१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले उपत्यकामा सुरु गर्‍यो फोरजी सेवा

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सञ्चालनमा ल्याएको छ। एनसेलले बिहीबारदेखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ।

एनसेलले काठमाडौं उपत्यका सहित नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरेको जनाएको छ। फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल भएका सबै एनसेलका ग्राहकले उक्त सेवा लिन सक्नेछन्। एक्जियटा कम्पनी आउनुभन्दा पहिलाको सिमलाई यु–सिम बनाएपछि फोरजी सेवा चल्ने एनसेलले जनाएको छ। प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको जनाएको छ। फोरजीबाट उच्चस्तरको डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने जनाएको छ। 

'हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं।  यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ। हामीलाई विश्वास गर्ने सबैप्रति हामी आभारी छौं। प्रविधि तटस्थताको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउन हामी कटिबद्ध छांै,' एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्लाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।

एनसेलले आगामी सात महिनाभित्रमा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले देशका विभिन्न ४० सहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ।

फोरजी/एलटिई प्रविधिअर्न्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महŒवपूर्ण ठूला फाइल आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न मल्निे लगायत कामहरु गर्न सक्नेछन्। फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सकिने कम्पनीले जनाएको छ। नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन्।

नयाँ प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याएको अवसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई तीन दिन समयावधि रहेको एक जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ। साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योन्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन्। यसबाहेक कम्पनीले चाँडै डिभाइस सर्भिस बन्डलिङमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजना ल्याउने जनाएको छ।

फोरजी प्रविधिले ग्राहकलाई अझ उच्च गतिको मोबाइल डेटा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यावसायिक अवसर सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई पनि बढाउनेछ।

जुन मर्म र उद्देश्यका साथ प्रविधि तटस्थता प्रदान गरिएको छ त्यसको उच्च सम्मान गर्दै कम्पनीले सन् २०१७ भित्र कुल जनसंख्याको १५ प्रतिशत नागरिकमा फोरजीको पहुँच सुनिश्चित गरी ग्राहकले त्यसको प्रत्यक्ष लाभ लिन सक्ने गरी तदारुकताका साथ एलटिई सेवा विस्तार गर्ने लक्ष्य लिएको एनसेलले जनाएको छ। 'देशका विभिन्न भागमा क्रमशः एलटिई उपलब्ध गराउदै राष्ट्रिय ब्रोडब्यान्ड नीतिले लिएका लक्ष्यहरु हासिल गर्नका लागि योगदान पुर्‍याउन हामी प्रतिबद्ध छौं,' पर्किन्स्ले भने।

ब्रोडब्यान्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिमा ब्रोडब्यान्ड सेवा पुर्‍याउने लक्ष्य लिएको छ। हाल एनसेलले एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ। एनसेलले सन् २०१० देखि नै फोरजी/एलटिई सञ्चालनका लागि फ्रिक्वेन्सी प्रदान गर्न अनुरोध गर्दै आएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७४ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App