१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल

खोटाङ- खोटाङमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले दुई नगरपालिकाको मेयर र उपमेयरको साझा उम्मेदवारको टुंगो लगाएका छन्। असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि रूपाकोट–मझुवागढी नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरमका नेता धनकुमार राई र उपमेयरमा नयाँ शक्तिबाट वसन्ती राईले उम्मेदवारी दिएका छन्।

हलेसी तुवाचुङ नगरपालिकामा भने बच्चु राईलाई मेयर र मनुकुमारी राईलाई उपमेयरको टिकट दिएको संघीय समाजवादी फोरमले जनाएको छ। पुराना वामपन्थी नेता बच्चु केही समयअघि माओवादी केन्द्र छाडेर संघीय समाजवादीमा प्रवेश गरेका थिए। संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनले आठ गाउँपालिकाको प्रमुखमा उठाउने उम्मेदवारको पनि टुंगो लगाएको छ। प्रमुख पदमा उम्मेदवार टुंग्याएसँगै संघीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी कार्यक्रम तीव्र पारेका छन्।

साकेला गाउँपालिकाको प्रमुखमा सनबहादुर राई र उपप्रमुखमा लक्ष्मी राई, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा देवेन्द्र श्रेष्ठ, बराहपोखरी गाउँपालिकाको प्रमुखमा मोहन राई, दिप्रुङ गाउँपालिका प्रमुखमा प्रिथी राई, खोटेहाङ गाउँपालिका प्रमुखमा सुशीला राई, लामीडाँडा गाउँपालिका प्रमुखमा मोहन गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा पिके खम्बू र ऐसेलुखर्क गाउँपालिका प्रमुखमा अगमसिं राईलाई टिकट दिइएको संघीय समाजवादी फोरम नेपाल खोटाङका उपाध्यक्ष टंक थापाले बताए।

गाउँपालिकाको उपप्रमुख र वडामा उठाउने उम्मेदवारको टुंगो लगाइए पनि औपचारिकता दिन बाँकी रहेको पार्टीले जनाएको छ। ‘अधिकांश उम्मेदवारको टुंगो लागिसकेको छ,’ उपाध्यक्ष थापाले भने, ‘दुई पार्टीबीचमा सन्तुलन मिलाउनुपर्ने भएकाले समय लागेको हो।’

खोटाङ संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईको गृहजिल्ला हो।

प्रकाशित: २३ जेष्ठ २०७४ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App