१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘रोपाइँ गर्नु कि भोट हाल्नु ?’

नमुना मतपत्रमा भोट हाल्ने अभ्यास गर्दै खोटेहाङ गाउँपालिकाका किसान । तस्बिर सौजन्य : रोशन पौडेलको फेसबुक

खोटाङ – स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान संग्राम राईलाई चित्त बुझेको छैन । ‘मुठी खाएर मुरी उब्जाउने समय’ मा निर्वाचन मिति तोकिँदा खेतीपातीका काम गर्ने धेरै किसान भोट हाल्न नभ्याउने राईको गुनासो छ । ‘असार १४ मा तोकिएको निर्वाचनले किसानलाई असर गर्छ । त्यस बेला सबै किसान धान रोप्न व्यस्त हुन्छन्,’ डाँडाखर्क कृषि बहुउद्देश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक रहेका राईले भने, ‘धेरैजसो त काम छाडेर भए पनि भोट हाल्न जालान् तर सबै जान्छन् भन्न सकिन्न।’ 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा जिस्ट कृषि फर्म सञ्चालन गरिरहेका किसान फौदसिंह कार्की हरेक वर्षको मध्यअसारमा रोपाइँमा व्यस्त हुन्छन् । अर्मपर्ममा रोपाइँ गर्ने समयमा निर्वाचन मिति तोकिँदा मतदानमा सोचेअनुसार किसानको सहभागिता नरहने कार्की बताउँछन् । ‘त्यो किसानको अन्न उत्पादनमा लाग्ने समय हो,’ कार्कीले भने, ‘अन्य समयमा किसानको जति सहभागीता हुन्थ्यो, त्यो समयमा नहुन सक्छ ।’ यसअघि प्रयोग गरिएका मताधिकारबाट किसानको जनजीवनमा कुनै परिवर्तन आउन नसकेका कारण पनि किसानले मतलाई भन्दा खेतलाई प्राथमिकता दिने उनको भनाइ छ । 

खोटाङको १५ हजार २०२ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । सरकारले समय र मौसमलाई ख्याल नगरी दोस्रो चरणको मिति तोक्दा अधिकांश किसान सन्तुष्ट छैनन् । किसान प्रायः असारभरि रोपाइँमा व्यस्त हुन्छन् । मताधिकार प्रयोग गर्न जाँदा खेतीपातीमा असर पुग्छ । खेतीपाती नछाड्दा २० वर्षपछि आएको आफ्नो मताधिकारको अवसर गुम्छ । एउटै कुलो वा नहरबाट पालोमा रोपाइँ गर्ने किसान यसबाट सबैभन्दा बढी प्रभावित हुन्छन् । निर्वाचनका दिन पानीको पालो परेका किसानको पालो छुटे पुनः पानीको पालो पाउन सात दिन कुर्नुपर्ने हुन्छ । कतिपय खेतमा आकाशे पानीमा रोपाइँ गर्नुपर्ने बाध्यता पनि उत्तिकै छ । अन्न उत्पादनको महŒवपूर्ण समयमा निर्वाचन मिति तोकिएपछि मतदानका लागि समय मिलाउन समस्या परिरहेको किसानको गुनासो छ । जेठ ३१ गते हुने निर्वाचनलाई असार ९ गते गर्ने भनेको केही दिनमै फेरि सारिएकामा पनि किसानमा असन्तुष्टि छ । असार १४ गते तोकिएको निर्वाचनले खोटाङका कछाड र बेसी क्षेत्रका किसान बढी मारमा पर्ने शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्य राईले बताए । असार लेकाली क्षेत्रमा फलफूल र वनजन्य बोटबिरुवा रोप्ने मौसम हो । ‘असार किसानका लागि महत्वपूर्ण समय हो, कछाड र बेसी क्षेत्रका किसान रोपाइँमा व्यस्त हुन्छन्,’ राईले भने, ‘लेकाली क्षेत्रमा फलपूmल र वनजन्य बोटबिरुवा रोप्ने किसानका लागि पनि यो निर्वाचन मिति उपयुक्त समय होइन ।’ 

लामो समयसम्म निर्वाचन नहुँदा निम्तिएको बेतिथि र विसंगतिबाट मुक्ति मिल्ने आसमा कतिपय किसान भने काम माया मारेरै भए पनि भोट हाल्न जाने तयारीमा छन् । तर सबै किसानले समान तरिकाले निर्वाचनलाई महत्त्व दिएका छैनन् । त्यही भएर आफ्नो नगरपालिका र गाउँपालिका बनाउनका लागि वर्षांैपछि आएको अवसरलाई पहिलो प्राथमिकतामा राखेर सदुपयोग गर्नुपर्ने शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक राईले बताए । ग्रामीण क्षेत्रका अधिकांश परिवार कृषिमै निर्भर रहेका कारण मध्यअसारमा हुने निर्वाचनले उम्मेदवार र कार्यकर्तासमेत प्रभावित छन् । सबै खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियानमा समेत असर पुग्ने दलका नेताकार्यकर्ता बताउँछन् । 

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App