१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालयमा आगो लागेपछि ...

भक्तपुर- शुक्रबार मध्यान्ह टन्टलापुर घाम लागिरहेको थियो। विद्यार्थी आआफ्नै कक्षामा सँधैझै पढिरहेका थिए । शिक्षक शिक्षिका पनि नियमित जस्तो पढाउने काममा व्यस्त थिए।

यहीबीचमा अन्य दिनमा विभिन्न खेल खेल्ने, उफ्रिने चौरमा आगोको लप्का देखियो। चौरमा आगोको मुस्लो र धुँवा देखेपछि सबै आत्तिए। विद्यार्थी चिच्याउन थाले। यही बीचमा पनि एक हुल विद्यार्थी भने नआत्तिकन कोही जोडी बनाएर त कोही चिसो ब्ल्याङ्केट बोकेर आगो नियन्त्रणतिर लागे। कोही भने फायर इष्टिग्युसर बोकेर आगो नियन्त्रणका लागि अघि बढे । ह्वारह्वार बलिरहेको त्यो आगोमा कोही विद्यार्थीले फायर इष्टिङ्ग्युसर दबाएर आगो नियन्त्रणमा लिए भने कोहीले चिसो ब्याङ्केटले आगोलाई छोपेर। आगलागी भएपछि आत्तिएका विद्यार्थीहरु त्यो दृष्य देखेर छक्किए। आफ्ना सहपाठीहरुको साहस देखेर उनीहरुले देखाएको साहसमा ताली पड्काए, पररर... ।

यो दृश्य हो, भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी (सेकेण्डरी स्कुल) मा शुक्रबार विद्यार्थीलाई आगलागी नियन्त्रण सम्बन्धी दिएको प्रशिक्षणको । भक्तपुरस्थित जुद्ध बारुण यन्त्रको प्राविधिक सहयोगमा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई तीनदिने प्रशिक्षणको अन्तिम दिन शुक्रबार यसको अभ्यास गराइएको थियो । आगलागी नियन्त्रणको अभ्यास प्रदर्शन गरेर विद्यार्थीले आगलागी हुँदा संयमता र विवेकपूर्ण तरिकाले काम गर्नुपर्ने सन्देश दिएका थिए प्रशिक्षणमा । अकस्मात हुने आगलागीलाई नियन्त्रण गर्ने तरिका सिकेका विद्यार्थीको टोलीले विद्यालयको प्राङ्गणमा कृत्रिम आगलागी गराएर आगलागी नियन्त्रण गरेका थिए । उनीहरुले विद्यालयको चौरमा भएको आगलागीलाई ब्ल्याङ्केटिङ विधि र फायर इष्टिङ्ग्युसरको प्रयोग गरी आगलागी नियन्त्रणमा लिएका थिए।

अभ्यासको अवलोकन विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमात्र नभएर भक्तपुर नगरपालिका वडा न. ९ का नवनिर्वाचित वडाध्यक्ष रवीन्द्र ज्याख्व र तालिम दिने जुद्ध बारुण यन्त्रका पदाधिकारीहरुले पनि गरेका थिए । अभ्यासको अवलोकनपछि तिनीहरुले विद्यार्थीलाई संयमित हुन सिकाउने खालका व्यावहारिक अभ्यासको जरुरत भएकोमा जोड दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक पुण्यराम कवांले विद्यार्थीलाई विपदमा नहडवडाउन सिकाउनका लागि प्रशिक्षण र आगलागी नियन्त्रण अभ्यासले सहगोग पुगेको बताए । प्रशिक्षणका प्रशिक्षार्थीहरु अरुण सैंजु, बारुण यन्त्रका प्रमुख विजय धौभडेल तथा वडाध्यक्ष ज्याख्वले आगालगी नियन्त्रणको विधि र तौरतरिकाबारे विद्यालय तहका विद्यार्थीलाई सिप सिकाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित: २६ जेष्ठ २०७४ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App