१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नाडाल क्वार्टरफाइनलमा

पेरिस- नवौं पटकका विजेता राफेल नाडालले आइतबार रोबर्टो बाउटिस्टा अगुटलाई हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शनिबार मात्रै ३१औं वर्षमा प्रवेश गरेका स्पेनका नाडालले आफ्नै देशका १७औं वरीयताप्राप्त बाउटिस्टा अगुटमाथि ६–१, ६–२, ६–२ को सहज विजय हासिल गरेका थिए। यससँगै उनी कीर्तिमानी ११औं पटक क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनले स्विजरल्यान्डका रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका हुन्।

चौथो वरीयताका नाडालले अब सेमिफाइनल प्रवेशका लागि क्यानडाका मिलोस रोनिक र स्पेनका पाब्लो कार्रेनो बुस्टाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

‘म खुसी छु किनकि रोबर्टो धेरै राम्रा खेलाडी हुन्। फेरि एक पटक क्वार्टरफाइलनमा स्थान बनाउन पाउनु मेरा लागि धेरै महŒवपूर्ण छ,’ १४ पटक ग्रान्ड स्लामको उपाधि जितिसकेका नाडालले भने।

वर्षाले प्रभावित बनेको खेलमा जापानका केइ निसिकोरीले दक्षिण कोरियाका ह्योन चुङलाई ७–५, ६–४, ६–७(४), ०–६, ६–४ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेका छन्। शनिबार आठौं वरीयताका निसिकोरीले ७–५, ६–४, ६–७(४), ०–३ को स्थितिमा खेलरहँदा पानीले खेल रोकिएपछि आइतबार रोकिएकै स्थितिबाट पुनः खेल भएको थियो। 

‘वर्षाले मलाई निकै मद्दत गर्‍यो। किनकि चौथो सेटमा म पछाडि परिसकेको थिएँ र मानसिक रूपमा म कमजोर स्थितिमा थिएँ,’ निसिकोरीले भने, ‘हिजोभन्दा आज राम्रो प्रदर्शन गर्न सफल भए।’

ग्रान्ड स्लाम प्रतियोगिताको तेस्रो चरणमा दुई एसियाली खेलाडीले प्रतिस्पर्धा गरेको यो पहिलो हो। निसिकोरीले अब क्वार्टरफाइनलका लागि फर्नान्डो भार्डस्कोसँग प्रतिस्पर्धा गर्नेछन्।

दुई हप्ताअघि २१औं जन्मदिन मनाएका रसियाका करिन खचनोभ २००९ पछि फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गर्ने कान्छो खेलाडी बनेका छन्। उनले २१औं वरीयता प्राप्त अमेरिकाका जोन इस्नरलाई ७–६ (१), ६–३, ६–७(५), ७–६(३) को सेटमा हराएका थिए। खचनोभको यो पहिलो फ्रेन्च ओपन हो भने उनको करियरमा तेस्रो ठूलो प्रतियोगिता हो। उनले अब अन्तिम चार प्रवेशका लागि शीर्ष वरीयताका एन्डी मर्रेसँग प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ क्यारोलिन वाज्नियाकीले स्भेटलाना कुज्नेटसोभालाई हराउँदै २००९ पछि पहिलो पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्। डेनमार्ककी ११ औं वरीयताप्राप्त कुज्नेटसोभालाई ६–१, ४–६, ६–२ को सेटमा हराएकी थिइन्। उनले अब सेमिफाइनलका लागि जेलेना अस्टपेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। पहिलो पटक ग्रान्ड स्लामको क्वार्टरफाइनल स्थान बनाएकी १९ वर्षीया अस्टपेन्काले सामान्था स्टोसुरलाई २–६,६–२, ६–४ को सेटमा हराएकी हुन्। सामान्था २०१० को उपविजेता हुन्।

दोस्रो वरीयताकी क्यारोलिन प्लिसकोभाले जर्मनीकी क्यारिन विटहोफ्टलाई ७–५, ६–१ को सोझो सेटमा हराउँदै चौथो चरणमा स्थान बनाएकी छिन्। पाँचौं वरीयताकी एलिना स्भिटोलिनाले पोल्यान्डकी मग्डा लिनेट्टेलाई ६–४, ७–५ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएकी छिन्।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App