१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार बन्न २१ शिक्षकको राजीनामा

खोटाङ – स्थानीय तहको निर्वाचनका लागि खोटाङमा दर्जनौँ शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख, वडाअध्यक्ष र सदस्य पदमा उठ्नका लागि २१ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । स्थानीय तहको पूर्वसन्ध्यमा ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत ठाकुरप्रसाद दाहालले बताए । स्थानीय तहको निर्वाचनका लागि दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक समेतले राजीनामा गरेका छन्। 

उनका अनुसार सिमपानी मावि सिमपानीका राजनप्रसाद ढकाल, माक्पा मावि माक्पाका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क सछितापोखरीका मावि शिक्षक केशवराज कार्की, सरस्वती मावि दिक्तेलका मावि शिक्षक गोबिन्दप्रसाद आचार्य र शारदा मावि खार्पाका मावि शिक्षक हिमाल गिरीको राजीनामा आएको छ । निमावि तहमा कार्यरत च्यास्मीटार मावि च्यास्मीटारका निमावि शिक्षक हरिनारायण यादव र राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयकी निमावि शिक्षिका पुष्पकला भुजेलको पनि राजीनामा आएको शिक्षाले जनाएको छ । 

यस्तै, सरस्वती प्राविका प्रावि शिक्षक हरिकुमार राई, हिरा प्रावि महेश्वरीका राजेशकुमार राभण्डारी, जनता मावि बतासेका बसन्त राई, राष्ट्रिय मावि बासपानीका खगेन्द्रबहादुर गुरुङ, पञ्चकन्य आधारभूत विद्यालय डाँडागाउँका बिमल खड्का, शारदा मावि हौंचुरका यज्ञनारायण श्रेष्ठ, चन्द्र प्राबि सुङ्देलका कालिकाप्रसाद रिमाल, डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्की, कालिका प्रावि बाहुनीडाँडाका राजकुमार कार्की, हिमालय आधारभूत विद्यालय दिक्तेलका रत्नबहादुर कार्की, महेन्द्रोद्धय मावि याम्खाका शिक्षक दुर्गा राई, हिरा प्रावि महेश्वरीका टिकाराम निरौला, चौतारेडाँडा प्रावि सिमपानीका भरतकुमार राउत र जनता प्रावि दोर्पाचिउरीडाँडाका हरिप्रसाद चौंलागाईको राजीनामा आएको हो । 

विभिन्न समस्या र बाध्यता देखाउँदै राजीनामा दिए पनि अधिकांश अवकाश लिएका शिक्षक चुनावी मैदानमा उत्रिएका छन् । सिमपानी माविको प्रअबाट राजीनामा दिएका राजन ढकालले माओवादी केन्द्रकातर्फबाट खोटेहाङ गाउँपालिकाको प्रमुखमा टिकट पाएका छन् । श्रोत व्यक्तिका रुपमा काम गरिरहेका बेला माक्पा माविबाट राजीनामा दिएका निरौला कांग्रेसकातर्फबाट ऐसेलुखर्क गाउँपालिका प्रमुखमा उठेका छन् । सरस्वती मावि डाँडाखर्क सछितापोखरीबाट राजीनामा दिएका कार्की र जनता मावि बतासेबाट राजीनामा दिएका शिक्षक राई कांग्रेसकातर्फबाट दिप्रुङ गाउँपालिका प्रमुखको टिकटको दौडमा छन् । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयबाट राजीनामा दिएकी निमावि शिक्षिका भुजेल एमालेकातर्फबाट ऐसेलुखर्क गाउँपालिकाको उपप्रमुखकी उम्मेदवार हुन् । शारदा मावि हौंचुरबाट राजीनामा दिएका श्रेष्ठले लामीडाँडा गाउँपालिका–६ हौंचरमा एमालेबाट वडाध्यक्षको टिकट पाएका छन् । पञ्चकन्य आधारभुत बिद्यालय डाँडागाउँबाट राजीनामा दिएका बिमलले एमालेबाट दिप्रुङ गाउँपालिका–५ सछितापोखरीको वडाध्यक्षको टिकट हात पारेका छन् । डाँडाखर्क प्राबि बराहपोखरीका शिक्षक ढकबहादुरले कांग्रेसकातर्फबाट बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा वडाध्यक्षको उम्मेदवारी पाएका छन् । जनता प्राबि दोर्पाचिउरीडाँडाका हरिप्रसादले माओबादी केन्द्रकातर्फबाट रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा वडाध्यक्षको टिकट पाएर चुनावी मैदानमा उत्रिएका छन् । हिरा प्राबि महेश्वरीबाट राजीनामा दिएका शिक्षक राजभण्डारी पनि ऐसेलुखर्क गाउँपालिका–३ वडाध्यक्षका उम्मेदवार हुन् । 

राजीनामा दिनेमध्ये सरस्वती माबि दिक्तेलका आचार्य, च्यास्मीटार माबिका यादव, हिमालय आधारभुत बिद्यालय दिक्तेलका खत्री, हिरा प्राबि महेश्वरीका निरौला र चौतारेडाँडा प्राबि सिमपानीका राउतको अनिवार्य अवकाशकाक्रममा राजीनामा आएको हो । 

दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक खेमबहादुर खड्काले पनि स्थानीय तहको निर्वाचनका लागि राजीनामा दिएका छन् । कांग्रेसकातर्फबाट जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी पाउने भएपछि क्याम्पस छाडेका खड्का हाल चुनावी प्रचार–प्रसारमा व्यस्त छन्। 

सामाजिक परिचालकको पनि राजीनामा 

आसन्न स्थानीय तहको निर्वाचनमा लड्का लागि सामाजिक परिचालक÷कोचको पनि राजीनामा आएको छ । सुनौला हजार दिनकातर्फबाट ज्यामिरेमा कोचको काम गर्दै आएकी उर्मिला लम्साल र स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रम (एलजिसिडिपी)को सामाजिक परिचालककारुपमा काम गरिरहेका ज्ञानुराज पाण्डेले राजीनामा दिएको जिल्ला समन्वय समितिले जनाएको छ । 

२०७१ सालदेखि सुनौला हजार दिनको कोचकारुपमा गर्दै आएको काम छाडेकी लम्सालले माओबादी केन्द्रकातर्फबाट ऐसेलुखर्क गाउँपालिकाको उपप्रमुखमा उम्मेद्वारी दिएकी छन् । २०६७ सालदेखि सामाजिक परिचालकको काम गर्दैआएका पाण्डेले पनि राजीनामा दिएर कांग्रेसकातर्फबाट लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीको वडाध्यक्षमा टिकट पाएका छन् । 

प्रकाशित: २४ जेष्ठ २०७४ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App