१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्दिरको जग्गा संरक्षण गर्नेलाई भोट

रौतहट- दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा स्थानीयले उम्मेदवारसमक्ष सामाजिक तथा सार्वजनिक सम्पत्ति रक्षाको माग उठाइरहेका छन्। रौतहटको ईशनाथ गाउँपालिकाका मतदाताले ऐतिहासिक तथा धार्मिक ईशनाथ महादेवको मन्दिरको जग्गा संरक्षण गर्नेलाई मत दिने बताएका छन्।

ईशनाथ गाउँपालिका वार्ड नम्बर २ का सुखारी मण्डलले ईशनाथ महादेव र आसपासमा रहेका करिब एक दर्जन विभिन्न देवदेवीको नाउँमा रहेको एक सय १२ बिघाभन्दा बढी जग्गाको संरक्षण गर्न सार्वजनिक प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्।

वि.सं. १११४ मा तत्कालीन डोय राज्यका राजा शिव सिंहका भाइ मान सिंहको दरबार रहेको विश्वास गरिएको ईशनाथ मन्दिरको प्रथम पूजारी मंसाराम गिरीले स्थापना गरेको ईशनाथ महादेवको नाउँमा रहेको जग्गाजमिन विभिन्न समयमा हडप्ने काम भएको मन्दिरका पूजारी भगवान राउतले बताए। राउतले मन्दिरको जग्गा धेरैले साजिशपूर्वक हडप्ने काम गरेपछि प्राचीन इतिहास बोकेको मन्दिर बिरानो बन्दै गएको बनाए।

प्राचीन गाउँ औरैयामा अवस्थित ईशनाथ महादेवको मन्दिरको जग्गा र मन्दिरको संरक्षणलाई स्थानीयले चुनावको अजेन्डा बनाएका छन्। साठी वर्षका स्थानीय विश्वनाथ साहले पनि पुर्खाको धरोहर ईशनाथ मन्दिरलाई संरक्षण गर्ने उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।

स्थानीय राकेश ठाकुरले पनि युवाको चाहना गाउँको पहिचान जोगाएर पर्यटकीय गाउँका रूपमा विकास गर्ने भएकाले मन्दिरको संरक्षण युवाको अजेन्डा भएको बताए।

सदरमुकाम गौरसँगै सिमाना जोडिएको भए पनि ईशनाथबारे कमैलाई मात्र जानकारी छ। महादेवको नाउँमा गाउँपालिकाको नाम जोडिएपछि स्थानीयले पनि ऐतिहासिक तथा पौराणिक सम्पदा संरक्षणमा जोड दिन थालेका छन्।

जिल्लाको पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना बोकेको ईशनाथ मन्दिर बिरानो बनिसकेकोमा चुनावी अजेन्डा बनेपछि मन्दिरको संरक्षण र ऐतिहासिकताको रक्षा हुने विश्वास स्थानीयको छ।

मन्दिरका नाउँमा अब करिब डेढ बिघा जमिनमात्र बाँकी रहेको र त्यसमा पनि अतिक्रमण बढेको स्थानीय बताउँछन्। मन्दिरको जग्गा हडप्नेको बिगबिगी भएपछि चुनावको अजेन्डा जग्गा संरक्षण बनेको हो।

 

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App