२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पाँच पुस्ता पल्टनमा

–रामकुमार डिसी

राजेन्द्र क्षत्री नेपालको सैनिक इतिहासमा सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति बन्ने पहिलो व्यक्ति हुन् । उनको परिवारमा यस्ता संयोग धेरै छन् ।

बुवा गोपालबहादुर खत्री र आमा प्रमिलाका उनी माइला छोरा हुन् । उनका एक दाजु रमीन्द्र र दुई भाइ रतीन्द्र र रवीन्द्र छन् । क्षत्री परिवारको मूल थलो तनहुँ हो ।   

पाँच पुस्ता सेनामा
प्रधानसेनापति क्षत्रीको परिवार सैनिक परिवार हो । यस परिवारका पाँच पुस्ता नेपाली सेनामा जोडिएको छ । उनका जिजुहजुरबुबा नाहरसिंह खत्री नेपाली सेनाका जमदार भएर बुटवल र पाल्पामा खटिएका थिए । हजुरबुबा बलिन्द्रबहादुर खत्री नेपाली सेनाका सेनानी थिए । उनले नुवाकोट, रसुवा र धादिङको बडाहाकिम भएर २०११ सालमा सेनाबाट अवकाश लिएका थिए । त्यस्तै, बुबा गोपालबहादुर महासेनानीसम्म भए । राजा महेन्द्र शाह र रानी रत्नको शाही पाश्र्ववर्ती (एडीसी) समेत रहेका उनले हृदयाघात भएपछि २०४७ सालमा सेनाको जागिरबाट अवकाश लिएका थिए ।
प्रधानसेनापतिका जेठा दाजु रमीन्द्र नेपाली सेनाको उपरथी छन् । उनी सेनाको प्रवक्तासमेत भएका थिए । उनका साइँला भाइ रतीन्द्र महासेनानीसम्म भए । कान्छा भाइ रवीन्द्र भने सेनामा लागेनन् । उनी चितवनमा व्यवसाय गरिरहेका छन् ।

यस्तो बलियो सैनिक पृष्ठभूमिको परिवारबाट राजेन्द्र क्षत्री सेनाको सर्वाेच्च पदमा पुगे । ‘हाम्रो पाँच पुस्ता नेपाली सेनामा छ,’ क्षत्रीले भने, ‘उहाँहरूले  सेनामा रहेर राष्ट्र, राष्ट्रियताका लागि केही योगदान गर्नुभयो । प्रधानसेनापति भएर देशको सेवा गर्न पाउँदा गर्व महसुस हुन्छ । यद्यपि, यो तहसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ, लक्ष्य पनि राखेको थिइनँ ।’
पुख्र्याैली विरासत थाम्दै रवीन्द्रका छोरा आश्रय अहिले अधिकृत क्याडेट तालिम लिइरहेका छन् । यसरी क्षत्री परिवारको पाँच पुस्ता सेनासँग जोडिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको पाँच पुस्ता नेपाली सेनासँग जोडिएको छ । उनका जिजुहजुरबुबा नाहरसिंह खत्री नेपाली सेनाका जमदार थिए, हजुरबुबा बलिन्द्रबहादुर सेनानी थिए भने बुबा गोपालबहादुर महासेनानी थिए । उनका जेठा दाजु रमीन्द्र नेपाली सेनाको उपरथी छन् । साइँला भाइ रतीन्द्र महासेनानीसम्म भए । प्रधानसेनापति क्षत्रीका भतिजा आश्रय अहिले अधिकृत क्याडेटको तालिममा छन् ।


घरमा दाइ ठूलो, अफिसमा भाइ
एउटै समयमा भाइ सेनाको प्रमुख, दाइ त्योभन्दा केही मुनिको ‘पोजिसन’मा ! सेनाजस्तो कडा अनुशासनमा रहनुपर्ने संगठनमा मान÷सम्मान कसरी प्रकट गरिन्छ होला ? कुनै जटिलता पो हुन्छ कि ? ‘घरमा ऊ भाइ हो, अफिसमा सेनापति हो,’ दाजु रमीन्द्रले भने, ‘घरमा पारिवारिक सम्बन्ध हुन्छ । अफिसमा पेशागत सम्बन्ध हुन्छ ।’
सेना परम्परालाई बढ्ता पछ्याउने संगठन हो । दशैँमा मान्यजनबाट टीका र आशिष थापिन्छ । सेनाभित्र प्रधानसेनापति सेनाको अभिभावक हो । उनीकहाँ दशैँमा विभिन्न पद र दर्जाका सैनिकहरू टीका थाप्न जान्छन् । तर, त्यो कुरा यी दाजुभाइबीच भने लागू हुन्न । ‘भाइ सबैभन्दा पहिले मकहाँ आएर टीका र आशिष थाप्छ,’ उपरथी रमीन्द्रले भने, ‘बुबाको निधन भएपछि घरमा मै अगुवा हुँ ।’

पल्टनका कुरा घरमा
परिवारका केही सदस्य एउटै पेशामा हुँदा प्रधानसेनापति क्षत्री फाइदा नै देख्छन् । ‘सबै परिवार सेनामा हुनुको फाइदा एकले जानेको कुरा अर्कालाई सिकाउने, गल्ती औँल्याउन पाइने र सुधार पनि गर्न सकिने रहेछ,’ उनले भने । पूर्वमहासेनानी रतीन्द्र घरमा तीन दाजुभाइबीच सेनाकै कुरा बढी हुने बताउँछन् । ‘पारिवारिक जमघटमा आर्मीकै कुरा बढी हुन्छ,’ उनले भने, ‘तेरो पल्टनभन्दा मेरो पल्टन राम्रो भन्ने खालको हँसीमजाक पनि हुन्छ ।’ क्षत्री दाजुभाइले पचास कटेपछि मात्रै परिवारका बारेमा सोच्न थालेको रतीन्द्र बताउँछन् । ‘बुबा  रहुन्जेल घरको बारेमा हामीलाई सोचाइ पनि आएन,’ उनले भने, ‘श्रीमतीहरूबाट खालि सेनाको मात्रै कुरा गरेको छ, घर बन्दोबस्तीको कुरा मिलाउनु छैन भनेर गुनासो आउँथ्यो । पचास कटेपछि मात्रै हामीले परिवारबारे सोच्न थालेका हौँ ।’

तीन भाइको रेकर्ड
सेनाभित्र ‘कमान्ड तथा स्टाफ तालिम’ लाई निकै महत्वपूर्ण ठानिन्छ । यो तालिम पूरा गर्न निकै अप्ठ्यारो हुन्छ । काठमाडौँ, शिवपुरीमा सैनिक कमान्ड तथा स्टाफ कलेज छ । योजना तर्जुमा तथा ‘सैनिक डक्ट्रिन’ निर्माणमा यो तालिम महत्वपूर्ण मानिन्छ ।
हरेक तालिममा अब्बल भएका यी तीन दाजुभाइ यो तालिममा पनि अब्बल भए । तीनै जना तालिममा प्रथम भएर अमेरिकाको कान्सासस्थित फोर्ट लिभेनवर्थबाट ‘कमान्ड एन्ड जनरल स्टाफ अफिसर्स कोर्स’ लिए । एकै घरका तीन दाजुभाइ अमेरिकामा यो कोर्स गर्ने नेपाली सेनाको एक मात्र परिवार हो । ‘एउटै आमाबाउको सन्तति त्यसरी प्रथम भएर तालिम गर्ने हामी संसारमै पहिलो रहेछौँ,’ उपरथी रमीन्द्रले सुनाए ।

क्रमभंग हुनबाट जोगियो
चार पुस्ता नेपाली सेनामा रहेको क्षत्री परिवार पाँचौँ पुस्तामा आउँदा त्यसमा ‘ब्रेक’ नलागोस् भन्ने चाहन्थ्यो । झण्डै त्यस्तो हुन आँटेको पनि थियो । रमीन्द्रका दुवै छोरीले बैंकिङ क्षेत्र रोजे । राजेन्द्रका दुई छोराले पनि बुबाको बिँडो थाम्ने चासो देखाएनन् ।
तर, अब क्षेत्री परिवारमा त्यो क्रमभंग हुने सम्भावनाबाट जोगिएको छ ।  पहिले सेनामा आउन इच्छा नदेखाएका रवीन्द्रका छोरा आश्रय अहिले भक्तपुर, खरीपाटीमा सेनाको अधिकृत क्याडेट तालिम लिइरहेका छन् । ‘कान्छो भाइको छोराले सेनामा आउने चाहना गरेको छ,’ उपरथी रमीन्द्र खुशी छन्, ‘अहिले सेनाको अधिकृत क्याडेट तालिम लिइरहेको छ । सेनामा हाम्रो परिवारको निरन्तरता कायम रहने भयो ।’
आश्रयलाई सेना बन्ने रहर थियो । ‘सेनाको परिवारमा हुर्कें, सेनाकै स्कुलमा पढेँ,’ उनले भने, ‘स्कुलमा पढ्दा हामीले सेनाको पोशाक नै पहिरिनुपथ्र्यो । मलाई पहिले नै सेना बनेर पोशाक पहिरने रहर थियो ।’

प्रधानसेनापति क्षत्री, उनका दाजु रमीन्द्र र भाइ रतीन्द्र तीनै जनाले अमेरिकाको कान्सासस्थित फोर्ट लिभेनवर्थबाट ‘कमान्ड एन्ड जनरल स्टाफ अफिसर्स कोर्स’ गरेका छन् । एकै घरका तीन दाजुभाइ अमेरिकामा यो कोर्स गर्ने नेपाली सेनाको एक मात्र परिवार हो ।

 
कान्छो भाइको छोराले सेनाको जागिरमा निरन्तरता दिएपछि प्रधानसेनापति पनि दंग छन् । ‘सेनामा रहेर देशको सेवा गर्ने परम्परालाई अरूले पनि कायम गरून् भन्ने चाहना थियो,’ उनले भने, ‘कान्छो भाइको छोराले सेनामा लाग्ने चाहना देखायो । एकदमै खुशी लागेको छ ।’

(नागरिक परिवारबाट)

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App