१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भरतपुरमा कडा प्रतिस्पर्धा

चितवन- भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ। २९ वटामध्ये शनिबार अबेरसम्म २५ वटा वडाको मतगणना सकिएको छ। बाँकी वडाको मतगणना सोमबारसम्म सकिने अवस्था छ।

महानगरमा  खसेको एक लाख १२ हजार ७४१ मतमध्ये अब १३ हजार २९८ मत गन्न बाँकी छ। ९९ हजार ४४३ मत गन्दा एमालेले १४ वटा वडामा वडाध्यक्ष जितेको छ। मेयरमा सुरुदेखि नै एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। तर पनि मेयर कसले जित्ने हो मतगणनाको अन्तिम नतिजा कुर्नैपर्ने भएको छ।

पछिल्लो मतगणनाअनुसार मेयरमा ज्ञवालीले  ३८ हजार ५६७ मत पाएका छन्। उनी प्रतिस्पर्धी दाहालभन्दा एक हजार ४३० मतले अगाडि छन्। दाहाललाई २५ वटा वाडाको मतगणना सकिँदा कुल ३७ हजार १३७ मत आएको छ।

 अहिलेसम्मको तथ्यांकले मेयरमा एमाले जित उन्मुख छ। तर अब गन्न बाँकी वडाको नतिजा यस्तै खालको हुन्छ भन्ने छैन। किनकि मत आउने हिसाबले ती वडाहरू एमालेका लागि भन्दा गठबन्धनका लागि अनुकूल छन््। ती वडामा गठबन्धनका लागि राम्रो मत आउने अनुमान धेरैको छ।

मतगणना हुन बाँकी  १८, १९, २० र २१ वडा छन्। वडा २१ बाहेक अरू वडा चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। चार नम्बर क्षेत्रमा कांग्रेस बलियो मानिन्छ। १८, १९ र २० वडा तत्कालीन चित्रवन नगरपालिकाअन्तर्गत थिए। साबिकको चित्रवन नगरपालिकामा कांग्रेसको प्रभाव थियो।

भरतपुरको बजार क्षेत्रभन्दा बाहिर रेणुलाई कांग्रेस मतदाताको पनि राम्रै मत आइरहेको छ। त्यसैले एमालेको डर यिनै वडामा छ। मतगणनाका क्रममा मंगलबारसम्म ज्ञवाली  दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा थिए। माओवादी र कांग्रेसको प्रभाव रहेका पाँचवटा वडामा मतगणना सुरु भएपछि बिस्तारै मतान्तर घट्न थाल्यो।

 पाँचवटा वडामा २१ हजार ३५७ मत गनिसक्दा ज्ञवालीको अग्रताबाट दुई हजार ६०१ मत गुम्यो। त्यस्तै अहिले कायम एक हजार ४३० मतान्तरका साथ देवीले कांग्रेसका गढ मानिएका चारवटा वडा पार गर्नु छ। त्यसैले एमाले धुकचुक र गठबन्धन आशावादी देखिएको छ।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरे। अहिले सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद भएका मत गनेर सकिँदा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुने भएको छ।

 भरतपुर महानगरको मेयरका विषयमा अहिलेसम्म यसै भन्न मिल्ने अवस्था नरहे पनि उपमेयर लगभग निश्चितजस्तै भएको छ। उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी  कांग्रेसकी पार्वती शाह फराकिलो मतअन्तरले अगाडि छन्। उनको ४० हजार ३६८ मत मत आएको छ। एमालेकी दिव्य शर्मा आचार्यले ३४ हजार ६३९ मत ल्याएकी छन्। त्यसैले उपमेयरमा शाह लगभग पक्काजस्तै भएकी छन्।

 अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App