१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जिदान र इतिहासबीच पूर्व क्लब

लन्डन- कार्डिफको मिलेनियम रंगशालामा शनिबार च्याम्पियन्स लिग फाइनलमा स्टार खेलाडीहरुको भिडन्त हुँदा रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान एउटा अनुपम कीर्तिमानको नजिक हुनेछन्। तर फुटबल इतिहासमा नयाँ अध्याय लेख्ने जिदानको सम्भावनामा कोही बाधक बने त्यो उनकै पुरानो क्लब युभेन्ट्स हुनेछ।

शनिबारको प्रतिस्पर्धामा पुरानो क्लब युभेन्ट्सलाई पराजित गरे फ्रान्सका पूर्व प्लेमेकर जिदान मुख्य प्रशिक्षक भएको १७ महिनामै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बन्नेछन्। १९९२ मा च्याम्पियन्स लिगको नाममा प्रतियोगिता हुन थालेपछि युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म कुनै पनि टोलीले लगातार दुई वर्ष जित्न सकेका छैनन्।

रियाल नवौं, दशौं र ११औं पटक युरोपियन च्याम्पियन बन्दा जिदान त्यसको हिस्सा थिए। नवौं पटक च्याम्पियन्स लिग जित्दा उनी टोलीका मुख्य खेलाडी थिए भने १०औं पटक च्याम्पियन बन्दा उनी सहायक प्रशिक्षक थिए। गतवर्ष मुख्य प्रशिक्षकका रुपमा उनैको नेतृत्व हुँदा रियालले ११औं पटक च्याम्पियन्स लिग जितेको थियो। त्यसैले यसपाली उनलाई १२औं पटक उपाधि जिताउने दबाब पनि चर्को छ।

'मैले युभेन्ट्सबाट पाँच वर्ष खेलेँ, युभेन्ट्ससँग मेरा धेरै मिठा स्मरणहरु छन्। त्यसैले यो फाइनल विशेष हुनेछ,' जिदानले भने, 'हामी लामो समयपछि लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने उपलब्धीको नजिक छौं। तर अहिलेसम्म हामीले केही पनि जितिसकेका छैनौं। अझै थप एक खेलमा सफल नतिजा हाम्रो आवस्यकता हो।'

२०१४ र २०१६ को फाइनलमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई निराश पारेको रियाल चार वर्षमा तेस्रो उपाधि पछ्याइरहेको छ। ४४ वर्षे जिदानको नेतृत्वमा रियाल घरेलु स्पेनिस ला लिगामा पाँच वर्षको उपाधि खडेरी तोड्दै च्याम्पियन बनिसकेको छ। यससँगै क्लब विश्वकप र युरोपियन सुपर कप जिदान नेतृत्वमा रियालले हासिल गरेका थप सफलता हुन्।

क्रिस्टियानो रोनाल्डोसामु च्याम्पियन्स लिग जिते बालन डी'अर पाँचौं पटक हात पार्दै बार्सिलोनाका लियोनेल मेसीसँग बराबरी गर्ने मौका छ। मेसीले अहिलेसम्म पाँच पटक बालन डी'अर जितेका छन् भने रोनाल्डो चार पटक विश्वको उत्कृष्ट खेलाडी चुनिएका छन्। यससँगै कार्डिफमा हुने फाइनल रियालका वेल्स अन्तर्राष्ट्रिय खेलाडी गारेथ बेलका लागि पनि विशेष हुन सक्छ। तथापि पिडुलाको चोटका कारण बेलले गृहनगरमा हुने फाइनल बेन्चबाट सुरु गर्ने सम्भावना छ। 

जिदान, रोनाल्डो र बेलले सुखद नतिजा अपेक्षा गरिरहँदा युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोन पनि जितको आशामा हुनेछन्। २००३ र २०१५ को फाइनलमा पराजित भएका २००६ को विश्वकप विजेता ३९ वर्षे गोलकिपर यसपाली जित्नेमा बढि आशावादी छन्। 'पछिल्लो केही वर्षयता रियालले राम्रो फुटबल खेलिरहेको छ। तर हामी पनि उच्च फर्ममा छौं,' बुफोनले भने, 'हामीले खेलमा केन्द्रित हुनु जरुरी छ। हामी फाइनल जित्न सक्षम छौं।'

प्रकाशित: २० जेष्ठ २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App