१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिका मृत्युको रहस्य नखुल्दा आक्रोश

चितवन-पोखरीमा डुबेको अवस्थामा फेला परेर उपचारका क्रममा शनिबार निधन भएका माडीका दुई बालिकाको मृत्युको रहस्य नखुल्दा स्थानीय आक्रोशित भएका छन् । स्थानीय समुदाय र चितवनका अधिकारकर्मी तथा महिला संघ संगठनले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य चाँडै सार्वजनिक गर्न प्रहरीलाई दबाब दिँदै आएका छन् । घटनाको विरोधमा मंगलबार माडी बन्द गरिएको छ ।
माडी नगरपालिका ६ रामराज्यपुरमा पोखरीमा डुबेका १२ वर्षीया दीपशीला परियार र सात वर्षीया दीपिका सुनारको निधन भएको थियो । ‘डुबेको देखेपछि आफन्तले नै उपचारका लागि भन्दै वसन्तपुरसम्म ल्याएका रहेछन् । त्यसपछि प्रहरीलाई खबर भएको हो’, इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक अरविन्द दुवेदीले भने ।
    माडी प्रहरीका अनुसार उद्धार गरेर उपचारका लागि भरतपुर लैजाँदै गर्दा दीपिकाको ज्यान गएको थियो । त्यस्तै दीपशीलाको माडी वसन्तपुरमै उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । रामराज्यपुरको मजुवा सिंचाइ पोखरीमा बिहान १० बजे वनभोज खान भन्दै घरबाट निस्केका उनीहरु पोखरीमा डुबेको अवस्थामा भेटिएका थिए । दुवै बालिकाको शरीरमा देखिएको चोट र बगेको रगतका कारण घटना शंकास्पद भएको हो । त्यसैले घटनाको सत्यतथ्य अनुशन्धान गरेर दोषिलाई समाउन प्रहरी प्रशासन समक्ष माग गर्दै चितवनका मानवअधिकार र महिला अधिकारकर्मीले अभियान सुरु गरेका छन् ।

घटनास्थल पुगेकी अधिकारकर्मी मीना खरेल बालिकाको मृत्युलाई दुर्घटना मान्न सकिने अवस्था नरहेको बताउँछिन् । शवको अवस्था हेर्दा घटना अन्यत्र गराएर पानीमा फालेको हो कि भन्ने शंका अधिकारकर्मीले गरेका छन् ।  अझ यौन हिंसापछि यस्तो घटना भएको हो कि भन्ने आशंका गर्नु पर्ने अवस्था देखिएको महिला संघसंगठनको भनाइ छ ।
मृतक बालिकाको भरतपुरको सरकारी अस्पतालमा आइतबार पोस्टमार्टम भएको थियो । पोष्टमार्टम रिपोर्ट प्राप्त भइनसकेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा अझैसम्म लिखित जाहेरी नपरेको उनले बताए ।
माडी प्रहरीले अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुर पठाएको छ ।
 

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App