१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समिति

काठमाडौं- नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीति र पार्टीको आन्तरिक संगठनका विषयमा छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रसँग सत्तासाझेदारी गर्ने दुई दलीय सहमति मजबुत बनाउँदै नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा राय लिन कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। माओवादी नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिपछि उत्पन्न परिस्थिति, सरकारमा पार्टी सहभागितासहितको विषयमा बैठकमा छलफल हुनेछ। केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेका लागि कांग्रेसले बैठक राखेको छ।

'संसदमा पेस भएको अविश्वास प्रस्ताव पारित गर्दै नयाँ सरकार गठनलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुन्छ,' नेता विमलेन्द्र निधिले भने, 'विकसित राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिलाई जानकारी गराउनुका साथै सबैको राय लिएर अघि बढ्न बैठक बोलाइएको हो।' महाधिवेशन भएको चार महिना बित्दासमेत विधानअनुसार पार्टी चल्न नसकेको भन्दै आलोचना भइरहेका बेला देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

त्यसअघि आइतबार नेता रामचन्द्र पौडेलसहितका नेताले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पक्षलाई सहभागी नगराएको र विधानअनुसार पार्टी नचलेको जनाउँदै सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए। सभापति देउवाले पार्टीभित्र छलफल गर्न केन्द्रीय समिति बैठक तत्काल बोलाउने जवाफ दिएका थिए। माओवादीसँगको गठबन्धनसहितका विषयले पार्टी पदाधिकारी र विभाग गठनमा ढिलाइ भएको जनाउँदै देउवाले त्यसलाई पनि छिट्टै अघि बढाउने पौडेल पक्षलाई बताएका छन्।

पौडेलले पार्टीका सबै निकाय र सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिइरहेका छन्। सभापति देउवा भने तत्काल पार्टी पदाधिकारी मनोनयनको पक्षमा नरहेको स्रोतको दाबी छ। विभाग गठनको गृहकार्य सुरु गरेका देउवाले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै त्यसलाई कार्यान्वयन तहमा ल्याउने तयारीमा रहेको स्रोतको दाबी। महामन्त्री आकांक्षी प्रकाशशरण महतलाई विदेश, बालकृष्ण खाँणलाई संगठन विभाग, सुरेन्द्र पाण्डेलाई जनसम्पर्क विभाग प्रमुख दिने तयारी गरेको निकट स्रोतको दाबी छ भने पौडेलपक्षलाई एक दर्जनभन्दा बढी विभागीय प्रमुख दिने देउवाको तयारी छ। तर, निकट नेताहरू नै पदाधिकारी आकांक्षी भएपछि सभापति देउवा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन सरकार गठन र भ्रातृ संगठन महाधिवेशनपछि मात्र गर्ने तयारी रहेको निकट स्रोतको दाबी छ।

नेता विमलेन्द्र निधिलाई उपसभापति बनाउने देउवाको तयारी रहे पनि महाधिवेशन अघि नै आफूलाई उपसभापति बनाउने समझदारी भएको नेता खुमबहादुर खड्काले दाबी गर्दै आएका छन्। आफूलाई उपसभापति मनोनीत गर्न खड्काले देउवालाई दबाब दिँदै आएका छन्। एक महामन्त्री पदमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्ये एकलाई मनोनीत गर्ने देउवाको तयारी छ। पौडेलपक्षले सहमहामन्त्री पाए आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, दिलेन्द्रप्रसाद बडूसहितका नेताको नाम चर्चामा छ।

पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीसाथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ। फागुन २४ गते सभापति निर्वाचित देउवाले पदाधिकारीसाथै १० जना केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठन गर्न सकेका छैनन्। विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ४ श्रावण २०७३ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App