१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुर १८ मा कांग्रेस विजयी, रेणुले मतान्तर घटाइन्

चितवन- भरतपुर महानगरपालिकाको मत गणना अन्तम चरणमा पुगेको छ। कूल २९ वटा वडाहरु रहेको भरतपुरमा २६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लोपटक आइतबार बिहान सार्वजनिक भएको वडा नं. १८ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेद्वार दीपक लामा वडाध्यक्ष पदमा विजयी भएका छन्। कूल एक लाख १२ हजार ७ सय ४१ मत खसेको भरतपुरमा अब नौ हजार ७ सय ३० मत गन्न बाँकी छ।

तीनवटा वडाको मत परिणाम आउन बाँकी रहँदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी ज्ञवाली एक हजार १ सय ४५ मतले माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालभन्दा अगाडि छन्। ज्ञवालीको मत ३९ हजार ७ सय ५० पुगेको छ। नेपाली कांग्रेसको समेत समर्थनमा उम्मेद्वार रहेकी रेणु दाहाललाई ३८ हजार ६ सय ५ मत आएको छ।

गणना हुन बाँकी वडाहरुमा १९, २० र २१ नम्बर छन्। पालोअनुसार अब २१ नम्बर वडाको मत गणना सुरु भएको छ। सोमबारसम्म भरतपुरको मतगणना सकिने अवस्था छ। मेयरमा ज्ञवालीको सुरुदेखिकै अग्रता अहिलेसम्म कायम नै रहेपनि मत परिणामको बारेमा अनुमान लगाउन गाह्रो भएको छ। गणना हुन बाँकी रहेका तीनवटै वडाहरु नेपाली कांग्रेसका परम्परागत गढका रुपमा चिनिने ठाउँहरु हुन्।

भरतपुर महानगरको सदरमुकाम क्षेत्र र नारायणगढ बजार क्षेत्रमा रेणु दाहाललाई कांग्रेसका मतदाताबाट कम मत आए पनि अन्य क्षेत्रमा राम्रै अनुपातमा मत आइरहेका कारण मेयर जित्नेमा गठबन्धन पक्षधरहरु पनि आशावादी नै छन्। तर जसले जिते पनि मतअन्तर भने निकै कम हुने देखिएको छ। हिजोदेखि लगातार ओरालो लागेको मत अन्तर नरोकिएको र अब रोकिने सम्भावना पनि नरहेको कारण परिणाम अनुमानभन्दा बाहिर छ।

मेयरमा तिब्र प्रतिस्पर्धा देखिए पनि उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी कांग्रेसकी पार्वती शाहको जित लगभग पक्का जस्तो छ। शाहले हालसम्म ४२ हजार ५ सय ४६ मत ल्याएकी छन्। उनको निकटतम रहेकी एमालेकी उम्मेद्वार दिब्य शर्मा आचार्यको ३६ हजार ३८५ मत आएको छ। मेयरमा राप्रपाका उम्मेद्वार बद्री तिमिल्सिनाको छ हजार ३ सय ३६ मत आएको छ।

उपमेयरमा राप्रपाकी उम्मेद्वार रिना गुरुङको छ हजार ६ सय ७५ मत आएको छ।  भरतपुरमा २६ वटा वडाको मत गणना सकिदा एमाले १४, कांग्रेस नौ र माओवादी तीनवटा वडामा वडाध्यक्षमा विजयी भएका छन्। अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५, १७, १८ र २७ नम्बर गरेर कूल नौ वटा वडामा वडाध्यक्षमा विजयी भएका छन्। माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीनवटा वडामा वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App