अशेष संस्कृतिको समाहारमा हुर्के।

इतिहास जित्नेहरूकै लेखिन्छ। जब पृथ्वीनारायण शाहले भक्तपुरमाथि विजय गरे, उनकै गाथाले गति लियो, त्यहाँका मल्ल राजा र राजासँग निटकहरूको के गति भयो होला? 'मेरो जिजुबुवाका अनुसार हाम्रो पुर्खा मल्ल राजाको निकट थियो,' अशेष आफ्नो पुर्ख्यौली इतिहास उधुन्छन्, 'पराजयपछि भागाभाग भएर हाम्रा पुर्खा धनकुटा पुगे र मल्ल थरै परिवर्तन गरी प्रधानांग लेख्न थाले। मल्ल थर त मेरा काकाहरूको पालाबाट लेख्न थालेका हौँ।'

तीन भाइमध्ये अशेष कान्छा हुन्। उनका माइला दाइ मुकेश मल्ल चित्रकार हुन्। जेठा दाइ व्यापारमा लागे। अशेषले बालपनमा खासै अभावको अनुभव गर्नुपरेन। उनका जिजुबुवा भीमबहादुर प्रधानांग धनकुटामा व्यापारी थिए र मुखिया पनि। जनताबाट मालपोत बुझेर सरकारलाई बुझाउँथे।

अशेषका बुवा खगेन्द्रकुमार प्रधानांग लेखक हुन्, उनका केही पुस्तक प्रकाशित छन्। उनले दार्जिलिङबाट म्याटि्रक्स गरेका थिए। उतिबेला नेपाल–भारत सांस्कृतिक केन्द्र काठमाडौंको शाखा धनकुटामा पनि थियो, खगेन्द्रले त्यहीँको लाइबे्ररीमा जागिर गरे। उनी निकै अध्ययनशील थिए। 'हाम्रो घरमा पुस्तकै–पुस्तक हुन्थ्यो,' अशेष सम्झन्छन्, 'घरमा हरेक साँझ धनकुटाका साहित्यकारको जमघट पनि चल्थ्यो।'

यसरी सानैदेखि अशेषले सांस्कृतिक र साहित्यिक माहोल पाए।

०००

आइएसम्मको अध्ययन अशेषले धनकुटाबाटै गरे, बिए विराटनगरबाट। ०३० सालतिर विराटनगरमा बिए पढ्दै गर्दा उनले धनकुटामा पनि एउटा सांस्कृतिक समूह खोलेका थिए। विराटनगरबाट धरान पैदलयात्रा एक घन्टा र धरानबाट धनकुटा पुग्न पूरै दिनजसो लाग्थ्यो।

क्याम्पसबाट घर गएका बेला उनले टोलमा नाटक देखाउँथे– बालकृष्ण सम, मनबहादुर मुखिया, विजय मल्लहरूद्वारा लिखित।

यता, विराटनगरमा पनि उनले साथीहरूसँग मिलेर युवा साहित्यिक परिवार खोलेका थिए। अशेष भन्छन्, 'विष्णुविभु घिमिरे, कृष्णभूषण बल, महेश प्रसाईं, इन्दिरा प्रसाईं, प्रमोद प्रधान मसँगै पढेका साथी हुन्। हामीले हरेक हप्ताजसो कविता गोष्ठी गर्थ्यौं।'

कलेज बिदा भएका बेला उनी धनकुटा घर पुग्थे। अशेषको घरमै साहित्यिक माहोल। धनकुटामै उनका बाबुले साहित्यिक पत्रिका 'आँगन' निकाल्थे, छाप्नका लागि धरान आउनुपर्थ्यो। आँगन तीन–चार अंक मात्रै निस्क्यो, त्यसमा अशेषले पनि कविता छपाए।

यसैबाट सिकेर ०३० सालतिर अशेषले पनि 'लालुपाते' भन्ने पत्रिका निकाले। एक अंक के निकालेका थिए, ठीक त्यहीबेला बिनास्वीकृति समसामयिक पत्रिका निकाल्न नपाउने सरकारी नियम आयो। उनको पत्रिका यात्रा रोकियो।

गाउँकै किसानका कथा लिएर ०३२ सालमा उनले नाटक लेखे– तुँवालोले ढाकेको बस्ती, जतिबेला उनले बिए पास गरिसकेका थिए। यो नाटकलाई गाउँमै देखाए, जसलाई उपेन्द्र दुःखी निर्देशन गरेका थिए।

'धनकुटाको स्कुलको सानो हलमा नाटक देखाइएको थियो, नाटक भरमार चल्यो। त्यतिबेला हामीले पैसा लिएर नाटक देखाउन थालेका थियौँ– २५, ५० पैसा लिन्थ्यौँ,' अशेष भन्छन्, 'नाटक सफल भएपछि हामीलाई लाग्यो, हामी त ठूला कलाकार भयौँ। अनि, हामीले सल्लाह गर्‍यौँ– तुँवालोले ढाकेको बस्तीलाई काठमाडौं लैजाने।'

धनकुटाबाट पैदलै नाटक लिएर काठमाडौं आउनु कम कठिन थिएन। भनिन्छ, कुनै पनि क्षेत्रमा सफलता पाउन त्यसमा पागलै भएर लाग्नुपर्छ।

'हाम्रो ४०–५० जनाको समूह धनकुटाबाट काठमाडौं हिँड्यो, नाटक लिएर। धरानमा आएर नाटक देखायौँ, त्यसपछि विराटनगर, वीरगन्जमा। यसरी नाटक देखाउँदै पैसा जम्मा गर्दै हामी आठ–दश दिन लगाएर काठमाडौं आइपुग्यौँ,' अशेष भन्छन्, 'त्यो एक प्रकारको पागलपन नै थियो।'

काठमाडौं आएर प्रज्ञा प्रतिष्ठान पुगे, त्यतिबेला प्रतिष्ठानको सदस्यसचिवमा सत्यमोहन जोशी थिए। उनीसँग कुरा गरे। धनकुटादेखि हिँड्दै नाटक लिएर काठमाडौं? प्रज्ञाका पदाधिकारी पनि छक्क परे। अशेष भन्छन्, 'उहाँहरूले हामीलाई नाटक देखाउन हल उपलब्ध गराउनुभयो। नाटकबाट जति आम्दानी हुन्छ, आधा हल भाडाको रुपमा प्रज्ञाले राख्ने र बाँकी हामीले पाउने सहमति भयो।'

प्रज्ञाको मञ्च देखेपछि भने अशेष तर्सिए। किनभने, उनीहरूले धनकुटामा नाटक गर्ने हलजत्रो त यहाँ मञ्च थियो। धनकुटामा उनीहरूले पेट्रोम्याक्स बत्ती (मइन्टोल) बालेर नाटक देखाउँथे, काठमाडौंमा बिजुली थियो। अशेष भन्छन्, 'प्रज्ञाको हलमा नाटक गर्न र अभ्यस्त हुन हामीलाई प्रज्ञाका कलाकारले सघाए– जसमा प्रचण्ड मल्ल, हरिहर शर्मा लगायत थिए।'

काठमाडौंमा रंगमञ्चको दायरा साँघुरै थियो। अशेषहरूले धनकुटादेखि नाटक ल्याएको काठमाडौंका नाटकप्रेमीले खबर पाइसकेका थिए।

यसैले पहिलो दिन नै पहिलो दर्शक हुन बालकृष्ण सम पुगेका थिए। यो नाटक एक महिना चल्यो, अशेषलाई काठमाडौंको साहित्य र नाट्य क्षेत्रमा चर्चित बनायो।

नाटकबाट भएको कमाई कलाकारले बराबर बाँडे। त्यसपछि अशेषसँगै आएका सबै कलाकार धनकुटा फर्के तर अशेष काठमाडौं बसे। काठमाडौंमै आफ्नो संस्कृतिलाई सार्थक बनाउने सपना उनले देखिसकेका थिए।

नाटकको नशा

उतिबेला धनकुटा बजारमा नेवारको घना बस्ती थियो। उनीहरूले थुप्रै पर्व मनाउथे। अशेषलाई सबैभन्दा बढी प्रतीक्षा भदोरै जात्राको हुन्थ्यो। यो जात्रामा नेवार टोलटोलमा नाटक देखाइन्थ्यो। नाटक देखाउन एक महिनाजस्तो अघि नै तयारी चल्थ्यो। र, एउटा नाटक महिना दिनसम्म पनि देखाइन्थ्यो।

'भाले बाँसको भव्य मञ्च बनाइन्थ्यो,' अशेष सम्झन्छन्, 'मञ्चको पृष्ठभूमिमा तह–तह पर्दा हुन्थ्यो, जसमा कथानक अनुसारका चित्र कोरिएका हुन्थे। यसका लागि मेरा काकाहरूले महिना दिनदेखि तयारी गरेको मैले देख्थेँ।'

यसपालि कुन नाटक गर्ने भनेर टोलमा सल्लाह हुन्थ्यो। अशेषको टोललाई तल्लो कोप्चे भनिन्थ्यो। जब आफ्नो टोलमा नाटक देखाउनेबारे सल्लाह हुन्थ्यो, अशेषले त्यसलाई रुचिपूर्वक सुन्थे। कस्तो नाटक देखाउने भन्ने टुंगो लागेपछि कलाकार छान्ने काम हुन्थ्यो।

'त्यतिबेला म चाहन्थेँ, मलाई पनि नाटकमा कलाकारको भूमिका दिइयोस्,' अशेष भन्छन्, 'सानै भएकाले पनि होला, मैले भूमिका पाउँदिनथेँ।'

ठूलाबडाले वास्ता नगरेपछि टोलका आफूजस्तै साथी बटुलेर उनले नाटक गर्ने समूह तयार गरे, ११–१२ वर्षकै उमेरमा। ठूलाबडाले देखाएको नाटक हेर्दाहेर्दै उनले नाटकमा कथानक कथ्न सिकिसकेका थिए। उनको समूहले पनि नाटक तयार गर्‍यो।

'मलाई सम्झना छ, हाम्रो समाजकै एकजना, जसको बोली त्यति स्पष्ट थिएन, खुट्टा खोँच्याएर हिँड्थे, उनकै हाउभाउ र चरित्र नक्कल गरेर हामीले नाटक बनाऔँ र चौरमा देखायौँ,' अशेष आफ्नो पहिलो नाटक सम्झन्छन्, 'नाटकको प्रमुख भूमिका मैले नै निभाएको थिएँ, नाटकलाई टोलवासीले खुब मन पराए।'

त्यतिबेला धनकुटा बजारमा उपेन्द्र दुःखी नाट्य क्षेत्रमा सक्रिय थिए, उनको सांस्कृतिक समूह पनि थियो। उनको समूहले टोलमा नाटक देखाइरहन्थ्यो। उपेन्द्रले अलि ठूलो मञ्चमा अशेषको समूहलाई पनि नाटक देखाउने अवसर दिए।

अशेषका थुप्रै साथी थिए। सबैलाई भूमिका दिन उनले नाटकमा हाटबजारको दृश्य राखे। नाटक यति भद्रगोल भयो, उनले मञ्चको हाटबजार सम्हाल्नै सकेनन्। नाटक बीचमै रोक्नुपर्‍यो।

'नाटक असफल भएपछि उपेन्द्र दुःखीले मलाई गाली गर्नुभयो,' अशेष भन्छन्, 'त्यसले मलाई सिकायो– नाटकमा पात्रहरूलाई व्यवस्थित गर्नु ठूलो कला हो।'

कविताले जीविका र क्रान्ति

काठमाडौं उनी एमए भर्ना भएर होस्टेलमा बस्न थाले। उनलाई आर्थिक संकट पर्न थाल्यो। त्यतिबेला गोरखापत्रले कविता छापेका पैसा दिन्थ्यो, रेडियो नेपालले कविता बजाएको पनि पैसा दिन्थ्यो। नाटकबाट चर्चित भएका अशेषलाई गोरखापत्र, रेडियो नेपालमा कविता छाप्न समस्या भएन। 'मैले गोरखापत्र र रेडियो नेपालमा कविता पठाउन थालेँ,' अशेष भन्छन्, 'पछि रेडियो नाटक लेख्न थालेँ। यसरी नै काठमाडौंमा गुजारा चल्थ्यो।'

कवि विमल कोइराला, जो पछि प्रशासक पनि भए, उनी अशेषका क्लासमेट थिए, होस्टलमा सँगै बस्थे। उनीसँगै मिलेर अशेषले प्रहसन तयार गरे। त्यतिबेला काठमाडौंमा खाना पकाउने दाउराको अभाव हुन्थ्यो, दाउरा पाउन घुस खुवाउनुपर्थ्यो। विमल र अशेषले त्यही समसामयिक विषयलाई लिएर प्रहसन तयार गरे, कीर्तिपुरकै सभाकक्षमा देखाउँदै थिए, ताली बर्सिरहेको थियो। ठीक त्यहीबेला पर्दा बन्द भयो। दर्शकले ठाने, त्यो प्रहसनकै भाग हो। 'पर्दाभित्र मञ्चमा अँध्यारो भयो, अनि हामीलाई केही मानिसले कुट्न थाले, पञ्चायतको विरोध गर्छस् भन्दै,' अशेष भन्छन्, 'उनीहरू त मण्डले रहेछन्। पर्दाबाट बाहिर हेरेर हामीमाथि आक्रमण भयो भनेको भए पनि हामीलाई दर्शकले बचाउने थिए, त्यसो भन्नै पाएनौँ। उनीहरूले कुटेर हिँडेपछि हामीलाई क्याम्पस चिफले उपचार गर्न लैजानुभयो।'

यसपछि अशेषले 'मुर्दावादमा उठेका हातहरू' नाटक लेखे, ०३४ सालतिर। यो नाटक पनि कीर्तिपुरमै मञ्चन भयो। त्यतिबेला साहित्यिक पत्रकार संघ भन्ने थियो, जसमा भवानी घिमिरे, हरिभक्त कटुवाल, ओममणि शर्मा लगायत थिए। विश्वविद्यालयबाट एक विद्यार्थी साहित्यकारलाई त्यसमा सदस्य मनोनित गरिन्थ्यो। कविता, नाटक लेख्ने भएकाले अशेष मनोनित भए, साहित्यकारसँग उनको संगत बढ्यो। यहीबीचमा उनले सडकदेखि सडकसम्म नाटक लेखे, जुन साहित्यिक पत्रकार संघको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा मञ्चन भयो। नाटक सफल भयो, कैयौँ दिन चल्यो। योपछि उनले 'नाटक घरको नाटक' लेखे।

०३६ सालमा जनमत संग्रहको घोषणापछि बिपी कोइरालाले सबैलाई बहुदलको पक्षमा लाग्न आह्वान गरे। कविहरूले सडक कविता क्रान्ति सुरु गरे। अशेष पनि सडक कविता क्रान्तिमा लागे। त्यतिबेला उनले खुब मुक्तक लेख्थे। उनलाई अझै पनि एउटा मुक्तक सम्झना छ–

बिहान तेल किन्न गएको छोरो,

बेलुकी रित्तो बोतल लिएर फर्केछ,

बाबु साह्रै झोक्किँदा छोरोले भनेछ,

क्यु लाग्दालाग्दै बल्ल पालो आएछ,

पालो आउँदा तेलको भाउ नै बढिसकेछ।

पञ्चायतविरोधी चेत

धनकुटामा क्याम्पस पढ्दा नै अशेषले बिपी कोइरालाबारे सुनेका थिए। उनलाई पढाउने दुर्गा पोखरेलले बिपीबारे सुनाउँथे, यसले अशेषमा बिपीप्रति आस्था बढाएको थियो। उनी कलेज जाँदा बीचमा कारागार पर्थ्यो, एक दिन अशेषले देखे, दुई युवालाई प्रहरीले घिर्सादै कतै लैजाँदै थियो। अशेष भन्छन्, 'पछि मात्रै थाहा पाएँ, उनीहरू त कांग्रेसका कार्यकर्ता राम–लक्ष्मण रहेछन्। उनीहरूलाई धनकुटा जेलदेखि भोजपुर जेलमा सारिएको रहेछ।'

अशेषले ७–८ कक्षामा पढ्थे, उनलाई एउटा संस्था खोल्ने रहर जाग्यो। उनले बालसुधार संघ भन्ने खोले र आफैँ अध्यक्ष भए। उनीहरूले यही संघमार्फत गाउँमा नाटक देखाउँथे। यो थाहा पाएर एक दिन बिहानै पुलिस आयो र अशेषलाई लिएर गयो, सिडियोकहाँ। 'अनुमति नलिईकन किन बाल सुधार संघ खोलेको भनेर सिडियोले मलाई गाली गर्नुभयो,' अशेष भन्छन्, 'मलाई हप्काएर छाडियो। मैले चिनेका प्रधानपञ्च थिए, मैले उनलाई घटना सुनाएँ।'

प्रधानपञ्चले अशेषलाई लिएर फेरि सिडियो कहाँ गए र केटाकेटीले बाल सुधार संघ खोले त के भो भनेर प्रश्न गरे।

त्यतिबेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए, उनी धनकुटा जाने कार्यक्रम थियो। सिडियोले यसबारे प्रधानमन्त्रीसँग नै कुरा राख्न दिने बताए। प्रधानमन्त्री आएपछि अशेषलाई बोलाइयो। 'कीर्तिनिधि विष्टले नियम अनुसार संस्था खोल्न नपाउने बताए,' अशेष भन्छन्, 'सरकारले खोलेको बालमन्दिर छ, त्यसमै आउ भने। तर म गइनँ।'

यस्तै घटनाले अशेषमा सानैदेखि जानिँदो नजानिँदो ढंगले पञ्चायतविरोधी भावना जागृत भएको थियो।

नाटक, परिवर्तन र सर्वनाम

'नाटक मात्रै एउटा यस्तो विषय हो, जसले आत्मिक रुपमा मानिसलाई परिवर्तन गर्न सामर्थ्य राख्छ,' अशेष नाटकको व्याख्यान दिन्छन्, 'नाटक सम्पूर्ण कलाहरूको समग्र प्रस्तुति हो। यसमा चित्रकला, नृत्यकला, संगीत, गायन सबै हुन्छ। नाटकले समाज परिवर्तन गर्छ, यसका साक्षी हामी हौँ। हामीले गाउँगाउँमा गएर पञ्चायतविरुद्ध आवाज उठायौँ। थोरै भए पनि मानिसमा पञ्चायतविरुद्ध भावना ल्याउन भूमिका खेल्यौँ। समाजका विकृति, विभेद हटाउने नाटक पनि गर्‍यौँ।'

अशेषले ०३८ सालमा सर्वनाम नाट्य समूह स्थापित गरे– ओममणि शर्मा, विष्णुविभु घिमिरे लगायतसँग मिलेर। यसैबाट उनीहरुले सडक नाटक अभियान गरे। सडकमा देखाइएको पहिलो नाटक थियो– हामी वसन्त खोजिरहेछौँ, अशेषले नै लेखेको।

'यो नाटक ०३९ भदौ २० गते कीर्तिपुरको चौरमा देखाएर परीक्षण गर्‍यौँ,' अशेष भन्छन्, 'यो नाटक बहुदलको पक्षमा थियो। धेरैले मन पराएकाले यसलाई हामीले देशका थुप्रै ठाउँमा देखायौँ।'

यो बीचमा उनले कहिले मञ्चमा, कहिले सडकमा नाटक मञ्चन गरिरहे। देशका विभिन्न ठाउँमा सडक नाटक लिएर पुगे।

उनलाई एउटा नाटक घर खोल्ने इच्छा थियो। ०५० सालदेखि ०५५ सम्म उनी प्राज्ञ पनि भए। यतिबेला उनले सरकारी तवरबाट नाटकघर खोल्ने सोचे तर सफल भएनन्।

सन् १९९४ मा उनी हङकङ जाने अवसर पाए, संयुक्त नाटक लेखनका लागि। सातवटा देशका लेखकले एउटा नाटक लेख्ने कार्यक्रम थियो। 'हामीहरूले बिग विन्ड अर्थात् ठूलो हुरी भन्ने नाटक लेखेका थियौँ,' अशेष भन्छन्, 'त्यतिबेला हङकङ बस्दा मैले एउटा भवन देखेँ, जसमा सानो–सानो नाटक हल, पेन्टिङ प्रदर्शनी हल, लाइब्रेरी थियो। त्यसैबाट प्रभावित भएर मैले यो सर्वनाम थियटर खोलेको हुँ।'

६ वर्षअघि कालिकास्थानमा खुलेको सर्वनाम थियटरमा अहिले निरन्तरजसो नाटक मञ्चन र विभिन्न साहित्यिक गतिविधि भइरहन्छ।

०००

काठमाडौंमा नाटककारको रुपमा चिनिएपछि अशेषलाई केही केटी प्रशंसकको पत्र आउन थालेको थियो। अशेष भने विवाह नगरी बस्ने सोचमा थिए। तर ०३९ सालमा उनले मन खाने केटी भेटे।

नाटक 'सडकदेखि सडकसम्म' सभागृहमा मञ्चन भइरहेको थियो। नाटक सकिएपछि धेरैले अशेषलाई बधाई दिए, तर एउटी केटी आएर भनिन्, 'तपाईंले नाटकमा स्त्रीलाई अपमान गर्नुभयो, यस्तो छुट तपाईंलाई कसले दियो?'

अशेषले अनेक तर्क दिए तर उनको चित्त बुझाउन सकेनन्। अन्तमा अशेषले भने, 'हामीले त समाज देखाएका हौँ, अब त्यसलाई बदल्ने, नबल्ने तपाईंहरू वा यो समाजको कुरा हो।'

यो कुराले ती केटी विश्वस्त भइन् र त्यहाँबाट गइन्। अशेषको दिमागमा भने ती केटी घुमिरहिन्। उनलाई लाग्यो, 'मेरो नाटकको असली समीक्षक त यिनै हुन्। उनैलाई तीन वर्ष पछ्याएर अशेषले विवाह गरे। उनी हुन्– अहिलेकी डा. सावित्री कक्षपति मल्ल। उनले नाटकमै पिएचडी गरेकी छन्।

पेट, पुरस्कार र नैतिकता

नेपालीमा एमए पूरा गरेपछि उनले कलेज पढाउन थाले। यो बीचमा उनले तीन वर्ष युएनको प्रोजेक्ट 'फ्यामिली प्लानिङ'मा काम गरे। यसबाट उनी केही देश जान पनि पाए।

बिहे भएकै साल उनले बिहान पाटन क्याम्पसमा पढाउँथे, दिउँसो परिवार नियोजनमा जागिर गर्थे। एक दिन उनलाई दरबारबाट चिठी आयो– तपाईंले दुई ठाउँमा जागिर गर्नुभएको छ, यो नियम विपरीत हो, तपाईंमाथि कारबाही किन नगर्ने?

अशेष भन्छन्, 'हामी पञ्चायतविरोधी, त्यतिबेला हाम्रो पछाडि सिआइडी लागिरहन्थ्यो। त्यतिबेला त्रिविको उपकुलपति महेशकुमार उपाध्याय हुनुहुन्थ्यो, उहाँलाई भेट्न गएँ। उहाँले मलाई कारबाही हुनबाट त रोक्नुभयो तर मैले परिवार नियोजनको जागिर छाडेँ।'

एक ठाउँको जागिरले पति–पत्नीलाई खर्च पुर्‍याउन कठिन थियो। उनी निराश थिए। एक दिन कोही आएर ढोका ढकढक्यायो र भन्यो, 'म संस्कृति मन्त्रालयबाट आएको, कमल थापा मन्त्रीले पठाउनुभएको। तपाईंलाई मोति पुरस्कार सरकारले दिएको छ, लिने कि नलिने?'

मोति पुरस्कार १५ हजार रुपैयाँ थियो। अशेष भन्छन्, 'मलाई संकट पर्‍यो, पुरस्कार लिउँ, मण्डले भन्लान् भन्ने डर। नलिऊँ अभाव छ। पुरस्कारको खबर लिएर आउनेलाई मैले भोलि जवाफ दिने बताएँ।'

कीर्तिपुर पढ्दा पनि अशेषसँग अभाव थियो। त्यतिबेलाको नगर पञ्चायतले कविता प्रतियोगिता गर्थ्यो, त्यसमा भाग लिएर उनले एकपटक तीन सय रुपैयाँ पुरस्कार जितेका थिए। यसले उनको ठूलो खर्च टरेको थियो। तर, पञ्चायत सत्ताको पक्षमा कविता भनेको भनेर अग्रज कवि वासु शशिले अशेषलाई नराम्रोसँग झपारे, खर्च नभएको भए म दिन्थेँ भनेर। यही सम्झेर मोति पुरस्कारबारे अशेषले तत्कालै जवाफ दिएका थिएनन्। उनले यसबारे वाशु शशिसँग सल्लाह मागे। वासुले भने, 'पुरस्कार सरकारले दिए पनि यो मोतिराम भट्टको नामको हो, ग्रहण गर्दा हुन्छ।' त्यसपछि उनले मोति पुरस्कार थापे।

अशेषको बुझाइमा विकासका लागि तीन चिज चाहिन्छ– आधुनिक विज्ञान, कला–सौन्दर्य, र आध्यात्मिक चिन्तन। त्यसैले उनी आफ्नो जीवन, पेसादेखि सन्तुष्ट छन्। पछिल्लो समय उनको अध्यात्मप्रति रुचि बढ्दो छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad