१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतसँग भिड्दै नेपाल

काठमाडौं- नेपालको राष्ट्रिय फुटबल टोलीले मंगलबार मुम्बईमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। अँधेरी स्पोटर्स कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेल्नुअघि दुवै छिमेकी राष्ट्र नेपाल र भारतको उद्देश्य समान हुनेछ— आगामी एएफसी एसिया कप–२०१९ छनोट खेलका लागि तयारी गर्नु।

एसिया कप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा जेठ ३० गते खेल्दै छ। भारतले पनि सोही दिन घरेलु मैदानमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। छनोट खेलमा नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ। तर भारतले पहिलो खेलमा जित हासिल गरेको छ।

१२औं दक्षिण एसियाली खेलकुद बंगबन्धु गोल्ड कप, एएफसी सोलिडारिटी कप उपाधि जित्नु नेपाली फुटबलको पछिल्ला सफलता हुन्। तर पछिल्लो तीन वर्षदेखि फुटबलको घरेलु लिग हुन सकेको छैन। फुटबल व्यवस्थापनले निश्चित लयमा काम गर्न नसकिरहेको बेला नेपाल सुखद नतिजा निकाल्ने लक्ष्यसहित भारत गएको हो। बन्द प्रशिक्षणमा बोलाइएका चार दर्जन खेलाडीबाट प्रशिक्षक ग्याटुको कोजीले राष्ट्रिय टोली छनोट गरेका हुन्। र कोजीले भारतविरुद्धको खेलले एएफसी एसिया कपको तयारीमा मद्दत पुग्ने विश्वास लिएका छन्। कोजीले भने, 'हामीले भारतसँगको खेललाई घरेलु मैदानमा यमनसँग हुने खेलको तयारीको रूपमा लिएका छौं। भारतसँग खेल्नु कठिन छ तर महत्वपूर्ण पनि छ।'

पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीमा सुधार आएकाले जित हासिल गर्ने प्रशिक्षक कोजीले बताए। उनले भने, 'हामीले धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका छैनौं। तर हामी भारतविरुद्ध राम्रो खेल्ने कोसिस गछर्ौं। जित हामीलाई आवश्यक छ।'

पछिल्लो समय रक्षक रोहित चन्द थपिएकाले टोली थप बलियो भएको कोजीले बताए।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले पनि भारतसँग खेलबाट थुप्रै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने बताए।

भारतले पछिल्लो समय फुटबलमा सुखद नतिजा निकालिरहेको छ। र फिफा वरीयतामा १ सय स्थानमा छ। नेपाल १ सय ६९औं स्थानमा छ।

 भारतीय टोलीका प्रशिक्षक स्टेफन कन्स्टेन्टाइन्सले नेपालसँगको खेल सधैँ प्रतिस्पर्धात्मक हुने बताए। उनले भने, 'हामी राम्रो खेलको प्रतीक्षामा छौं। आशा छ हामीले खेल जित्नेछौं।'

भारतीय टोलीको नियमित कप्तान सुनील क्षत्रीले नेपालविरुद्ध मंगलबार खेल्ने छैनन्। क्षत्रीको अनुपस्थितिमा गुरप्रीत सिंहले घरेलु टोलीको कप्तानी सम्हाल्नेछन्। सिंहले पछिल्लो दुई वर्षमा भारतले फुटबलमा धेरै विकास गरेकाले राम्रो नतिजा निस्कने बताए।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App