१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मित्रवत् चुनावी अभियान

खोटाङ – दिनेश राई र गणेश राई खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्षका उम्मेदवार हुन् । असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि दिनेशले एमालेबाट र गणेशले माओवादी केन्द्रबाट टिकट पाएका छन् । चुनावी घरदैलोका क्रममा शुक्रबार बुइपाको कट्टीबाट फर्कंदै गरेका दिनेश र कट्टीतर्फ जाँदै गरेका गणेशको टोलीको भेट कट्टीडाँडामा भयो । एउटै पदका लागि मरिमेटेर लडिरहेका दिनेश र गणेशले भेटमा एकआपसमा शुभकामना आदानप्रदान गरे । मोबाइलमा एक÷दुई स्न्याप सामूहिक तस्बिर खिचाए र छुटे । 

‘आपसी द्वन्द्वले हारजित हुने होइन, जनताको मन जितेर हारजित हुने हो,’ दिलचक्रले भने, ‘त्यही भएर आपसमा बर्जित गर्नुपर्ने र एकले अर्कालाई निषेध गर्न आवश्यक छैन । मिलेर चुनावमा जाने हो ।’

भोट माग्नका लागि मतदाताको घरदैलो चहार्ने क्रममा बेलाबेलामा दुवै उम्मेदवारको जम्काभेट हुन्छ । भेटेका बेला एकले अर्कालाई अग्रिम बधाई दिन्छन् र आआफ्नो बाटो लाग्छन् उनीहरू । ‘हामीले सौहाद्र्रपूर्ण रूपमा चुनाव लड्ने हो, मनमुटाव गरेर होइन,’ दिनेशले भने, ‘हात र जित जनताको हातको कुरा हो ।’ 

रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका महन्त राई, एमालेका दिलचक्र राई र माओवादी केन्द्रका हरि चौंलागाईंले वडाध्यक्षको टिकट पाएका छन् । उनीहरु  दिनरात र भोकतिर्खा नभनी घरदैलोमा अभियानमा छन् । मतदातालाई रिझाउन घर–घर चहार्ने क्रममा दिलचक्र, महन्त, हरिलगायतका वडाध्यक्षका उम्मेदवारको पनि भेटघाट भइरहन्छ । तर विपक्षी भए पनि उनीहरूको चुनावी गतिविधि मित्रवत् देखिन्छ । अहिलेसम्म उनीहरूले आफूबीचको सामीप्य कायम राख्न सकेका छन् । राजनीतिक आवरणमा उनीहरूबीच द्वन्द्व सिर्जना भएको छैन । ‘आपसी द्वन्द्वले हारजित हुने होइन, जनताको मन जितेर हारजित हुने हो,’ दिलचक्रले भने, ‘त्यही भएर आपसमा बर्जित गर्नुपर्ने र एकले अर्कालाई निषेध गर्न आवश्यक छैन । मिलेर चुनावमा जाने हो ।’ 

निर्वाचनका बेला विपक्षी उम्मेदवार र विपक्षी पार्टीको कुरा काट्ने र आक्षेप लगाउने प्रवृत्ति ज्यादा हुन्छ । कतिपय नेतामै पनि आफ्नो अजेन्डाका विषय जनतामाझ बताउनु भन्दा विपक्षीको सत्तोसराप गर्ने बानी हटेको छैन । विपक्षीको अनावश्यक विरोध मात्र गर्ने प्रचलनले कतिपय अवस्थामा दलका कार्यकर्ताबीच भेटेकै ठाउँमा झपड हुने गरेका उदाहरण धेरै छन् । तर स्थानीय तहको निर्वाचनको मुखमा जिल्लाका केही उम्मेदवारले देखाएको सामीप्यले कार्यकर्तामा मात्र होइन मतदातामा समेत सकारात्मक सन्देश गएको छ । आपसमा विरोध गरेर होइन, आफ्नो अजेन्डामा जनतालाई ‘कन्भिन्स’ गरेर जनमत सिर्जना गर्नुपर्ने धारणा विकास हुँदै गएको पाइएको छ । जितका लागि सबै उम्मेदवार भएभरका ताकत लगाएर चुनावमा होमिए पनि वडामा सबै दलका उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धा देखिन्छ । ‘अहिलेसम्म प्रतिपक्षी पार्टीका नेता तथा कार्यकर्तासँग नराम्रो भएको छैन, सौहाद्र्रपूर्ण तरिकाले निर्वाचनमा लागेका छौं,’ कांग्रेस उम्मेदवार महन्तले भने, ‘जनताले जसलाई भोट दिन्छन्, उसले जित्छ । त्यही भएर हामीबीचमा मनमुटाव छैन । भेटघाट हुँदा मित्रवत् छलफल हुन्छ ।’ 

फरक दलमा आबद्ध भए पनि एउटै नगरपालिका, एउटै गाउँपालिका र एउटै वडामा बस्ने नेताकार्यकर्ताले निर्वाचनपछि आपसमा सहकार्य गर्नैपर्ने भएकाले पनि विवाद गर्नु बुद्धिमता नहुने स्थानीय बुद्धिजीवी बताउँछन् । जिल्लामा चुनाव प्रचारका क्रममा दलबीचमा द्वन्द्व नदेखिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । 
 

प्रकाशित: २१ जेष्ठ २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App