१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

काठमाडौं- कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।

भाषा परीक्षालाई मर्यादित र शुद्ध बनाउने भन्दै कोरियन अधिकारीहरू नेपाल आएका  हुन्।  वैदेशिक रोजगार विभागको इपिएस शाखाले आवेदकको फारम संकलन गर्नेदेखि लिएर परीक्षा सञ्चालनसम्मको काम गरे पनि भाषा परीक्षा भने कोरियन अधिकारीकै निगरानीमा सम्पन्न हुन्छ।

भाषा परीक्षालाई मर्यादित  र शुद्ध बनाउन ५५ जना कोरियन अधिकारी राजधानी आइपुगेको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। दुई सिफ्टमा सञ्चालन हुने भाषा परीक्षाको हरेक केन्द्रमा दुईजना कोरियन अधिकारी रहनेछन्। उनीहरूलाई विभागका अन्य कर्मचारीले सघाउनेछन्।

सन् २०१८ मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संशाधन विभागले १० हजार दुई सय कोटा तोकेको छ। भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये कृषिमा ६ हजार दुई सय र सेवा क्षेत्रमा चार हजारलाई छनोट गरिने इपिएस शाखाले जनाएको छ।

यसपटकको परीक्षामा सहभागी हुन चैत ९–१८ गतेसम्म अनलाइमार्फत ७५ हजार पाँच सय ८० ले दरखास्त दिएका थिए। दरखास्तका साथ शाखाले २४ अमेरिकी डलर शुल्क तोकेको थियो। उक्त शुल्कमध्ये प्रतिव्यक्ति ६ डलर परीक्षा सञ्चालनका लागि नेपाल पठाउँछ र बाँकी रकम कोरियामै रहन्छ।

भण्डारीका अनुसार कोरियन भाषा परीक्षा सञ्चालनका लागि २६ वटा केन्द्र तय गरिएको छ। अघिल्लो वर्ष काठमाडौंबाहेक पोखरामा समेत परीक्षा सञ्चालन गरिए पनि यसपटक सबै केन्द्र राजधानीमा मात्रे छ।  कोरियाली अधिकारीको रोहबरमा हुने भाषा परीक्षा पास गर्नेको कोरिया जाने ढोका खुल्ने भण्डारीले बताए। शाखाले यसपटकदेखि दरखास्त फारम अनलाइनबाट संकलन गर्ने व्यवस्था मिलाएको हो। शाखाले संकलित दरखास्त कोरिया पठाएको थियो। त्यहाँको मानव संशाधन विभागलले दरखास्त फारमबारे सबै जानकारी लिएपछि भाषा परीक्षा सञ्चालन हुन लागेको हो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरियाले कामदारको माग तीन गुणाभन्दा माथि पुर्‍याएको छ। अघिल्लो वर्ष तीन हजार एक  सय कोटा निर्धारण गरेकोमा यसपटक १० हजार दुई सय पुर्‍याएको छ। पोहोर ६१ हजारले भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए।

सन् २००८ देखि दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपाली कामदार लैजान थालेपछि इपिएसमार्फत कोरिया जान खोज्नेको लर्को लाग्ने गरेको छ। इपिएस सुरु भएयता जेठ १६ गतेसम्म ४५ हजार पाँच सय ८८ जना रोजगारीका लागि कोरिया गएका छन्।

शाखा प्रमुख बाबुराम खतिवडा कोरिया रोजगारीका दृष्टिकोणले मात्र नभई बसाइ र सुरक्षाको दृष्टिकोणले समेत राम्रो भएकाले युवायुवतीको आकर्षण बढेको बताउँछन्। पछिल्लो समयमा कोरिया जानुलाई जीवनकै ठूलो उपलब्धि ठान्नेको संख्या बढिरहेको पाइन्छ। कतिपय त स्वदेशमा पाएका अवसर त्यागेर कोरिया पसिरहेका भेटिन्छन्।

कोरियामा मासिक सरदर सवा एक लाख रुपैयाँ पारिश्रमिक पाउने बताइन्छ। रोजगारीमा जानुअघिको लागत निकै सस्तो र उता गइसकेपछि चार वर्ष १० महिना काम गर्न पाउने भएकाले नेपालमा झनै कोरिया मोह बढेको पाइन्छ ।

वैदेशिक रोजगार विभागले नेपालबाट रोजगारीका लागि खाडी मुलुक जाने कामदारलाई दुई र मलेसिया जानेलाई तीन वर्षको श्रम स्वीकृति दिने गरेको छ। ती मुलुकमा मासिक ३०–४० हजार रुपैयाँ पारिश्रमिक पाउन जानुअघि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता छ।

कोरिया भाषा परीक्षाको नतिजा असार १६ गते प्रकाशित गर्ने शाखाले जनाएको छ। भण्डारीका अनुसार यसपटक परीक्षामा सहभागी हुन परीक्षार्थीका लागि सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य गरिएको  छ।

छनोट प्रक्रिया

कोरिया जाने कामदार छनोटको पहिलो आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो। भाषा परीक्षामा बढी अंक ल्याउनेको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन्। भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी भने हुँदैन।

भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए कोरिया जान पाइँदैन। दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए भाषा परीक्षा उत्तीर्ण गर्नेको नाम रोस्टर सूचीबाट हट्छ।  भाषा परीक्षा उत्तीर्ण गरेका करिब तीन हजारजना अझै कोरिया जान नपाएको शाखाले जनाएको छ।

'हामीले परीक्षाको फारम संकलन गर्ने बेला नै उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्ने गरेका छौं,' शाखाका सूचना अधिकारी भण्डारीले भने, 'परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए जान पाइँदैन।' कोरियन रोजगारदाताले कामदार बोलाउनुअघि सम्बन्धित काममा दक्ष भए/नभएको विभिन्न परीक्षणबाट यकिन गर्छन्।

परीक्षा उत्तीर्ण गरेका महिलामध्ये अहिलेसम्म दुई हजार ६ सय ६४ कोरियन रोजगारदाताको छनोटमा परेका छन्। सन् २०११ मा कोरियाले सबभन्दा बढी १५ हजार ६ सय ७१ नेपाली कामदार लिएको थियो। सन् २००९ र सन् २०१२ मा भने विभिन्न कारण देखाउँदै नेपाली कामदार लगेन।

पछिल्लो समय कोरियामा नेपाली कामदारको माग बढ्दै गएको बताइन्छ। पछिल्लो कोरियामा आत्महत्या र अन्य कारणले ज्यान गुमाउने क्रम पनि बढेको छ। सन् २००८ यता कामका लागि कोरिया पुगेका ७४ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App