विमल भौकाजी
साहित्यिक फाँटमा खास गरेर कविता विधामा जो–कसैले आफ्नो कलमलाई निरन्तरता दिइरहन सक्नु सजिलो छैन। त्यसै पनि कविता–कार्य मानसिक पक्षबाट दृष्टिगत गर्ने हो भने कठिन छ। त्यसो त कवितालाई मानसिक नभई हृदयको विषय हो भन्ने सर्वसम्मत मान्यता स्थापित हुनुपर्नेमा कविहरू जोड दिन्छन्। त्यसमाथि कवितामा उत्कृष्टता अर्को चुनौतीको पाटो हो। तथापि यस्तो परिस्थितिमा कविता लेख्नु, अनि हृदयस्पर्शी लेख्नु चानचुने कुरो होइन। यस्तो कठिन बाटोमा हिँड्ने साहस कमैले गरेको देखिन्छ। कवि सुनील पुरी त्यही एउटा नाम हो, जो यही कठिन बाटोबाट विगत तीन दशक अघिदेखि अनवरत हिँडिरहेका छन्। समकालीन कविमा उनको आफ्नै पहिचान छ।
सुनीलका प्रायः कविता गहिरा भाव छन्, गहन अर्थ बोक्ने खालका छन्। उनीभित्रको सिर्जनशील मान्छे अत्यन्त भावुक छ, संवेदनशील छ। कहीँकतै दुख्दा आँसु झरिहाल्ने उसका आँखा छन्, दुखिहाल्ने मुटु छ। तर, उडन्ते शब्दजाल बिछ्याएर कवितालाई उनी सिँगार्दैनन्, निश्चित बिम्बमा धेरै कुरो भनिदिन्छन्।
थोरै शब्द लेखेर धेरै भन्न खोज्ने सुनीलका कवितामा प्रायः मान्छेको विविध चरित्रको तस्बिर पाइन्छ। नयाँ प्रकाशित उनको कवितासंग्रह 'सहरको समाचार'भित्रका सम्पूर्ण रचनाले यही पुष्टि गर्छन्। संग्रहको प्रथम कविता 'भोकको गृहप्रवेश'मा उनी लेख्छन्–
यतिबेला
घरमा भोक पसेको छ...
उज्यालो छैन घरमा
रौनक छैन– भित्ताभित्तामा
भोक छ– केवल भोक छ
त्यहाँ म छु तर म छैन।
यो र योजस्तै, मनलाई सीधै छुने किसिमका छन्, उनका प्रायः कविता। गहिरा भाव छन्, गहन अर्थ बोक्ने खालका छन्। सुनीलभित्रको सिर्जनशील मान्छे अत्यन्त भावुक छ, संवेदनशील छ। कहीँकतै दुख्दा आँसु झरिहाल्ने उसका आँखा छन्, दुखिहाल्ने मुटु छ। त्यसैले पीडालाई उनी कविताको भाकामा पोखिहाल्छन्। तर, कविता लेख्नुको नाममा अनेक किसिमका उडन्ते शब्दजाल बिछ्याएर कवितालाई उनी सिँगार्दैनन्, निश्चित विम्बमा धेरै कुरो भनिदिन्छन्। यस अर्थमा राजनीतिक भाषणजस्तो कवितालाई विश्लेषण गरेर लम्ब्याउने अभिनयबाट मुक्त छन् उनी। वास्तवमा आज कवितालाई बढी कलाकारिता गरेर वाचन गरिने प्रचलन व्यापक रूपमा वृद्धि हुँदै गइरहेको छ। सुनील भने यस्तो कार्यका विरोधी देखिन्छन्। उनका कविता पढ्दा के लाग्छ भने उनी सुन्न र सुनाइनका लागि कविता लेख्दैनन्, अनुभूति गरिने रूपमा लेख्छन्। यस दृष्टिकोणले हेर्दा वास्तवमै कविता कुनै श्रवणीय विषय हो जस्तो लाग्दैन, यो पक्कै पनि हृदयंगम गरिने विषय हो।
सुनीलका कविताका मननयोग्य केही पंक्ति
थाहा हुँदैन
सहरलाई आफ्नै समाचार।
हुरी कसैको विचार मान्दैन
हुरी कसैका चित्कार सुन्दैन।
जीवन– मैनबत्तीजस्तै बली जाने
जीवन– मैनबत्तीजस्तै पग्ली जाने।
स्वप्नको बाटो हुँदैन।
चरित्रको खोजी उनका कविताको महŒवपूर्ण विशेषता हो। सहरको समाचारका रचना सरसर्ती अध्ययन गर्दा मात्रै पनि यो तथ्य मुखरित हुन्छ। त्यति मात्रै होइन, कृतिभित्रका प्रत्येक कवितामा फरक–फरक चरित्रले प्रवेश गरेको पाइन्छ। एउटा विशेषता के देखिन्छ भने प्रत्येक चरित्र नै कविताका एक्लो पात्र छन्। त्यहाँ अन्य कुनै सहायक चरित्रको उपस्थिति देखिए पनि तिनले मूल पात्रलाई नै टेवा पुर्याएको पाइन्छ।
सहरमा कविताको घर पनि छ
कविता–घरमा कविको बहस चल्छ...
शव उचाल्छन्
कवि–मलामीहरू, कविताको जुलुस लिएर।
समाचार हराउँछ छापाखानाबाटै
र, थाहा हुँदैन
सहरलाई आफ्नै समाचार।
जम्माजम्मी ७० पृष्ठको यो कृतिमा ३६ कविता संग्रहित छन्। यस संग्रहभित्रका सिर्जना कवितात्मक भाकामा कुनै न कुनै किसिमको सन्देश प्रवाह गर्न सफल भएका छन्। 'कवितामा आमा'मा वात्सल्य–मातृत्वमा केन्द्रित भएर उनी आजको विसंगति–उन्मुख पाखण्डपूर्ण चरित्रतर्फ इसारा गर्दै भन्छन्–
सूक्ष्मतम् मेरो कवितामा
आमाको विशालता
कसरी अटाओस्?
म कवितामा
आमालाई कसरी लेखूँ?
कविताको पंक्तिबाट बु‰दा उनी समाजको कतिपय संस्कारसँग असन्तुष्ट लाग्छन्, एक प्रकारका विद्रोही नै देखिन्छन्। उनको यो विद्रोही पारालाई पुस्तकको भूमिका खण्डमा वरिष्ठ कवि मञ्जुलले व्याख्या गर्दै भनेका छन्, 'विवेक र संवेदनाको अत्तोपत्तो नभएको युद्धको विरोधमा कविता लेख्छन् कवि सुनील पुरी। ...भोक र गरिबीको विरोधमा कविता लेख्छन्। नयाँ महाभारत रचना गर्न खोज्नेको विरोधमा कविता लेख्छन्। दुष्चरित्रहरूको विरोधमा कविता लेख्छन्। निर्मम हुरीको विरोधमा कविता लेख्छन्। जीवनको बारेमा कविता लेख्छन्।' भूमिकामै अर्का वरिष्ठ कवि तुलसी दिवसले भनेका छन्, 'उनको कवितामा भनेकोबाट नभनेकोलाई संकेत गर्ने, आफ्नो अलग पहिचान स्थापित गर्न प्रयत्न गर्ने, काल, स्थान र माटोको सन्दर्भमा सस्तो भावुकताभन्दा बढी सचेत संवेदना र विचारलाई प्राथमिकता दिने उनको प्रवृत्ति र प्रकृति मलाई मन परेको छ। उनले आफ्नो कवितालाई सक्दो ताजा र मौलिक, नवीन बनाउन सिर्जनशील प्रयत्न गरेका छन्। ' उनका कविताको भूमिका लेख्ने क्रममा यो कृति प्रकाशित हुनुपूर्व १७ वर्षअघि (२०५६ सालमा) नै वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानले समेत लेखेका छन्, 'कवि सुनील आफ्नै पहिचान बनाउने धुनमा सिर्जनशील रहेर अरूभन्दा पृथक् देखापर्छन्, कविहरूको भीडमा।'
त्यसो त, सुनील केवल कविता मात्रै लेख्दैनन्, उत्कृष्ठ तबरले गीत–गजल लेख्नमा पनि पोख्त छन्। 'आज तिम्रो सम्झनामा' उनको गीतसंग्रह ०५७ मै प्रकाशित भइसकेको छ भने केही गीत रेकर्डिङसमेत भएका छन्। यसका अलावा पछिल्लो चरणमा चर्चा बटुल्दै गएको साहित्यिक विधा हाइकुमा समेत चलेको उनको कलमलाई उच्च मूल्यांकन गर्ने गरिएको पाइन्छ। गत वर्ष मात्रै उनको अत्यन्तै सानो आकारको कीर्तिमानी हाइकुसंग्रह 'गाभा' पनि प्रकाशित भएको छ।
प्रकाशित: २७ जेष्ठ २०७४ ०५:०० शनिबार