१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार छान्न अलमल

जनकपुर- स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन एक साता बाँकी रहँदा धनुषामा कुनै पार्टीले उम्मेदवार चयन गरेका छैनन्।

असार १४ मा पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलका कारण दलहरूले उम्मेदवार चयन गर्न नसकेका हुन्। मधेसको समस्या मिलाउन भन्दै सरकारले बारम्बार चुनाव मिति सार्र्दै आएको छ भने राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने गरी आन्दोलन तयारी गरिरहेको छ।

राजपाले चुनावै हुन नदिने चेतावनी दिइरहेको छ भने सरकारका तर्फबाट पनि ठोस प्रतिबद्धता आउन सकेको छैन। यस्तो अवस्थामा उम्मेदवार चयन गरेर के हुन्छ?'

'असार १४ गते नै चुनाव हुने ग्यारेन्टी भए त रातदिन लगाएर पनि उम्मेदवारको टुंगो लगाउँथ्यांै', एमालेका धनुषा अध्यक्ष राजकिशोर यादवले नागरिकसँग भने, 'राजपाले चुनावै हुन नदिने चेतावनी दिइरहेको छ भने सरकारका तर्फबाट पनि ठोस प्रतिबद्धता आउन सकेको छैन। यस्तो अवस्थामा उम्मेदवार चयन गरेर के हुन्छ?'

कांग्रेसका जिल्ला सचिव सन्तोष यादवले उम्मेदवार चयनका लागि पार्टीले नीतिगत छलफल सुरु गरेको बताए पनि नेताहरू अन्योलमा रहेको बताए। 'हरेक नगर, गाउँ र वडाबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भइसकेको छ। बिस्तारै उम्मेदवार चयन प्रक्रिया अघि बढिरहेको छ,' यादवले भने। कहिलेसम्म उम्मेदवारको टुंगो लगाइहाल्ने हो भन्ने जबाफ उनले दिन सकेनन्।

माओवादी केन्द्रले पनि मंगलबारसम्म उम्मेदवार चयन गर्न सकेको छैन। माओवादी केन्द्रका धनुषा अध्यक्ष झल्कु यादवले नागरिकसँग भने, 'सबै तहबाट चुनाव लड्न इच्छुक आकांक्षीले आआफ्नो नाम पेस गरेका छन्। अब बिस्तारै उम्मेदवार तोक्ने प्रक्रियामा अघि बढ्न थालेका छौं।'

राजपाको आन्दोलनले तोकिएकै मितिमा चुनाव हुनेमा दलहरू अन्योलमा परेका हुन्। ' गाउँ र वडा तहमा उम्मेदवारको टिकट पाउन तँछाडमछाड चलिरहेको छ भने जनकपुरको मेयरका लागि खोजेर पनि उम्मेदवार पाउन सकेका छैनौं,' एमाले जिल्ला अध्यक्ष यादवले भने।

एमालेले मंगलबारसम्म एउटा गाउँपालिकाको अध्यक्ष र दुई नयाँ नगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरेको छ। जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा धितेन्द्रलाल कर्ण, विदेह नगरको उपमेयरमा आशा झा र कमला सिद्धिदात्री गाउँपालिका उपाध्यक्षमा गायत्री महतोलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष यादवले जनाए।

एमालेको रघुवीर महासेठ पक्षले जनकपुर उपमहानगरपालिकाको मेयरका लागि श्याम पुर्वे र उपमेयरका लागि पल्टी महरालाई अघि सारेको छ भने शत्रुधन महतो/श्रीप्रसाद साह पक्षले मेयर र उपमेयरमा क्रमशः दीपेन्द्र यादव 'दिपु' र पुनम मिश्रलाई उम्मेदवार बनाउन पहल गरेको छ।

कांग्रेसले जिल्लाका १८ स्थानीय तहमध्ये एक तहमा पनि उम्मेदवार चयन गर्न सकेको छैन। जेठ तेस्रो साताभित्र सबै तहका सबै पदमा उम्मेदवार घोषणा गरिसक्ने गरी पूर्वतयारी भए पनि अलमलमै दिन बितिरहेको एक जिल्ला नेताले बताए। पार्टीका जिल्ला सचिव कोमलकान्त झाले २७ गतेसम्म उम्मेदवार चयन गरिसक्ने बताए।

झाका अनुसार जनकपुर मेयरका लागि वडा स्तरबाट मनोज साह, जीवनाथ चौधरी, दिगम्बर राय, किशोरी साह, प्रफुल्लराज घिमिरे, धीरेन्द्रमोहन झा, श्याम साहलगायतको नाम सिफारिस भएको छ। तीमध्ये पार्टीका नगर सभापति मनोज साहलाई उम्मेदवार चयन गर्ने सम्भावना बढी रहेको जनाइएको छ।

पूर्वसांसद एंव पार्टी जिल्ला सभापति रामसरोज यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल चौधरी र जनकपुरका पूर्वमेयर बजरंगप्रसाद साहको नाम पनि मेयरका लागि चर्चामा छ। यादवले चुनाव लड्न नचाहे पनि पार्टीभित्रैबाट दबाब छ भने बजरंगलाई पार्टीले दिन नचाहेको एक नेताले बताए।

माओवादी केन्द्रले पनि जेठ २७ गतेसम्म उम्मेदवार चयन गर्ने जनाएको छ। जिल्ला अध्यक्ष झल्कु यादवका अनुसार पूर्वसभासद् सञ्जय साह 'टकला' की पत्नी रंगिलादेवीलाई उम्मेदवार बनाउने प्रयासमा लागेको छ। जनकपुर बमकाण्डका योजनाकार भएको अभियोगमा थुनामा रहेका साहले रंगिलालाई मेयरमा लडाउन निर्णय भएको माओवादी स्रोतले बतायो।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले चुनावको तयारीमा छन्। फोरम लोकतान्त्रिक मधेसका सबै दलले तालमेल गरी चुनाव लड्ने आन्तरिक गृहकार्यमा लागेको छ। राजपाले भने मधेसको मुद्दा सम्बोधन नभएसम्म चुनाव नलड्ने अडान दोहोर्‍याइरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७४ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App