१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जुम्लामा 'नागरिकसँग नागरिक': कर्णालीका सम्भावना उजागर गर्न आग्रह

जुम्ला- नेपाल रिपब्लिक मिडिया नेटवर्कले मंगलबार जुम्लामा नागरिकसँग नागरिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला सहभागी थिए।

कार्यक्रममा चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपानेले नागरिकले दुर्गम क्षेत्रका आवाजलाई सम्बोधन गरेकोमा खुसी व्यक्त गरिन् । उनले कर्णालीलाई अभावको मात्र नभई यहाँका सम्भावना पहिचानतर्फ प्रोत्साहन गर्नुपर्ने बताइन् । चन्दननाथ नगरपालिकालाई सुन्दर र नमुना नगरपालिका बनाउन फोहोर व्यवस्थापन पहिलो प्रथामिकतामा परेको उनले सुनाइन् । उनले भनिन्, ‘नगरपालिका क्षेत्रका वडामा सहज रुपमा एम्बुलेन्स छिर्न सक्दैन । खानेपानी र विद्युत्को अभाव छ, यसबारे सञ्चारमाध्यमले कलम चलाइदिनुपर्छ ।’

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य पदमबहादुर शाहीले कर्णालीमा उत्पादन हुने अन्नबाली निर्यात गर्ने वातावरण बनाउनसके यो क्षेत्र सम्पन्न हुनेमा जोड दिए ।

संस्कृतिविद् रमानन्द आचार्यले नेपालको इतिहासमा काठमाडौंपछि कर्णाली सभ्यताको स्थान रहेको भन्दै पछिल्लो समय कर्णाली पीडामा परेको गुनासो गरे । उनले भने, ‘कर्णाली नेपाली भाषाको उद्गम स्थल हो, धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले सम्पन्न क्षेत्र हो तर देशको मुख्य तहमा पुग्न नसक्दा कर्णालीको माग सुनुवाइ हुन सकेको छैन ।’

कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले कर्णाली स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र चिकित्साशास्त्रमा अध्ययन अनुसन्धान गर्ने थलो बनिसकेको बताए । उनले भने, ‘कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान यहाँका लागि वरदान साबित भइसकेको छ ।’

युवा प्रतिनिधि सशील देवकोटाले कृषिक्षेत्रमा कर्णाली निकै अघि बढिसकेको बताउँदै यस क्षेत्रका समस्या र चुनौती पहिचान हुन नसकेको औंल्याए । जुम्ला अर्गानिक जिल्ला घोषणा भए पनि जुम्लीले रासायनिक विषादी सेवन गरिरहेको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बजार व्यवस्थापनमा जोड दिने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य मनसुर सुनारले अहिले सिंहदरबारको अधिकार गाउँमा पुगेको भने पनि स्थानीय समस्या उजागर गर्न पत्रकारलाई सुझाव दिए । ‘हामी कर्णालीवासी जडीबुटीका क्षेत्रमा धनी छौं भन्छौं’, उनले भने, ‘तर बीउ नै बचाउन सकेका छैनौं।’ उनले विकास निर्माणमा अनियमितता रहेको औंल्याउँदै सुशासन कायम गर्न ध्यान दिनुपर्ने बताए ।

मानवअधिकारकर्मी धनबहादुर गौतमले कर्णालीसँग जोडिएका उत्तरी नाका खोल्न पहल गर्नुपर्नेमा जोड दिए । कर्णालीमा कुरीतिका रुपमा रहेका छाउपडी प्रथा नियन्त्रण गर्न सबैको हातेमालो जरुरी देखिएको उनको भनाइ थियो । नेकपा एमालेकी नेत्री मेनका पछाईले सूचना सञ्चारका क्षेत्रमा कर्णाली पछि परेको बताइन् । उनले कर्णालीका समाचारलाई पनि प्राथमिकता दिन आग्रह गर्दै जिल्लाका सबै स्थानीय तहमा पत्रपत्रिका पु¥याउनुपर्ने बताइन् ।

कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिकाका सम्पादक सुभाष घिमिरे, रिपब्लिका मिडिया नेटवर्कका प्रकाशक विनोद ज्ञवाली र नागरिक पश्चिमेलीका सम्पादक कलेन्द्र सेजुवाललगायत सहभागी थिए ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App