१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शौचालयलाई भोटको एजेन्डा बनाउँदै मतदाता

रौतहट- पूर्वाधार र विकल्पविना नै विभिन्न गाउँलाई खुला दिशामुक्त घोषणा गरेपछि रौतहटका विभिन्न गाउँका मतदाताले शौचालयलाई नै भोटको एजेन्डा बनाएका छन्। एनजिओहरुसित मिलेर गाउँलाई खुला दिशामुक्त घोषणा गरिएको र सर्वसाधारण गरिबले दुःख पाउन थालेपछि निमुखाहरुले चुनावको एजेन्डा यसैलाई बनाउन थालेका छन्।

सदरमुकाम गौर ४ महादेवटिका किशोरी यादवले गाउँमा धेरै गरिबको घरमा शौचालयको निर्माण हुन नसकी खुला दिशामुक्त घोषणा गर्ने तयारीमा रहेको समयमा घरबाहिर दिशा बस्न गएकालाई प्रहरीले दुःख दिन थालेको बताएका छन्। शौचालय बनाउन सक्ने हैसियत नभएको घरपरिवारतिर खुला दिशामुक्त गर्ने निकायले कुनै ध्यान नदिएको र गरिबहरुले उपयोग गर्ने गरी सार्वजनिक शौचालय निर्माण नगरी खुला दिशामुक्त गाउँ घोषणा गर्ने तयारी गर्दा गरिबहरुलाई मर्का परेको स्थानीयको गुनासो छ।

गौर ११ ढाँगर टोलका स्थानीयबासी शौचालयको अभावमा घरबाहिर दिशा गर्न बाध्य छन्। गाउँलाई खुला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेको भए पनि ढाँगर टोलका गरिबहरुलाई निकै चिन्ता लागेको छ। बिहान र बेलुका प्रहरी आएर सडक किनार, खेत तथा बालीमा दिशा गर्न जानेहरुलाई कहिलेकाँही समात्ने गरेको छ। घरबाहिर दिशा गर्न जानेलाई प्रहरीले समात्न थालेपछि दिउँसो दिशा लागेपछि च्यापेर बस्नुबाहेक कुनै विकल्प नभएको स्थानीय निसान्त सिंह बताउँछन्।

विभिन्न राजनीतिक दल तथा एनजिओका कर्मचारीले खुला दिशामुक्त गाउँको कुरा गर्ने तर सहयोग नगर्ने बरु पुलिस पठाएर तर्साउने गरेको आरोप स्थानीयबासीको रहेको छ। शौचालय बनाउन सहयोग नगर्ने तर पुलिस पठाउने दलहरुलाई चुनावमा नसघाउने ठाडै बताउने गरेका छन्। स्थानीय निसान्त सिंहले शौचालयको विषयमा सकारात्मक र नकारात्मक दुवै किसिमले ढाँगरहरुले एजेन्डा बनाएका  छन्। गरिबहरुको घरमा शौचालय नबनेसम्म खुला दिशामुक्त गर्न नहुने र शौचालय नबनाइ पुलिसलाई गाउँमा पठाउने उम्मेदवारलाई भोट नदिने रकटु ढाँगरले बताए।

चुनावमा भोट माग्न आउनेलाई शौचालय बनाइदिन ठाडै भन्ने गरेको स्थानीय रन्जित ढाँगरको भनाइ छ। शौचालय बनाइदिन आश्वासन दिनेलाई भोट दिने ढाँगरको भनाइ छ।

आफू चुनाव प्रचारको क्रममा विभिन्न गाउँ टोलमा जाँदा स्थानीय गरिबहरुले शौचालयको मुद्दा उठाउने गरेको नेकपा एमालेका तर्फबाट गौर नगरपालिकाका मेयरका उम्मेदवार शम्भु साहले बताए। बिना तयारी खुला दिशामुक्त गर्ने र खुला दिशामुक्तको तयारी गर्ने प्रवृत्तिले नगरपालिकाका गरिबहरु अत्यन्त दुखी भएको साह बताउँछन्। चुनावको एजेन्डा नै गरिबहरुले शौचालयलाई बनाइरहेको साह बताउँछन्।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका प्रमुख अनिल केसरीले जिल्लाका ३३ वटा गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषण भइसकेको बताए । नगरपालिकाको चारवटा वडा दिशामुक्त गर्न तयारीमा रहेपनि खेत र चौरमा पहिलेको तुलनामा शौच गर्ने अहिले घटेको बताए।

प्रकाशित: २० जेष्ठ २०७४ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App