१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बोइङ जहाज बेच्न फेरि ग्लोबल टेन्डर आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न पुनः 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमको 'बि७५७–२००' सिरिजको एकथान जहाज एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। '९एन–एसिए' कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो। यसको नाम 'कर्णाली' हो।

'बोइङ एसिए जहाज बिक्री गर्न दोस्रो पटक ग्लोबल टेन्डर आह्वान गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, 'यो जहाजको न्यूनतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर (१७ करोड १० लाख रुपैयाँ) तोकेका छौं।'

उनका अनुसार कुनै पनि व्यक्ति, फर्म, संघसंस्था वा कम्पनी ग्लोबल टेन्डरमा सहभागी हुन पाउँछन्। पहिलो पटक सार्वजनिक गरिएको टेन्डर भर्ने अन्तिम म्याद जेठ १० सम्म थियो भने अहिलेका लागि जेठ २९ सम्म म्याद दिइएको छ। जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिने छ। 'यसअघि एउटा पनि आवेदन नपरेपछि फेरि टेन्डर मागेका हौं,' उनले भने, 'जसले सबैभन्दा बढी रकम कबोल गर्छ, उसैले जहाज पाउने छ।'

निगमका अनुसार यो जहाजमा 'आरबी२११–५३५इ४' मोडेलका दुईथान इन्जिन छन्। टेन्डरमा सहभागी हुन चाहनेले त्रिभुवन विमानस्थलस्थित निगमको ह्यांगरमा गएर जहाज निरिक्षण गर्न सक्नेछन्। सहभागी हुने व्यक्ति वा कम्पनी आफूले जति मूल्यमा जहाज खरिद गर्न चाहेको हो, त्यसको ५ प्रतिशत हिमालयन बैंकस्थित निगमको अमेरिकी डलर खातामा जम्मा गर्नुपर्ने छ। 'पहिलो पटक टेन्डर आह्वान गर्दा आवेदनै नपरे पनि केही विदेशी कम्पनीले इमेल र टेलिफोनबाट अनौपचारिक छलफल भने गरेका थिए,' श्रेष्ठले भने।

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो पहिलो पटक भने होइन। यसअघि साढे दुई दशकअघि उसले १ सय २३ सिट क्षमतायुक्त दुईथान 'बि७२७' सिरिजका जहाज बेचेको थियो। ती जहाज पनि बोइङमै उत्पादन भएका थिए।

निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो। यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि 'बनाउनभन्दा बेच्न फाइदा' भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो।

त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो। फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो। त्यही प्रतिवेदन निगम सञ्चालक समितिमा पेस गरिएको थियो। समितिले तीन महिनाअघि प्रतिवेदन अध्ययन गरी जहाज बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो।

निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ। निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे। तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो।

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो। अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन्। पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन। 

निगमले तीन दशकअघि बि७५७ सिरिजका दुईथान जहाज खरिद गर्दा खाडी मुलुकका कुनै पनि वायुसेवा कम्पनीसँग यसखालका आधुनिक जहाज थिएनन्। निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान सुरु गर्दा बि७५७ जहाज लिएर गएको र नयाँ जहाज हेर्न त्यहाँका सरकारी उच्च अधिकारीको विमानस्थलमा बाक्लो उपस्थिति रहेको निगमका पुराना कर्मचारीसँग अनुभव छ।

यी जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो। सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए।

बोइङले सन् १९८१ बाट बि७५७ सिरिजको जहाज उत्पादन सुरु गरेको थियो। त्यसको ६ वर्षपछि निगमले पहिलो र आठ वर्षपछि १९८९ मा दोस्रो जहाज खरिद गरेको थियो। यस्ता जहाज बोइङले २००४ बाट उत्पादन गर्न बन्द गरेको थियो।

प्रकाशित: १८ जेष्ठ २०७४ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App