१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्यासल युथ क्वार्टरफाइनलमा

काठमाडौं– च्यासल युथ क्लब समूह ‘ए’ को विजेता बन्दै  ललित स्मृति यु–१८ फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

च्यासलले मंगलबार सरस्वती युथ क्लबलाई २–१ ले हरायो । च्यासलले जितसँगै समूह चरणका तीन खेलबाट सात अंक जोड्यो।

 अब च्यासलले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेता फ्रेन्ड्स क्लबसँग खेल्नेछ । ६ अंक जोडेको एपिएफ समूह ‘ए’ को उपविजेता बन्यो । एपिएफले विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ । च्यासललाई नकआउट चरण पुग्न बराबरी नतिजा भए पुग्ने थियो ।

योजनाअनुसार नै च्यासलले पहिलो हाफमै २ गोल गरेर खेल आफ्नो नियन्त्रणमा राख्न सफल भयो । कृष्ण ब्लोनले २१औं मिनेटमा गोल गरेर च्यासललाई अग्रता दिलाए । सुशन श्रेष्ठले ४४औं मिनेटमा गोल गरेपछि च्यासल २–० ले अगाडि बढेको थियो ।

ओमप्रकाश सिंहले गोल गर्दै सरस्वतीलाई दोस्रो हाफमा खेलमा फर्काउने प्रयास गरेका थिए । च्यासलका प्रशिक्षक थममान भुसालले टोलीको प्रदर्शनबाट खुसी भएको बताए । ‘खेल जित्दै समूह विजेता भएर हामी छनोट हुन चाहन्थ्यौं । त्यसमा हामी सफल भयौं । जित हासिल गर्दा खुसी छु । तर रक्षा पंक्तिले सोचे जस्तो राम्रो खेल्न सकेको छैन,’ प्रशिक्षक भुसालले भने, ‘क्वार्टरफाइनलमा हामी अझ बलियो टोलीसँग खेल्दै छौं । रक्षापंक्तिमा सुधार गर्न नसके हामीलाई अप्ठ्यारो हुन सक्छ ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लब र सुदूर पश्चिम फुटबल क्लबले १–१ को बराबरी खेलेका छन् । बराबरी खेलेका दुवै टोली प्रतियोगिताको उपाधि दौडबाट बाहिरिसकेका टोली हुन् ।  अन्तिम खेल दुवै टोलीका लागि प्रतिष्ठाको खेल थियो । धीरज सुनुवारले ३८औं मिनेटमा गोल गरेर मनाङलाई अग्रता दिलाएका थिए । तर ६०औं मिनेटमा राम ढकालले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App