१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको विकल्प निर्वाचन: प्रधानमन्त्री

काठमाडौँ- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ।

मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् ।

मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “सरकार तपाइँहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय गर्छौ।”

प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सम्पन्न बनाउन आम नेपालीको साथ र सहयोगको अपेक्षा गरेको समेत सो अवसरमा जानकारी दिए। प्रधानमन्त्रीले भने, “असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ। हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक सङ्क्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजाने छ ।”

प्रधानमन्त्रीले निर्वाचन गर्नैपर्ने बाध्यताका बीचबाट रमजान पर्व प्रभावित नहुने गरी व्यवस्था गर्न सरकारले आवश्यक निर्णय गर्ने र सबैलाई सहभागी गराउने उल्लेख गरे।

प्रधानमन्त्री दाहालले भने, “निर्वाचन नभए सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता उपलब्धिलाई संस्थागत गर्न कठिन हुन्छ । निर्वाचनको विकल्प निर्वाचन मात्रै हो, अरु हुनै सक्दैन।”

सो अवसरमा मुस्लिम समुदायका प्रतिनिधिले असार ९ गते रमजान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाइ हुने बताउँदै सो दिनका लागि तोकिएको मिति तल माथि गर्न माग गरेका थिए ।

यस्तै प्रतिनिधिमण्डलले सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए । रासस

 

प्रकाशित: १६ जेष्ठ २०७४ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App