१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

मड्रिड- स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

३०औं मिनेटमा मेसीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। उनले नेइमारको पासलाई पोस्टको दिशा दिएका थिए। तर त्यसको तीन मिनेटपछि नै आल्भेस खेलका फर्किएको थियो। एट्लेटिको मड्रिडबाट लोनमा आएका थियो हर्नान्डेजको उत्कृष्ट फ्रि–किक गोलमा आल्भेस खेलमा फर्किएको थियो।

४५औं मिनेटमा नेइमारले अन्द्रे गोमेजको पासमा गरेको गोलमा बार्सिलोनाले खेलमा पुनः अग्रता लिएको थियो। त्यस्तै पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा मेसीको पासमा फ्रान्सिस्को अल्कासरले गोल गर्दै बार्सिलोनालाई कीर्तिमानी २९औं उपाधि दिलाएका थिए।

इनरिकेको प्रशिक्षणमा बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको यो लगातार तेस्रो पटक हो। तीन सिजन क्लबमा रहँदा समग्रमा उनले जितेको यो नवौं उपाधि हो।

यद्यपि गत साता रियाल मड्रिडभन्दा तीन अंकले पछि रहँदै स्पेनिस ला लिगाको उपाधि जित्न नसकेकोमा निराश बनेको बार्सिलोना फेरि एक पटक मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि जितका साथ सिजनको अन्त्य गर्न सफल भयो।

‘उनी असाधारण छन्, साँच्चै असाधारण,’ मेसीको प्रशंसा गर्दै इनरिकेले भने, ‘मेसी करियरकै उत्कष्ट प्रदर्शनको उचाइमा पुग्दा मैले त्यसमा रमाउने अवसर पाएँ। उनी विश्वका नम्बर एक खेलाडी हुन्, जुन उनको प्रदर्शनले झल्काउँछ र यसले धेरै आनन्द दिन्छ।’

आल्भेसका प्रशिक्षक म्यानुयल पेलेग्रिनीले पनि पाँच पटक विश्व वर्ष खेलाडी रहिसकेका मेसीको प्रशंसा गरे।

‘उनी अन्य खेलाडीभन्दा फरक छन्,’ पेलेग्रिनीले भने, ‘उनीसँग गोलको अवसर सिर्जना गर्नुका साथै त्यसलाई गोलमा परिणत गर्ने क्षमता पनि छ  ।’

बार्सिलोना निलम्बनमा परेका लुइस स्वारेज र सर्जी रोबेर्टोबिना मैदान उत्रिएका थियो। ११औं मिनेटमा टाउकोमा चोट लागेपछि हाभियर मास्चेरानोले मैदान छोड्दा इनरिके पहिलो हाफमै वैकल्पिक खेलाडी प्रयोग गर्न बाध्य भएका थिए।

बार्सिलोनाले सात वर्षमा कोपा डेल रेको फाइनलमा छैटौं पटक सहभागिता जनाउँदा आल्भेस भने पहिलो पटक प्रतियोगिताको फाइनलमा सहभागी भएको थियो।

यसअघि २७औं मिनेटमा इबाई गोमेजको प्रहार पोस्टमा लागेर फर्केपछि आल्भेसले खेलमा अग्रता लिने मौका खेर फालेको थियो।

 ‘मेसीअन्य खेलाडीभन्दा फरक छन्। उनीसँग गोलको अवसर सिर्जना गर्नुका साथै त्यसलाई गोलमा परिणत गर्ने क्षमता पनि छ।’

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App