१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

चितवन- अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे। एमालेका उम्मेद्वार तथा प्रतिनिधिहरुले मतगणना स्थलमा रहेका माओवादी केन्द्रका प्रतिनिधिहरुले मत पत्र च्यातेको आरोप लगाएका छन्।

निर्वाचनमा हार्ने अवस्था आएपछि माओवादीले योजनावद्ध रुपमा मतपत्र च्यात्याे : देवी ज्ञवाली, एमाले उम्मेदवार

‘मतगणना स्थलमा मतपत्रहरु च्यातिन थालेपछि मैले हालका लागि मत गणना कार्य स्थगित गरेको छु’ भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानलेले मध्यरातमा पत्रकारहरुसँग कुरा गर्दै भने। उनले यस्तो घटना अचानक भएको बताए। ‘म मतगणना स्थल मै थिए र बाथरुम जान लागेको थिए । बाथरुम नपुग्दै हल्ला सुने, फर्कदा मतगाणन स्थल रणभुमिको जस्तो थियो । मतपत्र च्यातिएको थियो’ उनले भने । 

घटनाको विषयमा प्रतिवेदन बनाएर निर्वाचन आयोगमा पठाउने र त्यसपछि मात्रै कानुन अनुसार प्रकृया अगाडी बढ्ने मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए। कुल २९ वटा वडाहरु रहेको भरतपुरमा २७ वटा वडाहरुको मत गणना सकिएको थियो। आइतबार साँझबाट वडा नं. १९ को मत गणना पनि सुरु भएको थियो । त्यसपछि अन्तिम वडा २० नम्बरको मत गणना सुरु भएर आज सकिने अवस्था थियो।

१९ नम्बर वडाको मत गणना सुरु भएपछि माअाेवादीकी रेणु दाहालकाे मतान्तर निकै घट्न सक्ने अनुमान विपरित १८ सय मत गन्दा देवीले अग्रताबाट केबल ५१ मत मात्रै गुमाएकाे अवस्थामा घटना भएकाे हाे।

हार्ने भएपछि माअाेवादीले याेजनाबद्ध रूपमा मतपत्र च्यात्याे ः ज्ञवाली

वडा नं. १९ मा कुल दुई हजार ८६० मत खसेको थियो। जसमध्ये १८ सय मत गणना भएर २४ सय मतको परिणाम आउने अवस्था थियो । ‘छ ठाउँमा मत गणना हुँदै थियो। माओवादी केन्द्रका उम्मेद्वारका प्रतिनिधिहरुले एकाएक मतपत्र च्यात्न थालेपछि अवस्था तनाब पुर्ण भयो’ गणना स्थल भित्र रहेका एमालेका उम्मेद्वारका प्रतिनिधि रोहित सुवेदीले भने।

घटना लगत्तै गणना स्थलमै पत्रकारहरुसँग कुरा गर्दै एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले निर्वाचनमा हार्ने अवस्था आएपछि माओवादीले योजनावद्ध रुपमा मतपत्र च्यातेको प्रतिकृया दिए। मतपत्र च्यातिए पनि कस्ले च्यातेको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी नभएको बताए । ‘म बाथरुमबाट फर्कदा त्यहाँको अवस्था रणभुमिको रुपमा रहेकाले कस्ले च्यात्यो कति च्यातियो मैले भन्न सक्ने स्थीती छैन’ न्यौपानेले भने ।

भरतपुर महानगरपालिकाको मेयर पदमा निकै कडा प्रतिस्पर्धा देखिएकाे थियाे। मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१ हजार ६४१ मतसहित अगाडि थिए। माअाेवादीकी रेणुकाे ४० हजार ९०८ मत पुगेकाे थियाे।

आइतबार दिउँसोसम्म वडा नं. २१ को मतगणना सकिदा देवि ज्ञवाली र रेणु दाहालबीचको मतान्तर  ७८४ मा खुम्चिएको थियो। वडा नं. २१ को गणनासम्म तेज रफ्तारमा कम हुँदै गएको मतान्तर १९ नम्बर वडाको गणना सुरु भएपछि कम भएको थियो।

नेपाली काँग्रेसको गढ मानिने वडा नं. १९ को १८ सय मत गनेर सकिदा एमालेका उम्मेद्वार ज्ञवालीको ४१ हजार ६४१ मत आएको थियो । काँग्रेसको समेत समर्थन रहेकी रेणु दाहालको ४० हजार ९०८ मत ल्याएकी थिइन्। काँग्रेस बहुल क्षेत्रमा रेणुलाई अपेक्षा गरेभन्दा कम मत आइरहेको थियो।

तीन जना पक्राउ

मध्यरातको घटनापछि प्रहरीले तीनजनालई पक्राउ गरेको छ। पक्राउ पर्नेका बारेमा प्रहरीले पनि विस्तृत विवरण दिएको छैन। गणना स्थलमा रहेका प्रतक्ष्यदर्शीका अनुसार पक्राउ परेका मध्ये दुईजना माओवादी समर्थक र एकजना एमाले समर्थक हुन्। 

भरतपुरको कभर्ड हलमा मत गणना भइरहेको छ। माओवादी समर्थक दुईजनालाई प्रहरीले कभर्ड हलभित्रैबाट र एमाले समर्थक एकजना कभर्डहल बाहिरबाट समातिएको प्रतक्ष्यदर्शीले बताए। अहिले मतगणना स्थलमा प्रहरी तैनाथ छ । दलका प्रतिनिधिहरु पनि मत गणना स्थलभित्रै छन्। बेला बेलामा चर्को स्वरमा नारा बाजी भएको पनि सुनिन्छ ।

भरतपुरमा एक लाख ५२ हजार मतदाता रहेकोमा एक लाख १२ हजारले मत दान गरेका थिए । वडा नं. १९ को दुई हजार ८६० मत र वडा नं. २० को तीन् हजार ३०२ मत बाहेक अरु एक लाख छ हजार ५७९ मत गनेर सकिएको छ । माओवादीबाट मेयर पदमा उम्मेद्वार रहेकी रेणु दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी हुन् । 

मेयरमा दाहाललाई समर्थन गर्दै नेपाली काँग्रेसले अन्तिम अवस्थामा आफ्ना उम्मेद्वार दिनेश कोइरलाको उम्मेद्वारी फिर्ता लिएको थियो । जसको विरोधमा सुरुमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रदर्शनसमेत गरेका थिए । तर जिल्लामा दुवै पार्टीले संयुक्त कार्यक्रम गर्नुका साथै अन्तिम चुनावी सभालाई प्रधानमन्त्री प्रचण्डसहित काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा सम्बोधन गरेर विरोधलाई साम्य पार्ने कोशिस गरेका थिए । 

भिडियाे

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App